सवारीचालक अनुमतिपत्र: लाइसेन्स लिन आवेदन भर्ने यातायात विभागको सर्भरमा किन समस्या आइरहन्छ

अनलाइन आवेदन भर्दै

लामो समयपछि खुलेको सवारीसाधन चालक अनुमतिपत्रको अनलाइन आवेदन दुई दिन सेवा अवरुद्ध भएपछि पुन: सञ्चालनमा आएको छ।

महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाले प्रभावित बनेको उक्त सेवा सरकारले छ महिनापछि यसै साताको सोमवारबाट खोलेको थियो।

तर सेवा सञ्चालनमा आएकै दिन "१५ लाख मानिसले विभागको वेबसाइट खोलेको र धेरै जनाले एकैपटक अनलाइन आवेदन भर्न खोज्दा" प्रणालीमा समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसाल भन्छन्, "अनलाइन आवेदन पाँच-छ महिनापछि सुरु भयो अनि धेरै सेवाग्राहीले एकैपटक एक्सेस गर्दा दुई दिनसम्मका लागि समस्या भयो। तर हिजो (बिहीवार) बेलुकाबाट सेवा पुन: सुरु भइसक्यो।"

आवेदन खुलेको २४ घण्टाभित्रै एक लाखभन्दा बढी मानिसले अनलाइन आवेदन भरेको देखिएको विभागले जनाएको छ।

लामो समयसम्म वितरण रोकिएकाले अहिले देशभरिबाट करिब १० लाख जनाले सवारीसाधन चालक अनुमतिपत्र लिन खोजेको विभागले जनाएको छ।

अनलाइन आवेदन

के अब फेरि समस्या दोहोरिँदैन?

यातायात व्यवस्था विभागको अनलाइन प्रणालीमा गत वर्ष पनि प्राविधिक समस्या आएको थियो।

महामारीका कारण लामो समय सेवा प्रभावित भएको र एकैपटक धेरै मानिसले वेबसाइट खोल्दा समस्या उत्पन्न हुने गरेको विभागको भनाइ छ।

यस पटक पनि अनलाइन आवेदन खुला गरेपछि एक सेकेन्डभित्र १५ सय मानिसले वेबसाइट "एक्सेस" गरेको सूचना अधिकारी भुसालले बताए।

"सर्भरमा जुन चाप बढेर समस्या भएको हो त्यो अब क्रमश: घट्दै जाने भएकोले अब समस्या नआउला," उनले भने।

विभागका इन्जिनियर सन्तोष पोखरेल अब यस्ता प्राविधिक समस्या नदोहोरिने बताउँछन्।

यातायात व्यवस्था विभागले वितरण गर्ने स्मार्ट लाइसेन्सको सर्भरको नियन्त्रण भारतीय कम्पनी मद्रास प्रिन्टर्सले गर्छ। उक्त प्रणाली विभागअन्तर्गत आएपछि समस्या नहुने पोखरेलले बताए।

"भारतीय कम्पनीको नियन्त्रणमा रहेको सर्भर विभागको मातहतमा ल्याएर हामीले नै सञ्चालन गर्ने भनेका छौँ। त्यो गर्न एक महिनाको समय लाग्छ। त्यसपछि बेलाबेला देखा पर्ने यस्तो समस्या आउँदैन," उनले भने।

स्मार्ट लाइसेन्स

अहिले आवेदन दर्ता गर्नेले परीक्षा कहिले दिन पाउँछन्?

यसअघि नै आवेदन दर्ता गरेर पनि परीक्षा दिन नपाएका मानिसको सङ्ख्या काठमाण्डूमा मात्रै चार लाखभन्दा बढी रहेकाले उनीहरूको पहिला परीक्षा हुने बताइएको छ।

काठमाण्डूबाहेक अन्यत्र रहेका यातायात व्यवस्थाका कार्यालयले भदौ २० गतेदेखि नै सेवा थालेकाले त्यहाँ परीक्षाका लागि त्यति चाप नहुने विभागका सूचना अधिकारी भुसाल बताउँछन्।

"काठमाण्डूबाहिरका मानिसको हकमा १५ दिनदेखि एक महिनामा पालो आइहाल्छ। काठमाण्डूमा चाहिँ अहिले आवेदन दर्ता गर्नेलाई तीन महिनासम्म लाग्न सक्छ," उनले भने।

काठमाण्डूमा सवारीसाधन चालक अनुमतिपत्र दिने यातायातका चारवटा कार्यालय छन्।

त्यहाँ करिब चार लाख आवेदन यसअघि नै दर्ता भइसकेकाले तिनीहरूको परीक्षाका लागि पहिला पालो दिइने भुसालले बताए। त्यसपछि अहिले दर्ता गर्नेले पालो पाउने उनले बताए।

ट्रायल सेन्टर

तस्बिर स्रोत, Facebook / Vehicle Academy and Research Centre