फाइभजीको 'दुष्प्रभाव' रोक्ने दाबी गरिएका नेक्लेस र अरू सामग्रीबाटै हानिकारक विकिरण

मानिसलाई फाइभजी (5G) मोबाइल नेटवर्कबाट सुरक्षा दिने दाबी गरिएका नेक्लेस र अन्य उपकरणहरू रेडिओधर्मी विकिरणयुक्त भएको पत्ता लागेको छ।

आणविक सुरक्षा र विकिरण संरक्षणसम्बन्धी विषय हेर्ने नेदरल्यान्ड्सको निकाय एएनभीएसले आफूले फेला पारेका १० वटा त्यस्ता वस्तुले हानिकारक 'आयोनाइजिङ रेडिएशन' भनिने आयनीकरण गराउन सक्ने विकिरण निकाल्न सक्ने भन्दै चेतावनी दिएको छ।

लामो समय प्रयोग गर्दा शरीरमा हानि पुग्न सक्ने भन्दै उक्त निकायले त्यस्ता उत्पादनहरू परित्याग गर्न आग्रह गरेको छ।

मोबाइल प्रविधिको नवीनतम फाइभजी नेटवर्क मानिसको स्वास्थ्यका लागि हानिकारक भएको विषयमा अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन।

विश्व स्वास्थ्य सङ्गठनले फाइभजी नेटवर्क सुरक्षित रहेको र अहिले प्रचलनमा रहेका फोरजी र थ्रीजीभन्दा यसमा आधारभूत भिन्नता नरहेको जनाएको छ।

मोबाइल नेटवर्कमा आयनीकरण नगर्ने रेडिओ तरङ्ग प्रयोग हुन्छ र त्यसबाट मानिसको कुनै आनुवंशिक गुणमा क्षति पुग्दैन।

तथापि फाइभजी हानिकारक भएको भन्दै केही स्थानमा ट्रान्समिटरमा आक्रमण भएको छ।

फाइभजी नेटवर्कबाट सुरक्षा दिने दाबी गरिएका उत्पादनहरू "एनर्जी आर्मर" स्लीपिङ मास्क, ब्रास्लेट र नेक्लेसका रूपमा आएका छन्।

बालबालिकाका लागि बनाइएको 'म्याग्नेटिक्स वेल्नेस' नाम दिइएको ब्रास्लेटले पनि रेडिओधर्मी विकिरण उत्सर्जन गरेको पाइएको छ।

"त्यसलाई अब लगाउँदै नलगाउनुहोस्। सुरक्षित रूपमा टाढा राख्नुहोस् र फिर्ता गर्ने निर्देशिकाको प्रतीक्षा गर्नुहोस्," डच निकाय एएनभीएसले वक्तव्यमा भनेको छ।

"नेदरल्यान्ड्समा एएनभीएसले चिनेका विक्रेतालाई उक्त उत्पादनमा प्रतिबन्ध लगाइएको र विक्री तत्कालै रोक्न भनिएको छ। उनीहरूले आफ्ना ग्राहकलाई यसबारे अनिवार्य जानकारी दिनुपर्नेछ।"

फाइभजी प्रतिरोध गर्न भनेर बनाइएका सामग्रीहरू प्रभावहीन छन्।

तथापि फाइभजी हानिकारक भएको सन्देह गर्दै आशङ्का फैलिएकाले त्यस्ता उपकरणको बजार ह्वात्तै बढेको छ।

सन् २०२० को मे महिनामा यूकेमा व्यापार नियमन गर्ने निकायले ३९९ पाउन्ड पर्ने फाइभजीबाट सुरक्षा प्रदान गर्ने दाबी गरिएको एउटा उपकरणको विक्रीमा रोक लगाएको थियो।

अनलाइन किनमेलका लागि प्रचलित एमजनमा पनि तथाकथित विकिरणप्रतिरोधी उपकरण बेच्न राखेको पाइन्छ।

एएनभीएसले विकिरण गराउने भनेर चिनिएका उपकरणको पूरा सूची आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ।

नेपालमा अहिलेसम्म फोरजी मोबाइल नेटवर्क मात्र प्रयोगमा आएको छ भने भारतका केही कम्पनीले फाइभजीको सीमित परीक्षण गर्न थालेका छन्।