जापानी राजकुमारी माकोले प्रेमीसँग बिहे गरिन्, शाही पदवी गुम्यो

माको र कोमुरो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मङ्गलवार आयोजित प्रेस कन्फरेन्समा दुवै जना बोलेका थिए

जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छन्। सर्वसाधारण नागरिकसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको छ।

कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए।

जापानको कानुनअनुसार "जनता"सँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर पुरुष सदस्यको हकमा भने त्यसो हुँदैन।

राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि उनले अवलम्बन गरिनन्। अनि राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि उनले अस्वीकार गरिन्।

यी दुवै कुरा परित्याग गर्ने उनी जापानी राजपरिवारकी प्रथम महिला सदस्य हुन्।

नवविवाहित दम्पती अमेरिका गएर बस्ने अनुमान गरिएको छ। कोमुरो अमेरिकामा वकिल छन्।

माकोको विवाह र त्यससँग सम्बन्धित निर्णयहरूलाई ब्रिटिश राजकुमार ह्यारी र मेगन मार्कलको कदमसँग दाँजिएको छ। केहीले उनीहरूलाई "जापानका ह्यारी र मेगन" को सङ्ज्ञा दिएका छन्।

उनको सम्बन्ध जापानी राजकुमारीसँग भएको घोषणा गरिएपछि कोमुरोलाई पनि मार्कलको जस्तै चियोचर्चो गरिएको थियो। जापान फर्किएको बेला उनले पालेको कपालका कारण कोमुरोको आलोचना भएको थियो।

जापानी राजकुमारीसँग बिहे गर्न लागेका व्यक्तिका लागि त्यस्तो केशराशि अशोभनीय भएको केहीको भनाइ थियो।

राजकुमारी माको

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राजकुमारी माको मङ्गलवार बिहान टोक्योस्थित निवासस्थानबाट बाहिरिएकी हुन्

राजकुमारी माको मङ्गलवार स्थानीय समयानुसार बिहान १० बजे टोक्योस्थित आफ्नो निवासबाट विवाह दर्ता गर्न बाहिर निस्किएकी थिइन्।

त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर अभिवादन गरेकी थिइन्।

दरबारबाट बाहिर निस्किनुअघि उनले आफ्नी बहिनीलाई अँगालो हालेको क्योदोमा प्रकाशित समाचारमा उल्लिखित छ।

क्षमायाचना र दुःख

माको र कोमुरोले मङ्गलवार नै एउटा प्रेस कन्फरेन्स गेरका छन्।

आफ्नो विवाहबाट कसैलाई कुनै असुविधा पुगेको भए त्यसप्रति माकोले क्षमायाचना गरेकी छन्।

माको र कोमुरो

तस्बिर स्रोत, Getty Images

"उत्पन्न असुविधाप्रति म धेरै दुःखी छु अनि जसले मलाई सहयोग गरिरहे तीप्रति म कृतज्ञ छु," जापानी प्रसारक एनएचकेले उनलाई उद्धृत गरेको छ।

"मेरा लागि केइ अपरिवर्तनीय छन्, विवाह हाम्रा लागि आवश्यक छनोट थियो।"

कोमुरोले माकोलाई आफूले प्रेम गरेको र उनीसँग जीवन व्यतीत गर्न चाहेको बताए।

"म माकोलाई माया गर्छु। हामीसँग एउटा जीवन छ अनि म हामीलाई माया गर्नेसँग यो (जीवन) व्यतीत गर्न चाहन्छु," एएफपीले उनलाई उद्धृत गरेको छ।

"मिथ्या आरोपका कारण माको नराम्रो मानसिक र शारीरिक स्थितिमा पुगेकोमा मलाई दुःख लाग्छ," उनले भने।

माको र कामुरोबारे केही वर्षदेखि सञ्चारमाध्यममा धेरै विवरणहरू प्रकाशित भएका छन्।

त्यसबाट उनलाई पोस्ट-ट्रोम्याटिक स्ट्रेस डिस्अर्डर भएको यसअघि जापानको राजपरिवारसम्बन्धी विषय हेर्ने इम्पीरीअल हाउसहोल्ड एजन्सीले जनाएको थियो।

जापान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, केही मानिसले माको र कामुरोको विवाहको विरोध पनि गरेका थिए

बिहेमा विलम्ब

कोमुरोसँग उनको बिहेको कुरो सन् २०१७ मा छिनिएको थियो। त्यतिबेला त्यसको एक वर्षपछि बिहे गर्ने कुरो थियो।

तर कोमुरोकी आमा एउटा आर्थिक विवादमा परेको समाचार प्रकाशित भएपछि बिहे पछि सर्‍यो।

कोमुरोकी आमाले पहिला उनको आफ्नै बिहे गर्न कुरा चलेका व्यक्तिसँग ऋण लिएको तर नतिरेको समाचार त्यतिबेला आएको थियो।

राजकुमारी माको र कोमुरो कलेका सहपाठी हुन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राजकुमारी माको र कोमुरो कलेजका सहपाठी हुन्

राजदरबारले उक्त विवादका कारण बिहे सरेको भन्ने दाबीको खण्डन गरेको थियो।

यद्यपि युवराज फुमिहितोले आफ्नी छोरीको बिहेअगाडि नै पैसासम्बन्धी कुरो टुङ्गिनु महत्त्वपूर्ण भएको टिप्पणी गरेका थिए‍।