बढी बस भाडा फिर्ता अभियान : कसरी टेकियो ड्राइभरसामु घुँडा

- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
दशैँ बिदा सदुपयोग गर्न म परिवारसहित टिका लगत्तै घुम्न निस्केको थिएँ।
लक्ष्य ताप्लेजुङको प्रख्यात पाथीभरा माताको दर्शन गर्ने थियो।
अस्वाभाविक रूपमा लगातार तीन दिन परेको पानीमा रुझ्दै पाथीभरा माईको दर्शन गरियो।
फर्किँदा फिदिमको पाँचथर छेउको स्थानमा पहिरोले बाटो अवरुद्ध भएपछि बाटोमै अलपत्र परियो।
दुई दिनपछि बाटो खुल्यो। हामीलाई काठमाण्डू फर्कन हतार भइसकेको थियो।
फर्केर मोरङ, खोर्सानेमा दिदीको घरमा बास बसियो।
भिनाजुले काठमान्डू फर्किने बसको चाँजोपाँजो मिलाउन थाल्नुभयो।
स्वाभाविक हो, दशैँको बेलामा कहीँ कतै टिकट भेटिएन। न नाइट बस, न माइक्रो बस, न स्कोर्पियो न मिनिबस।
बल्ल तल्ल भिनाजुले कता कताबाट मिनिबसको टिकट भेट्टाउनुभयो।
हामी ६ जनाले प्रति व्यक्ति १७ सय भाडा तिरेर टिकट काट्यौँ।
यात्रा खोर्सानेबाट सिन्धुलीको बिपी राजमार्ग हुँदै काठमाण्डू पुग्ने थियो।
हामी चढ्ने बस लेटाङबाट छुटेको रहेछ।
बिहानै खोर्साने चोकमा उभियौँ। भनिएको समयभन्दा एक घण्टा ढिलो गरी मिनिबस खोर्साने आइपुग्यो।
बस चढ्यौँ तर हाम्रो सिटमा पहिले नै दुई जना बसिरहेका थिए।
हामीले हाम्रो सिट छोड्न अनुरोध गर्यौँ। उनीहरू मानेनन्।
एउटै नम्बरको सिट धेरैलाई बेच्ने गरेको भनेर बसवालाहरूको आलोचना हुँदै आएको छ, आफैले भोगियो। अनि पछाडिको सिटमा लगेर राख्ने गरिन्छ।
घरबाट बिदा भएर बस चढ्न आएका यात्रुहरू आफूले चाहेको सिट पाइएन भनेर घर फर्किने कुरै भएन।
हामीलाई पनि त्यही होला की भन्ने स्थिति आइसकेको थियो, तर हामीले ६ वटा टिकट किनेकोले होला, काटेको भन्दा अगाडिकै सिट पाइयो। समस्या टर्यो।
खासमा ती दुई जनाले माइक्रो बसको टिकट काटेका रहेछन्। तर चढ्ने बेलामा मिनिबस चढाइ दिएछन्। त्यस्ता यात्रु अरू पनि भेटियो।
गाडी हिँड्यो। लालबन्दीमा खाना खायौँ र बर्दिबास हुँदै सिन्धुलीको बाटो उक्लियौँ।
कथाको मुख्य भाग अब आउँछ।
सिन्धुली पुग्नै लाग्दा बाटोमा प्रहरीको चेकिङ थियो।
चाडबाडको मौका पारेर यात्रुहरूसँग बढी भाडा असुल्नेको पैसा फिर्ता गराउने अभियान अन्तर्गत प्रहरीको चेकिङ रहेछ।
प्रहरीको यो अभियान अहिले चर्चामा छ। बढी भाडा फिर्ता भएको समाचार पनि आइरहेको छ।
कति जिल्लामा त प्रमुख जिल्ला अधिकारी नै त कति जिल्लामा ट्राफिक प्रमुख सडकमा खटिएका खबरहरू छन्।
एक जना प्रहरी गाडीमा उक्लिए। उनले यात्रुहरूसँग कति पैसा तिरेको भनी सोध्न थाले। पछिल्लो सिटमा बसेका एक जनालाई टिकट देखाउन भनियो।
