कोभिड चीन: कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि शीआन सहरमा लकडाउन

तस्बिर स्रोत, Getty Images
कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनको शीआन सहरमा एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न अधिकारीहरूले निर्देशन दिएका छन्।
डिसेम्बर ९ देखि त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन लगाएको हो।
बुधवार घोषणा गरिएको प्रतिबन्धात्मक व्यवस्थामा प्रत्येक घरबाट एक जनाले दुई दिन बिराएर आवश्यक सामग्री किन्न घरबाहिर जान पाउँछन्।
चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ। महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ।
आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिक्स आयोजना गर्न लागेकाले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ।
शीआनवासीहरू विशेष परिस्थतिमामा बाहेक तथा अधिकारीहरूबाट अनुमति नलिई सहरबाट अन्यत्र जान पाउनेछैनन्।
स्थानीय समयानुसार मध्यरातदेखि यो व्यवस्था कार्यान्वयनमा आएको हो।
यो प्रतिबन्धात्मक व्यवस्था कहिलेसम्म कायम रहन्छ भन्ने खुलाइएको छैन।

तस्बिर स्रोत, Reuters
शीआन अवस्थित शान्शी प्रान्तमा लाखौँ मानिसको परीक्षण गरिएको छ।
लामो दूरीका बस स्टेशनहरू बन्द भइसकेका छन् तथा सहरतर्फ जाने मार्गमा जाँचचौकी बनाइएको छ।
शीआन विमानस्थलबाट हुने धेरै उडानहरू स्थगित भएका छन्।
अत्यावश्यकबाहेकका व्यापारव्यवसायहरू बन्द भएका छन् भने सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ।
राज्यद्वारा सञ्चालित ग्लोबल टाइम्स पत्रिकाका अनुसार गत सप्ताहान्त नै अधिकारीहरूले मदिरालय, व्यायामशाला र चलचित्रघर बन्द गर्न लगाएका थिए।
सरकारी पक्षका अनुसार अहिले त्यहाँ कोरोनाभाइरसको डेल्टा भेरिअन्ट फैलिएको हो।
तर ओमिक्रोनको विषयमा केही उल्लेख गरिएको छैन।
सरकारी सञ्चारमाध्यमले यो साता शीआनमा दोहोरो प्रकोप फैलिएको जनाएका छन्।
त्यहाँ कोभिडबाहेक रक्तस्राव हुने ज्वरो फैलिएको विवरणहरू आएका छन्।
उक्त ज्वरोको स्थानीय रूपमा बेलाबेलामा देखा पर्ने रोग हो। त्यसको मृत्युदर उच्च छ।
यद्यपि त्यसलाई उत्तरी चीनमा फैलिने मौमसी रोग मानिएको छ र त्यो ग्रामीण क्षेत्रमा बढी देखिएको छ।
चीनले ग्रीष्मकालीन ओलिम्पिक्सका लागि कोभिड-१९ सर्वाधिक ठूलो चुनौती भएको स्वीकारेको छ।
कोरोनाभाइसको प्रकोप चीनबाट नै सुरु भएको मानिन्छ।
त्यहाँ अहिलेसम्म एक लाख १३ हजार जनाभन्दा बढी मानिसका कोभिड पुष्टि भइसकेको छ भने ४,८४९ जनाको कोरोनाभाइरससँग सम्बन्धित कारणले मृत्यु भएको छ।














