समुद्री आँधीबाट फिलिपिन्सको पर्यटकीय टापु सिरगाओमा विनाश

दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले त्यहाँको लोकप्रिय पर्यटकीय क्षेत्र तहसनहस बनाएको अधिकारीहरूले बताएका छन्।

मानिसहरू बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित बिहीवार आएको राई समुद्री आँधीले भारी वर्षा गराएको थियो।

तीव्र गतिको आँधीले बाटोमा परेका घरहरू ढलाउँदा लाखौँ मानिसहरू विस्थापित भएका छन्।

संयुक्त राष्ट्रसङ्घले एक करोड ३० लाख मानिसहरू प्रभावित भएका जनाएको छ। शुक्रवारसम्म १२ जनाको मृत्यु पुष्टि भएको छ।

सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन् भने बिजुलीका तार र खम्बाहरू ढलेका छन्।

जताततै बाढी आएपछि हजारौँ मानिसहरू घर छोडेर सुरक्षित स्थलमा आश्रय लिइरहेको बताइएको छ।

अधिकारीहरूले विमानस्थलको प्रमुख टर्मिनलमा क्षति पुगे पनि धावनमार्ग उद्धार उडानहरूका लागि चालु रहेको बताएका छन्।

सन् २०१७ मा त्यहाँ छायाङ्कन भएको एउटा चलचित्रले यहाँको उत्कृष्ट स्थानीय सौन्दर्यलाई प्रदर्शित गरेपछि यो ठाउँ प्रसिद्ध भएको थियो।

यो टापुले फिलिपिन्समा कठिन सहरको दिनचर्याबाट टाढा बस्न चाहने युवा र निस्फिक्री घुम्न चाहने यात्रुहरूलाई आकर्षित गर्ने गरेको छ।

मधुरो प्रकाशमा सजिएका समुद्री तटका मदिरागृहमा अन्तर्राष्ट्रिय पर्यटक, डिजिटल फिरन्ते र छालहरूसँग खेल्नेहरू एक आपसमा घुलमिल भइरहेका हुन्छन्।

यो वर्ष कोन्डे नास्ट ट्राभलरका पाठकहरूले सिरगाओलाई एसियाकै उत्कृष्ट टापुको उपाधि दिएका छन्।

त्यस क्षेत्रमा बढ्दो सम्पत्तिको मूल्यले यसलाई थप प्रतिबिम्बित गरेको छ।

धेरैले यो टापुमा बस्ने प्रियजनहरूबाट आँधीपछि केही नसुनिएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्।

यो क्षेत्रका सुन्दर पर्यावरण देखिने तस्बिरहरूले भरिने सामाजिक सञ्जाल पछिल्लो २४ घण्टायता सुनसान छन्।

पश्चिमतर्फ सोझिएको आँधीले नदीका बाँधहरू फुटाउँदा ठूला टापुहरूमा बाढी निम्त्याएको थियो।

सामाजिक सञ्जालमा फैलिएका भिडिओहरूले फिलिपिन्सको दोस्रो ठुलो सहर सेबुमा हुरीले ठूलो क्षति पुर्‍याएको देखाएका छन्।

सिरगाओ पश्चिमको सुरिगाओ सहरका मेयरले टाइफुनको प्रभावलाई गम्भीर भनेका छन्।

"सबै कुरामा क्षति पुगेको छ। छानाहरू उडेका छन्, सडकहरू पहिरोले अवरुद्ध भएका छन्," उनले फिलिपिन्सको एबीएस-सीबीएनको प्रसारणमा भनेका छन्।

फिलिपिन्समा बारम्बार शक्तिशाली आँधी आउने गरेको छ।

यो देशमा वर्षमा औसत २० आँधी आउने गरेका छन्। सन् २०२० को नोभेम्बरमा समुद्री आँधी गोनीले आफ्नो मार्गमा मानवीय क्षति र विनाश निम्त्याएको थियो।

सन् २०१३ मा ६,००० मानिसहरूको ज्यान जाने गरी आएको हैयान समुद्री आँधीपछि त्यो सबैभन्दा ठूलो आँधी भएको बताइएको छ।