ती भाइले टिकट पनि नदिएको र बस भाडा लेटाङबाट काठमाण्डूको २ हजार रुपैयाँ लिएको बताए। अरूलाई पनि सोधियो। धेरैको जवाफ त्यस्तै थियो।
अनि प्रहरीले भने - "क कसलाई भाडा बढी तिरेको जस्तो छु जस्तो लाग्छ, तल झर्नु, बढी पैसा हामी फिर्ता गराउँछौँ।"
एकै छिन यात्रुहरू अलमलिए। जाऊँ की नजाऊँ दोधारमा परे।
अनि एक जना अधबैँसे आँट गरेर उठे।
नाम रामचन्द्र भट्टराई। उमेर साठी वर्ष। घर लेटाङ।
उनी लेटाङका एमाले सांसद घनश्याम खतिवडाका स्कुले साथी रहेछन्।
उनी उठेपछि अरू यात्रुहरू पनि हौसिएर ओर्लिए।
प्रहरीले केरकार गरे। लेटाङ-काठमाण्डूको बस भाडा १४ सय रुपैयाँ रहेछ। यात्रुसँग ६ सय बढी लिएका रहेछन्।
प्रहरीले बढी भाडा ड्राइभरसँग असुले।
लिइएको बढी भाडा ९ हजार ५ सय रुपैयाँ ड्राइभरले एकमुष्ट रूपमा रामचन्द्र भट्टराईलाई फिर्ता गरे।
प्रहरीले त्यसको फोटो खिचे। ट्राफिक प्रहरीले भिडियो अन्तर्वार्ता नै लिए।
रामचन्द्रले खुसी हुँदै अन्तर्वार्तामा भने - "प्रहरीले जनताको लागि गरेको यो कामको लागि धेरै धेरै धन्यवाद। पहिले प्रहरीले ड्राइभरसँग मिलेर दुख दिन्छ भनेको सुनेको थिएँ। यस्तो होला भनेर हामीले सोचेका पनि थिएनौँ।"
केही यात्रुहरूले 'अब यी यात्रुहरूलाई बस चढ्न दिन्छन् त?' भनी प्रश्न पनि गर्न थाले।
प्रहरीले ढुक्क हुन भने। बस चढ्ने बेलामा एक जना ट्राफिक प्रहरीले भने - "चालकले त्यस्तो केही गरे तुरुन्त फोन गर्नु, हामी छौँ।"
समग्रमा प्रहरी अभियानको एउटा राम्रो कामको हामी साक्षी भयौँ।
बस गुड्यो। त्यसपछि बसको दृश्य निकै रमाइलो बन्यो। बस भित्र रामचन्द्रजी सबैलाई ६/६ सयका दरले भाडा फिर्ता गरिरहेका थिए।

ज जसले भाडा फिर्ता पाए उनीहरूको मुहारमा विजयी मुस्कान थियो।
अनि बढी भाडा नमाग्ने यात्रुहरूको मुहारमा भने पछुतोको भाव थियो। कति जनाकोमा डाहाको भाव जस्तो पनि लाग्यो।
मैले पनि मनमनै हिसाब लगाएँ।
लेटाङ काठमाण्डू १४ भाडा हो भने मैले त खोर्साने काठमाण्डूको १७ सय तिरेको थिएँ। मागेको भए मैले नि फिर्ता पाउँथे नि।
'थुक्क बुद्धि' जस्तो भयो।
बढी भाडा असुली विरुद्ध प्रहरीले चालेको कदमको भने बसमा रहेका सबैले प्रशंसा गरे।
तर असली कथा त बाँकी नै थियो।
जसै बसले सिन्धुली प्रहरीको विट क्रस गर्यो, यात्रुहरूले नसोचेको नाटक सुरु भयो।
गाडी एकदम ढिलो गरी गुड्यो। यति ढिलो की मानौँ हामी बयल गाडा चढिरहेछौँ।
अब पर्यो फसाद।
सबैले बुझी हाले- ड्राइभरले निहुँ खोज्दैछ अथवा घुर्क्याउँदैछ।
सबैभन्दा पहिले ड्राइभर छेउमा बसेकी एक जना दिदी कराउन थालिन्।
"होइन, यो के गरेको ? यसरी गाडी हाँकेर कहिले पुग्ने हो काठमाण्डू। रातीमा पुगेपछि ट्याक्सी भाडा नै हजार बढी तिर्नुपर्छ। यस्तरी हामीलाई दुख दिने हो?"
