मुग्लिन-नारायणगढ सडक: तीन अर्ब रुपैयाँ खर्च गरेर बनाएको सडकमा फेरि समस्या आउनुको कारण के हो

मुग्लिन नारायणगढ सडकमा खसेको ठूलो ढुङ्गा

तस्बिर स्रोत, BBC Sport

तस्बिरको क्याप्शन, मुग्लिन नारायणगढ सडकमा खसेको ठूलो ढुङ्गा

''लामो समय र धेरै लागत'' लगाएर पुनर्निर्माण गरिएको मुग्लिन-नारायणगढ सडक खण्डमा वर्षायाम सुरु भए यता बारम्बार पहिरो गएर कहिले सडक एकतर्फी त कहिले बन्द नै गर्नुपरेको छ।

गत महिना पहिरो तथा अन्य कारण उक्त सडक खण्ड तीन पटक अवरुद्ध भएको सडक विभागको तथ्याङ्कले देखाउँछ।

विश्व ब्याङ्कको ऋण सहयोगमा झन्डै तीन वर्ष अघि उक्त सडक खण्डको पुनर्स्थापना तथा पुनर्निर्माण कार्य सम्पन्न गरिएको थियो।

लगत्तै सडकसँगको भिरालो भू बनोट संरक्षण गर्नका लागि पुन: विश्व ब्याङ्ककै सहयोगमा मूल्याङ्कन गरी २६ स्थानमा त्यसको काम सुरु गरिएको थियो।

सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालका अनुसार ती २६ स्थानमध्ये २४मा काम सम्पन्न भइसकेको छ।

बाँकी दुई स्थानमा गत आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने आफूहरूको योजना रहे पनि कोभिड-१९ महामारीका कारण सफल हुन नसकेको अधिकारीहरूको भनाइ छ।

नारायणघाट-मुग्लिन सडकको एक पहिरोग्रस्त क्षेत्र

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, अर्बौँ रुपैयाँ खर्च गरेर स्तरोन्नति गरिएको नारायणघाट-मुग्लिन सडक खण्डमा यो वर्षको मनसुनी वर्षाका कारण पहिरो आउँदा पटक पटक अवरुद्ध बनेको छ

हाल समस्या चार किलोमिटर, १४ किलोमिटर र २० किलोमिटर भनेर चिनिने स्थानहरूमा रहेको बताइएको छ।

''जुन जुन स्थानमा हामीले संरक्षणका कामहरू गर्‍यौँ त्यो ठाउँमा अहिले अप्ठ्यारो भएको छैन। काम भइरहेको एक ठाउँमा मात्रै पहिरो गएर अलिकति समस्या आएको छ,'' उनले भने।

''तर यो मनसुनको समयमा तीन ठाउँमा बाढी पहिरोले अवरोध सृजना भयो त्यो बिलकुल नयाँ ठाउँहरूमा भएको हो। हामीले तीन वर्ष अगाडि त्यसको मूल्याङ्कन गर्दा यो ठाउँ चाहिँ 'ओभरलुक' (बेवास्ता) भएको वा त्यो बेलामा नदेखिएको ठाउँमा अहिले पहिरो गएको देखिन्छ।''

त्योमध्ये एक स्थानमा शाखा सडक निकाल्दा भिरालो भू बनोट रहेको स्थानमा पानीको व्यवस्थापन ठीकसँग नभएका कारण पहिरो गएको देखिएको र अर्को ठाउँमा प्राकृतिक किसिमले चट्टान झरेर पहिरो गएको नेपालले जानकारी दिए।

''स्थानीय निकायहरूले हामीसँग सम्पर्क र समन्वय नगरीकन पहुँच मार्ग खोल्दा समस्या सृजना भएको हो,'' उनले भने।

त्यसबाहेक माथिल्लो भागमा जग्गा प्लटिङ गर्ने कार्य र तीव्र वर्षा पनि कारक भएको बताइएको छ।

नेपालमा सार्वजनिक सडक ऐन अनुसार शाखा सडक खोल्दा सडक विभागसँग समन्वय र अनुमति लिनुपर्ने प्रावधान राखिएको भए पनि प्राय: त्यस्तो नगरिने गरिएको अधिकारीहरू बताउँछन्।

कति गम्भीर हो समस्या?

