ब्रजिल, अमेरिका, नेदरल्याण्ड र भारतका सांसदहरूलाई दिइने सुरक्षा

डच प्रधानमन्त्री मार्क रुट

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, काम सम्बन्धी बैठकमा भाग लिन डच प्रधानमन्त्री साइकलमा जान्छन्

ब्रिटेनका सांसद सर डेभिड एमेसको हत्याले विश्वभरिका राजनीतिकर्मीहरूले भोग्ने गरेको दुबिधालाई झल्काउँछ।

उनीहरू कसरी जनताले सहजै पहुँच प्राप्त गर्ने जनप्रतिनिधि बन्न सक्छन् र त्यसो गर्दा आफ्नो सुरक्षा कसरी कायम राख्न सक्छन्?

हामीले हाम्रा संवाददाताहरूलाई विभिन्न देशमा निर्वाचित जनप्रतिनिधिहरूले कसरी यो स्थितिको सामना गर्छन् भनेर सोधेका छौँ।

line

ब्रजिल

केटी वाट्सन, बीबीसी दक्षिण अमेरिका संवाददाता

जाइर बोल्सोनारु

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सन् २०१८ को चुनावी अभियानमा जाइर बोल्सोनारुलाई छुरा प्रहार गरिएको थियो

ब्रजिल जस्तो वृहत् देशमा कैयौँ फरक राजनीतिक वास्तविकताहरू हुन्छन्।

अमेजनजस्ता दुर्गम क्षेत्रमा औसत राजनीतिज्ञहरूलाई एकदमै थोरै वा कुनै सुरक्षा नहुने अपेक्षा गर्न सकिन्छ।

तर त्यसको अर्थ त्यहाँ सुरक्षा चिन्ताहरू हुँदैनन् भन्ने होइन किनभने शक्तिशाली आर्थिक खेलाडीहरू उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् र राजनीतिज्ञहरूविरुद्ध धम्की आउनु नौलो होइन।

तर र्‍यालीहरू सामुदायिक गतिविधिहरू हुन्। राजनीतिज्ञहरू अधिकांश अवस्थामा चिनेकै व्यक्तिहरू हुन्छन्।

दक्षिणमा रहेका ठूला सहरहरू साओ पाउलो र रियो द जनेरोमा नेताहरू सुरक्षा गार्ड र ठूलो लावालस्करसहित हिँडेको देख्ने सम्भावना बढी हुन्छ।

त्यहाँ धन र असमानता दुवै चरम छन्। ठूला व्यापारी जस्तै धनी नेताहरूले आफूलाई जोगाउँछन्।

ब्रजिल राजनीतिक रूपमा एकदमै विभाजित छ र त्यो राष्ट्रपति जाइर बोल्सोनारुको नेतृत्वमा अझै स्पष्ट भएको छ।

चुनावी अभियानमा उनीमाथि छुरा प्रहार भएको थियो र त्यसलाई उनले बन्दुक राख्न पाउने कानुनलाई खुकुलो बनाउन प्रयोग गरिरहेका छन्।

तर अन्तर्विरोधहरू प्रस्टै देखिन्छ।

हालै म राष्ट्रपतिको भवनमा जाँदा सुरक्षा अवस्था उल्लेख्य रूपमा खुकुलो नै थियो।

अमेरिका

तरा मेकेल्भी, बीबीसी वासिङ्टन संवाददाता

Steve Scalise at the congressional baseball game 2019

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गोली हमलाले रोक्न नसकेको कंग्रेसनल बेसबल खेलमा स्टिभ स्कलीसको सहभागीता

बन्दुक हिंसा र महामारीले अमेरिकामा राजनीतिज्ञहरूले आफ्ना मतदाताहरूसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने कुरामा परिवर्तन ल्याएको छ।

रिपब्लिकन र डेमोक्र्याटहरू दुवै हिंसात्मक आक्रमणको निशानामा परेका छन्।

लुइजियानाका रिपब्लिकन स्टिभ स्कलीसलाई सन् २०१७ मा कंग्रेसको टोलीका लागि बेसबलको अभ्यास गरिरहेका बेला एक जनाले गोली हानी घाइते बनाएका थिए।

सन् २०११ मा सुपर मार्केट बाहिर भएको एउटा राजनीतिक कार्यक्रममा एरिजोनाकी डेमोक्र्याट ग्याब्रिएल गिफर्डसलाई बन्दुकधारीले गम्भीर रूपमा घाइते बनाएका थिए।

त्यस्ता जोखिममा व्यक्त हुने प्रतिक्रियाहरू अधिकांश अवस्थामा दलीय आबद्धताका आधारमा हुने गर्छन्।

कतिपय डेमोक्रयाटहरूले खुला स्थानहरूमा सकेसम्म ठूला भिडहरूलाई छल्न खोज्छन् वा सुरक्षाकर्मीसहित यात्रा गर्छन्।