सबै यात्रुले विरोध गर्न थाले। भनिरहनु परेन विरोध गर्नेहरूमा ती यात्रुहरूको आवाज धेरै थियो, जसले पैसा फिर्ता लिएका थिएनन्।
एक छिन अगाडि पुगेपछि त ड्राइभरले गाडी रोके। सह चालकले गाडीमा ओट हाले। बयल गाडा गाडी अब नगुड्ने भयो।
अनि सेतो टी सर्त लगाएका ती ड्राइभर रिसाएको अनुहार लिएर बस भित्र छिरे र कराउन थाले।
उनले भने, "अब म मेरो खुसीले चलाउँछु । रातभर सुतेको छैन, अब दुई घण्टा सुत्छु। तपाई के गर्नुहुन्छ।"
फेरि थपे, "तपाईँको पैसा मैले फिर्ता गरेँ। ठिक छ केही छैन, तर अब म १० हजार रुपैयाँ बराबरको मान्छे खाँद्छु। तपाईँहरूलाई सास फेर्न दिन्न म।"
ड्राइभरले एकसाथ यात्रुहरूलाई डर धम्की र त्रास देखाइसकेका थिए।
पहिलो कुरा उनले अब गाडी काठमान्डू निकै ढिलो पुग्छ, अर्को उनलाई निन्द्रा लागेको छ अर्थात् गाडी दुर्घटनामा पर्न सक्छ वा उनले अव यति धेरै अन्य यात्रु राख्छ की बाँकीको यात्रा कष्टकर हुनेछ।
अब यात्रुहरूबीच मतभेद सुरु भयो।
कतिले पुलिसलाई फेरि खबर गर्नुपर्ने तर्क राखे।
ड्राइभरको दादागिरीमा केही रिसाए।
तर थुप्रैले ड्राइभरलाई बेखुशी राखेर यात्रा गर्नुलाई ठिक मानेन।
सबैलाई आखिर काठमाण्डू पुग्नु थियो त्यो पनि समयमै।
अनि बाध्य भएर निष्कर्ष निकालियो - काठमाण्डू पुग्ने हो भने फिर्ता लिएकाहरूले भाडा फेरि ड्राइभरलाई दिनै पर्छ। नदिई सुखै छैन।
ड्राइभर छेउमा बसेकी दिदी झन् उफ्रिन थालिन्। भाडा फिर्ता लिएकाहरूलाई हकार्दे भनिन् , "भाडा फिर्ता दिऊँ। मरी लानु के छ। यही तालले काठमाण्डू पुगिन्न।"
एक छिन अघि विजयी मुस्कान भएकाहरूको मुहार अँध्यारो भयो।
उनीहरू पैसा फिर्ता दिन राजी भए। त्यसपछि बल्ल बस गुड्यो। तर गति भने त्यही बयल गाडा कै जस्तै थियो।
रामचन्द्रजीले यात्रुहरूसँग मसिनो आवाजमा भने, " आखिर हामीले माया मारेकै पैसा हो। लौ साथीहरू लिएको पैसा फिर्ता गरौँ।"
खुसीले पैसा बाँडेका उनी भारी मनले पैसा फिर्ता लिन थाले।
तर पैसा उठाउन्जेलको त्यो अवधिमा पनि गाडीको गति भने बयल गाडा कै जति थियो।
रामचन्द्रजीले पूरा पैसा गने, उठे र ड्राइभरको हातमा पैसा बुझाए।
पैसा हातमा के परेको थियो - बयलगाडा एकाएक मिनिबसमा परिणत भयो।
२ किमीको गतिमा गुडिरहेको गाडी एकाएक ६० किमी प्रतिघण्टाको गतिमा कुद्न थाल्यो।
सबै यात्रुमा एकसाथ हाँसोको फोहोरा छुट्यो। ताली बज्यो।
तर त्यो पराजयको हाँसो थियो।
ड्राइभरले गरेको दादागिरीमा घुँडा टेक्नुको विकल्प यात्रुहरूसँग थिएन।
