तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हङकङ कोभिड: पाइलटलाई 'सधैँको क्वारन्टीन',यस्तो छ उनीहरूको पीडादायी अनुभूति
- Author, पिटर हस्किन्स
- Role, व्यापार संवाददाता
विश्वको एउटा ठूलो उड्डयन केन्द्र हङकङमा विश्वकै कडामध्येको कोभिड प्रतिबन्धहरू समेत लागिरहेको छ।
दुईजना पाइलटहरूले बीबीसीसँग कुरा गर्दै ती नियमहरूले कसरी आफ्नो मानसिक स्वास्थ्यमा असर पार्नुका साथै निजी जीवन बिगारिरहेको छ भनेर बताएका छन्।
हङकङ शहरको ध्वजावाहक विमानसेवा क्याथे प्यासिफिकका एक पाइलट पिअर* ले यो वर्ष मात्र लगभग १५० दिन क्वारन्टीनमा बिताएपछि भने, "हामी सधैँ क्वारन्टीनको अवस्थामा मात्र रहन्छौँ।"
पछिल्ला महिनामा हङकङले बिरलै कुनै स्थानीय कोभिड सङ्क्रमणका घटना झेले तापनि उक्त शहरले व्यापक परीक्षण र क्वारन्टीनको व्यवस्था कायम गरेको छ।
किन त्यस्तो नियम?
मुख्यभूमि चीनको 'शून्य कोभिड नीति' अन्तर्गत हङकङले त्यसो गरिरहेको हो।
पाइलटहरूले त्यसबाट छुटकारा पाउने कुरा भएन।
त्यसको अर्थ उनीहरू आफ्नो समयको ठूलो हिस्सा कि त काम गरेर या क्वारन्टीनमा बसेर बिताउँछन्।
त्यस्ता कडा उपाय विमानस्थलबाट सुरु हुन्छन्।
हङकङ आएपछि सबै अन्तर्राष्ट्रिय यात्रुहरूले कोभिड-१९ को परीक्षण गर्नुपर्छ र उनीहरू नेगेटिभ देखिए पनि क्वारन्टीनमा बस्नुपर्छ।
अद्यागमन प्रक्रियाहरू अगाडि बढाउनुपूर्व उनीहरूले आफ्नो त्यसैदिन आउने परीक्षणको नतिजा कुर्नुपर्छ।
"चालकदलका सदस्यहरू विमानमा २५ घण्टादेखि कहिलेकाहीँ ढिलो भए ३० घण्टासम्म बिताउँछन्," क्याथे प्यासिफिकका अर्का पाइलट क्लार्कले भने।
"उनीहरू प्लास्टिकका कुर्सीमा बस्नुपर्छ र ननिदाइकनै परीक्षणको नतिजा कुर्नुपर्छ। विमानस्थलमा अवतरण गरेर घर जाने बेलासम्मको यो पूरै प्रक्रिया झण्डै चार घण्टाको हुन्छ।"
नेगेटिभ पाइएमा उनीहरू घर जान पाउँछन् तर उनीहरू आफूखुसी स्वतन्त्र हुन चाहीँ पाउँदैनन्।
पाइलटका पीडा
हङकङ आइपुगेको पहिलो तीन दिन चालकदलका सदस्य घरमै बस्नुपर्छ।
उनीहरू कि कोभिड जाँच गर्न या त अन्य अत्यावश्यक कामका लागि एक दिनमा बढीमा दुई घण्टा बाहिर निस्कन पाउँछन्।
चालकदलका सदस्यले त्यसपछि थप १८ दिनसम्म 'अनावश्यक सामाजिक घुलमिल नगरिकन' दैनिक परीक्षण गरिरहनुपर्छ।
"मलाई लाग्दैन यो कुनै पनि ढङ्गले न्यायोचित र औचित्यपूर्ण छ," क्लार्कले भने। "पूरै अस्वीकार्य।"
यदि पाइलट पोजिटिभ पाइए वा पिअरको अनुभवमा कुनै सङ्क्रमितसँगको संसर्गमा आएको अवस्थामा उनीहरूलाई अस्पताल वा क्वारन्टीन स्थलमा लगिन्छ।
