नेकपा माओवादी केन्द्र: राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशन किन बनाइयो?

राजधानी काठमाण्डूमा नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतवार सुरु भएको छ।

राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको माओवादी अन्तिम घडीमा सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेपछि विभिन्न टीकाटिप्पणी भएका छन्।

कतिपयले यो निर्णयलाई पार्टी नेतृत्वमा आफ्नो कार्यकाल सुनिश्चित गर्ने अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को दाउको रूपमा समेत अर्थ्याएका छन्।

राष्ट्रिय सम्मेलन सुरु हुनुअघि बसेको माओवादी केन्द्रीय समितिको बैठकले सम्मेलनको सट्टा महाधिवेशन गर्ने निर्णय गरेपछि तयार भइसकेका तुल र पर्चाहरू परिवर्तन गरिएका थिए।

कसरी निर्णय परिवर्तन भयो?

माओवादी नेता गिरिराजमणि पोखरेलका अनुसार शनिवार डाकिएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने प्रस्ताव ल्याए।

"अध्यक्ष र नारायणकाजी श्रेष्ठ सँगै एउटा कार्यक्रममा पुग्नुभएको रहेछ। त्यहीँ उहाँहरूबीच कसले कुरा ल्यायो, हामीले त यस्तो पो सोच्यौँ त भन्नुभयो," पोखरेलले भने।

उनका अनुसार अन्तिम समयमा सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण नै गर्नुको अर्को कारण सम्मेलनका लागि गरिएको तयारीबाटै महाधिवेशन सम्पन्न हुने अवस्था पनि हो।

"यति काम भइसकेपछि महाधिवेशनमा किन नबदल्ने भन्ने भयो। विशेषगरि महाधिवेशन विचारमा केन्द्रित गर्ने भनिएको हो। अहिले अध्यक्षले एउटा दस्ताबेज प्रस्तुत गर्दै हुनुहुन्छ। त्यो वैचारिक विषयमै केन्द्रित छ भन्नुभएको छ," उनले भने।

माओवादीको राष्ट्रिय सम्मेलन र महाधिवेशनमा तात्त्विक फरक नभए पनि सम्मेलनबाट गरिएका निर्णयहरू महाधिवेशनबाट अनुमोदन गर्नुपर्ने कानुनी बाध्यता रहने पोखरेल बताउँछन्।

"एउटा महाधिवेशन त गर्नुपर्छ। अब चुनाव आउँदै छ. त्यसपछि त महाधिवेशनमा जानुपर्ने हुन्छ। त्यो पक्षलाई पनि हेरेर महाधिवेशन गरौँ भन्ने कुरा आयो," उनले थपे।

माओवादीले विसं २०६९ फागुनयता महाधिवेशन गरेको छैन। त्यसपछि २०७१ सालमा विराटनगरमा गरिएको राष्ट्रिय सम्मेलन भए पनि महाधिवेशन हुन सकेको थिएन।

राजनीतिक दलहरूले हरेक पाँच वर्षभित्रमा अधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि माओवादी र नेकपा एमालेको एकीकरणबाट नयाँ दल बनेपछि महाधिवेशन गरिहाल्नुपर्ने बाध्यता थिएन।

तर गत फागुनमा सर्वोच्च अदालतको आदेशपछि नेकपाबाट एमाले र माओवादी अलग भएपछि दुवै दललाई महाधिवेशन गर्नुपर्ने कानुनी दबाव थियो।

सम्मेलनबाटै नयाँ कार्यसमिति चयन भए पनि संवैधानिक अड्चन नभएको माओवादी नेताहरूले बताउँदै आएका थिए।

प्रचण्डको अनुमोदन हुने रणनीति?

तर नेकपा एकीकरण बदर भएपछि माओवादी छोडेर एमाले रोजेका नेता टोपबहादुर रायमाझी यो सम्मेलनबाट सहजै आफ्नो नेतृत्व अनुमोदन हुने देखेर प्रचण्डले महाधिवेशनमा रूपान्तरण गरेको आशङ्का गर्छन्।

"प्रचण्डले २०४८ सालदेखि नै यो पार्टी एकलौटी ढङ्गले चलाउँदै आएका छन्। उनले आफूलाई मन लागेकालाई पदाधिकारीमा टिको लगाइदिने र प्रतिनिधि पनि त्यसरी ल्याउने गर्छन्," रायमाझीले भने।

"उनलाई लागेको हुनसक्छ फेरि महाधिवेशन गर्दा आफूले भनेजस्तो हुन्छ कि हुन्न। विपक्षमा प्रतिनिधि पो आउँछन् कि भन्ने पनि परेको हुनसक्छ। त्यसैले आफू अनुमोदन हुन महाधिवेशन भन्दिए।"

प्रचण्डले पार्टीलाई विधि अनुसार नचलाएकै कारण आफूजस्ता धेरै नेताहरू उनको साथ छाडेर हिँडेको रायमाझीको आरोप छ।

"उनले ३० वर्षयता दुई वटा कर्मकाण्डी महाधिवेशन गरे। उनको महाधिवेशन गर्ने इच्छा पनि होइन, यो महाधिवेशन भनिए पनि सबै कर्मकाण्डी टालटुले काम हो," रायमाझी भन्छन्।

तर माओवादी केन्द्रका नेता पोखरेल प्रचण्डले आफूलाई अनुमोदित गर्न मात्रै सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण नगरेको बताउँछन्।

"उहाँ (प्रचण्ड) यो पार्टीमा नेताको पनि नेता हो। उहाँलाई पार्टीमा अनुमोदन हुन यस्तो गरिरहनै पर्दैन नि," पोखरेलले भने।