एक जना यात्रुले भने, "कारबाही गरेपछि कि त प्रहरी त्यही गाडीमा काठमाण्डूसम्म आउनुपर्ने रहेछ। नत्र कारबाही व्यर्थ हुने रहेछ।"
बाटोमा चिया पिउने ठाउँमा मैले रामचन्द्र भट्टराईलाई पैसा किन फिर्ता दिएको भनेर सोधेँ। उनले भने, "पहिलो त ड्राइभरले गाडी खाल्डोमा हाल्छ की भन्ने डर भयो। अनि यात्रुहरूमा पनि कहाँ एकता देखियो र।"
उनको निष्कर्ष थियो - "स्टियरिङ ड्राइभरको हातमा छ। बिचरा हामी यात्रुहरू के लाग्थ्यो र।"
गाडीले अब गन्तव्यतिर गति लिइसकेको थियो।
मलाई भने बाटो भरी मन कटक्क भइरह्यो। न्याय मरिरहँदा हामी फगत दर्शक भयौँ।
अनि सोचेँ, दशैँमा १३ लाख मानिसले राजधानी छोडेका छन् र उनीहरूको फर्किने क्रम जारी छ।
सीमित सवारी साधन चल्ने हुनाले तिहारसम्म सहजै टिकट पाउन नसकिने बताइएको छ।
यस्तोमा यो नियति हामीले मात्र भोग्नु परेको हो कि तमाम ती यात्रुहरूले, जसले प्रहरी सामु पैसा फिर्ता पाएका थिए।
काठमाण्डू फर्केर सिन्धुली घटनाबारे वाग्मती प्रदेशका प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीलाई घटनाको बारेमा जानकारी गराएँ।
र यसको समाधान के हुन सक्ला भनी सोधेँ।
उनले भने - "प्रहरीले कारबाही गरिसकेको अवस्थामा यात्रुहरू पनि जागरूक भइदिएको भए हाम्रो अभियानलाई बल पुग्थ्यो। १०० मा फेरि फोन गरिदिए हुन्थ्यो।"
अनि समाधान निकाले झैँ उनले भने, "ठिक छ, अब हामी अन्तिम गन्तव्यमा पनि प्रहरी राखेर बीचमा ड्राइभरको ज्यादती भएको छ वा छैन त्यो जाँच गर्नेछौँ।"
घटनाबारे यातायात व्यवसायीहरूलाई पनि जानकारी गराएँ।
राष्ट्रिय यातायात महासङ्घका महासचिव सरोज सिटौलाले समग्रमा दोष सरकारको रहेको बताए।
उनले भने, "एकाध स्थानमा यस्तो घटना हुनसक्छ। त्यसमा म दुखी छु। तर यो निम्त्याएको सरकारले नै हो। प्रदेश सरकार त झन् निकम्मा नै हो। सरकारले २८ प्रतिशत भाडा समायोजन गर्न असारमा नै स्वीकृति दिए पनि थुप्रै प्रदेशमा त्यो लागू हुन सकेको छैन।"
उनका अनुसार अहिले पनि प्रदेश नम्बर २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशमा भाडा समायोजन गरिएको छैन। समायोजन गरिएका प्रदेशहरूको भाडा प्रतिशतमा पनि असमानता छ।
उनको भनाइ थियो, "राम्ररी समायोजन गरेको भए हामी पनि गाडीवालालाई कडा निर्देशन दिन्थ्यौँ। हदै सम्मको कारबाही गर हामी नै भन्थ्यौँ ।अब खर्च त धान्न पर्यो नि।"
(यो आलेख लेखकको व्यक्तिगत अनुभवमा आधारित छ। यसमा व्यक्त धारणाहरू उनका निजी हुन्।)










