नेपाल मौसम: सुदूरपश्चिममा ठूलो क्षति, २२ जना पहिरोमा हराइरहेको गृह मन्त्रालयको भनाइ

उद्धार कार्य

तस्बिर स्रोत, Armed Police Force

नेपालमा जारी वर्षाका कारण कम्तीमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा एउटै गाउँका २२ जना पहिरोमा हराइरहेको अधिकारीहरूले जनाएका छन्।

गृह मन्त्रालय अन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार डोटी र सुनसरीमा दुई-दुई जना र कालिकोट अनि डडेलधुरा जिल्लामा एक एक जनाले ज्यान गुमाएका छन्।

अन्य पाँच जना घाइते भएको बताइएको छ। जारी वर्षाले सबैभन्दा बढी असर सुदूरपश्चिम प्रदेशमा पारेको छ।

क्षति कति?

नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार त्यहाँ पहाडी जिल्ला जोड्ने लगभग सबै सडकहरू अवरुद्ध छन्।

महेन्द्रनगरमा बढी डुबान देखिएको र महाकाली नदीमा पानीको सतह खतराको विन्दुमा पुगेको उनले बताए।

महकाली

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ओदालीस्थित निर्माणाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा क्षति पुर्‍ायाएको छ

उक्त क्षेत्रबाट जोखिममा रहेका एक सय पचास परिवार मध्ये एक सय परिवारलाई सुरक्षित ठाउँमा सारिएको र अन्यलाई पनि सार्ने काम भइरहेको उनले बताए।

त्यसबाहेक बैतडी जिल्लामा सेती नदीको किनारमा रहेको एउटा गाउँ जोखिममा रहेको विवरण आएपछि करिब ६० जनाको प्रहरी टोली घटनास्थलमा गइरहेको उनले जानकारी दिए।

बझाङ जिल्लाको सदरमुकाम समेत बाढीले प्रभावित भएको छ र त्यहाँको बसपार्कमा नदीले कटान गरेको प्रहरी प्रवक्ता कुँवरको भनाइ छ।

उनले भने, "धेरै ठाउँमा सञ्चार सम्पर्क विच्छेद भएकाले के कति क्षति भएको हो भन्ने विवरण सङ्कलन हुन सकेको छैन।"

बझाङ जिल्लाको थलहरा गाउँपालिका वडा नम्बर ४ मा पहिरोमा परी २२ जना हराइरहेको भन्ने खबर आएको गृह मन्त्रालयकी सहसचिव पाण्डेले जानकारी दिइन्।

वर्षा

तस्बिर स्रोत, DHM Nepal

उनी भन्छिन्, "भर्खरै हाम्रो सुरक्षा टोली त्यहाँ पुगेको छ। अविरल वर्षाले बाटो अवरुद्ध भएको हुनाले त्यहाँ पुग्न समस्या थियो। हिँडेर टोली पुगेको हो। अहिले उद्धारमा लागेको छ।"

त्यहाँ उद्धारका लागि बुधवार हेलिकोप्टर खटाइने उनले बताइन्।

डडेलधुरा र कञ्चनपुरमा महाकाली नदीमा फसेका गरि नौ जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिइन्।

तीन ठूला नदीमा पानीको उच्च बहाव, सतर्कता अपनाउन अपिल

उनका अनुसार पछिल्लो वर्षाका कारण बेनी मुस्ताङ राजमार्ग, कर्णाली राजमार्ग, नाग्मा मुगु राजमार्ग, भीमदत्त राजमार्ग, जय पृथ्वी राजमार्ग, सङ्खुवासभा चैनपुर राजमार्गलगायत अवरुद्ध रहेका छन्।

त्यसैगरी झापा, मोरङ, सुनसरी, सप्तरी, तराई तथा चुरे भएर बग्ने साना नदीहरू, धनकुटाको तमोर नदी, कर्णालीको चिसापानी, जुम्लाको तीला नदी, डोटीको सेती नदी र डडेलधुराको महाकाली नदीमा बाढी आएको बताइएको छ।

उनले भनिन्, "कोशी, कर्णाली र महाकाली नदीमा पानीको बहाव धेरैमाथि पुगेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।"

बाढी पहिरो प्रभावित क्षेत्रमा राहतको व्यवस्थापन गर्न सुरक्षाकर्मी परिचालन गर्ने र हेलिकोप्टरलाई सम्भावित जोखिम रहेका स्थानमा तयार अवस्थामा राख्न निर्देशन दिइएको उनले उल्लेख गरिन्।

अहिलेको वर्षाले धेरै जिल्लामा धान बालीमा असर गरेको अधिकारीहरूले जनाएका छन्।