जस्तो पेनीज् बे सेन्टर भन्ने केन्द्र छ जुन त्यहाँको बसोबासको अवस्थाका लागि आलोचित बनेको थियो।
पिअरले उक्त केन्द्रमा रहनुलाई 'एक्लो बन्दीगृह'मा बसेजस्तो अनुभव गरेको सुनाए जहाँ साँघुरो कोठामा 'कत्ति पनि घामको किरण पर्दैनथ्यो।'
उनले भने, "कुनै कुनै बोटविरुवा त परै जाओस् एउटा झारको त्यान्द्रो समेत देखिनँ।"
सङ्क्रमितका परिवार र निकट सम्पर्कमा रहेकाहरूलाई समेत उक्त केन्द्रमा बस्न बाध्य पारिन्थ्यो जसमा बालबालिका र गर्भवती महिला समेत थिए।
विदेशमा पनि चीनकै नियम
क्याथे प्यासिफिकका पाइलटहरू देशबाहिर हुँदा समेत प्रतिबन्धबाट मुक्त हुँदैनन्। अन्य देशहरूमा समेत उनीहरूलाई तिनै नियमले बाँधिरहन्छन्।
"तपाईँ सिधै आफ्नो कोठाबाट विमानमा जानुपर्छ। उडानपछि पुन: आफ्नो कोठामा गएर अर्कोपटक नउड्दासम्म बन्द रहनुपर्छ," पिअरले भने।
होटलमा रहँदा खाना खाने बेलामा समेत उनीहरू कोठाभित्रै बस्नुपर्छ।
"खाना कोठामै आउँछ। ढोकामा सुरक्षाकर्मी बसेका हुन्छन्। त्यसैले तपाईँ गल्लीमा समेत निस्कन पाउनुहुन्न। तपाईँ काममा देखा परेदेखि हङकङ फर्कँदासम्म क्वारन्टीनमै रहनुहुन्छ।"
विदेशी विमानका चालकदललाई समेत यी नियम लागु हुन्छ।
ब्रिटिश एअरवेजका चालकदल समेत पेनिज् बेमा क्वारन्टीनमा बस्नुपरेपछि उक्त विमानसेवाले हङकङमा आफ्ना उडानहरू हालै रोकेको छ।
उक्त विमानसेवाले 'उक्त क्षेत्रमा काम गर्दा आवश्यक पर्ने पक्षहरूको आफूले समीक्षा गरिरहेको' जनाएको छ।
विकल्पको खोजी
पाइलटहरूको दु:खेसोबारे प्रतिक्रिया लिन खोज्दा क्याथे प्यासिफिकले हङकङ सरकारको क्वारन्टीन उपायमा आफ्नो समर्थन रहेको जनाएको छ।
उसले भनेको छ, "हाम्रा सेवाग्राही, कर्मचारी र समुदायको सुरक्षा र स्वास्थ्य हाम्रो पूर्ण प्राथमिकतामा रहिआएको छ।"
क्याथे प्यासिफिकले ती नियमले आफ्ना चालकदलमा भार परेको कुरा भने स्वीकारेको छ।
"उडानका लागि आफू अनुकूल नभएको अनुभव भएमा बिना कुनै हिचकिचाहट व्यवस्थापनलाई भन्दा हुन्छ जुन कुरा कानुनी रूपमै सुरक्षित छ," कम्पनीले भनेको छ।
क्याथेका पाइलटहरूले बीबीसीसँगको कुराकानीमा तनाव छल्न विदाको लागि आवेदन दिएको वा दिने योजना बनाएको बताएका छन्।
क्लार्कले भने, "आउँदो बसन्त याममा मैले जागिर छाड्ने लगभग निधो गरेको छु…म अर्को जागिरको टुङ्गो नलगाइकनै छाड्न लागेको हुँ।"
"मसँगै काम गर्ने ८० प्रतिसत जतिले अन्यत्र काम खोजिरहेकोझैँ मलाई लाग्छ…हामी त्यसबारे मात्रै कुरा गरिहन्छौँ।"
(*पाइलटहरूको नाम उनीहरूको पहिचान सुरक्षित राख्नका लागि परिवर्तन गरिएको छ।)