कोभिड नेपाल: ओमिक्रोन भेरिअन्टबाट थप एक व्यक्ति सङ्क्रमित

तस्बिर स्रोत, Reuters
नेपालमा थप एकजना व्यक्तिमा ओमिक्रोन भेरिअन्ट सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता डाक्टर सङ्गीता कौशल मिश्रले यस्तो जानकारी दिएकी हुन्।
यसअघि डिसेम्बर ६ तारिखमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले दक्षिण अफ्रिकाबाट नेपाल आएका एक विदेशी र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेरिअन्ट देखिएको बताएका थिए।
अहिले सङ्क्रमण पुष्टि भएका व्यक्तिसँग सम्पर्कमा रहेकाहरूको पनि जाँच गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्।
सङ्क्रमित व्यक्ति ५८ वर्षका रहेको र उनको वैदेशिक यात्राको पृष्ठभूमि रहेको अधिकारीहरूले बताएका छन्।
पछिल्लो सङ्क्रमणको घटना पुष्टिसँगै नेपालमा तीन जनामा कोरोनाभाइरसको यो भेरिअन्ट देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर कृष्णप्रसाद पौडेलले बताए।
ओमिक्रोन भेरिअन्ट कोरोनाभाइरसको अरू भेरिअन्ट भन्दा द्रुत गतिमा फैलिने वैज्ञानिकहरूले बताउँदै आएका छन्।
हाल यो भेरिअन्टले यूके सहितका देशमा ठूलो सङ्ख्यामा सङ्क्रमण वृद्धि गराएको छ।