३२.५ किलोमिटर लामो उक्त सडक खण्ड पुनर्स्थापनामा लगभग ३ अर्ब रुपैयाँ खर्च भएको अधिकारीहरूको भनाइ छ।

जलबिरेको पहाडी खण्ड

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, नारायणघाट-मुग्लिन खण्डमा जाने पहिरोले सवारी आवागमनमा असर पार्ने गरेको छ

त्यसपछि २६ स्थानमा भिरालो जमिन संरक्षणमा लगभग ३६ करोड लगानी भएको बताइएको छ।

हाल उक्त सडक खण्डमा देखिएको समस्याको स्तरबारे अहिले नै केही भनिहाल्न नमिल्ने अवस्था रहेको नेपाल बताउँछन्।

वर्षा कम भएपछि यसबारे अध्ययन गर्ने आफूहरूको तयारी रहेको उनले जानकारी दिए।

सडक विभागले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका सहितका अन्य दातृ निकायहरूलाई समेत अध्ययन गरेर निकास के हुन सक्छ भनेर निष्कर्ष निकालिदिन अनुरोध गरिने जानकारी दिए।

तीन वर्ष लगाएर सम्पन्न भएको सडक पुनर्स्थापनाको कार्य पश्चात् गत आर्थिक वर्षमा २४ स्थानमा भिरालो जमिन संरक्षणको काम सम्पन्न भएको हो।

के भन्छन् विज्ञ

सरकारी भनाइसँग पूर्वाधारविद् सूर्यराज आचार्य सहमत छैनन्।

सडक विभागमा आवश्यक पर्ने जनशक्ति उपलब्ध नहुँदा यस्तो समस्या पटक पटक नेपालका सडक तथा राजमार्गहरूमा देखिने गरेको उनी बताउँछन्।

नारायणघाट-मुग्लिन सडकको एक पहिरोग्रस्त क्षेत्र

सरकारी सेवामा प्रवेश गरेपछि इन्जिनियरहरू परियोजना व्यवस्थापन र पछि गएर नीति र योजना निर्माण लगायतका प्रशासनिक काममा केन्द्रित हुने गरेको उनको बुझाइ छ।

''त्यसले गर्दा पूर्वाधारहरूमा जुन आधारभूत इन्जिनियरिङ पक्ष हो त्यो हाम्रो आन्तरिक हिसाबमा त एकदमै फितलो भएको छ,'' आचार्यले भने।

हाल अन्तर्राष्ट्रिय परामर्शदाताहरूले गर्ने कार्य विगतमा विभाग अन्तरगतकै इन्जिनियरहरूले गर्ने गरेको भए पनि पछिल्लो समय त्यो क्षमतामा ह्रास आएको उनको अनुभूति छ।

मुग्लिन नारायणगण खण्डमा हालै खसेको पहिरो
तस्बिरको क्याप्शन, मुग्लिन नारायणगण खण्डमा हालै खसेको पहिरो

मुग्लिन-नारायणगढ सडक खण्डमा बाटो चौडा गर्ने, कलभर्ट बनाउनेभन्दा भिरालो भागलाई स्थिर बनाउनु प्रमुख समस्या रहेको विषय ''सामान्य इन्जिनियरले समेत थाहा पाउने'' आचार्यको भनाइ छ।

''अहिले त यस्तो प्रविधि आइसकेको छ कि त्यहाँ भन्दा माथिको हरेक ढुङ्गा र पहराको अवस्थिति कस्तो छ, यति पानी पर्‍यो भने त्यो के हुन्छ भनेर 'म्यापिङ्ग' गर्न सकिन्छ,'' उनले भने।

तर पहाडमा धेरै बाटो रहेको देशमा भौगर्भिक इन्जिनियरको दरबन्दी समेत नरहेको अवस्था रहेकाले त्यस्ता विभिन्न पाटाहरू ओझेलमा पर्ने गरेको आचार्य बताउँछन्।

जापानको सहयोगमा निर्माण गरिएको सिन्धुलीको सडकमा भिरालो भाग स्थीर बनाउने काम समस्याको रूपमा रहेको भए पनि उनीहरूले त्यसको एक विश्वविद्यालयमा व्यापक अध्ययन गराएर काम अघि बढाइएकाले समस्या नदेखिएको उनको भनाइ छ।