कैयौँ कन्जरभेटिभहरू भिडमै पस्छन् र आफ्ना समर्थकहरूसँग एकदमै नजिक गएर भेट्छन्।

रिपब्लिकनहरूले बन्दुक राख्न पाउने अधिकारको प्रवर्द्धन गर्छन् तर डेमोक्र्याटहरूले बन्दुकसम्बन्धी कडा कानुनको पक्षमा पैरवी गर्छन्।

सबै राजनीतिकर्मी जस्तो पृष्ठभूमि भए पनि एक अर्कासँग राम्रो सामाजिक सम्बन्ध राख्ने प्रयास गर्छन्।

र सबै जना देशभित्र र बाहिर आफ्ना सहकर्मी राजनीतिज्ञहरू विरुद्ध हुने हिंसाका कारण भयभीत हुने गर्छन्।

नेदरल्याण्ड

एना होलिगन, बीबीसी न्यूज, द हेग

मार्क रुट अन्य नेतासँग

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, नेदरल्याण्डका नेताहरूले सुरक्षित र सहअस्तित्व स्वीकार गर्ने समाज प्रवर्द्धन गर्न चाहेको बताउका छन्

प्रधानमन्त्रीले आरामले संसद् भवनसम्म साइकलमा यात्रा गरिरहेको दृश्यले नेदरल्याण्ड सुरक्षा, शान्ति र सहअस्तित्व स्वीकार गर्ने देश भएको सङ्केत दिन्छ।

तर निकै प्रशंसा पाएको उनको स्वतन्त्रतालाई हालै नियन्त्रण गरिएको छ। प्रधानमन्त्री मार्क रुटलाई हत्या गर्ने योजना बनाएको आशङ्कामा एक जना २२ वर्षका व्यक्ति प्रहरीको नियन्त्रणमा छन्।

अघिल्लो हप्ता दुई जना नेताहरूलाई मार्ने धम्की सहितको पोस्ट फेसबुकमा राखेका कारण अर्का डच व्यक्ति अदालतमा उपस्थित भएका थिए।

र दुई दशकअघि एक जना पशु अधिकारकर्मीले डच नेता पिम फोर्टानको हत्या गरेका थिए।

डच सांसदहरूले निर्वाचन क्षेत्रमा गएर यूकेमा जस्तो भेटघाट गर्दैनन् किनभने त्यहाँ त्यस्तो विभाजन छैन।

र उनीहरूले योजनाबद्ध वा सार्वजनिक विज्ञापन गरिएको कार्यक्रममा नियमित रूपले भाग पनि लिँदैनन्। उनीहरू सर्वसाधारणसँग भेटघाट गर्छन् तर अनौपचारिक हिसाबले।

इस्लाम विरोधी नेता ख्रिट विल्डर्स जस्ता एकदमै थोरै नेताहरुले सुरक्षा लिएका छन्।

बहुसङ्ख्यक आफ्नो काम गर्दा खासै ठूलो जोखिम नरहने कुरामा विश्वास गर्छन्।

भारत

विकास पाण्डे, बीबीसी न्यूज, दिल्ली

विश्वकै ठूलो लोकतन्त्र भनिने भारतमा सांसद बन्नु भनेको तपाईँले विशेषाधिकार पनि पाउनु हो। त्यसमा सुरक्षा पनि एउटा हो। अधिकांश सांसदहरूसँग हतियारसहित कम्तीमा एक जना सुरक्षाकर्मी हुन्छन्।

तर सबै सांसदहरूको तह एउटै हुँदैन। र सुरक्षाको जोखिम हेरेर विशेष जोखिम रहेका सांसदहरूलाई त्यसको मूल्याङ्कन गरी केन्द्रीय गृहमन्त्रालयले सुरक्षाकर्मी उपलब्ध गराउँछ।

राज्यका प्रहरीहरूले पनि सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जाँदा सुरक्षा दिन्छन्। त्यो पनि सुरक्षाको जोखिम र उसको प्रभावलाई हेरेर निर्धारण हुन्छ।

अधिकांश सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा दलबल सहित बैठकहरू गर्छन् त्यसमा उनीहरूका समर्थक र बेला बेलामा निजी सुरक्षा गार्डहरू पनि लैजान्छन्।

एउटा प्रमुख राज्यका पूर्व प्रहरी अधिकारीले भने अनुसार बढी सुरक्षा उपलब्ध हुनु कतिपय मन्त्री र सांसदहरूलाई प्रतिष्ठाको विषय हो। त्यसले गर्दा कतिपय अवस्थामा राम्रो सुरक्षा चाहिएका नेताको सट्टा अरूले सुरक्षाकर्मी लिइरहेका हुन्छन्।

हालैका वर्षमा आक्रमणहरू भएका छन् र त्यो कालो छ्याप्ने र झापड हान्नेमै सीमित छन्। चुनावी अभियानका समयमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई गालामा झापड हानिएको थियो।

तर विगतमा हिंसात्मक आक्रमणमा पूर्व प्रधानमन्त्रीहरू इन्दिरा गान्धी र राजीव गान्धी सहित कैयौँ नेताहरूले ज्यान पनि गुमाएका छन्।