कोभिड नेपाल: चाडबाडको मुखैमा आवतजावत निकै खुकुलो हुने कदमहरू के आधारमा चालिएका हुन्?

पाहुना

तस्बिर स्रोत, RSS

यसै साताबाट दसैँलक्षित बसको टिकेट बुकिङ खुला गरिनुका साथै सरकारी निकायबाटै पोखरामा कूटनीतिज्ञहरूलाई भेला पारेर 'नेपाल खुलेको' सन्देश दिइएको छ।

यसबाट सरकारले कोरोनाभाइरस महामारीबाट नेपालमा आवतजावतलाई सामान्य अवस्थामा फर्काउन खोजेको देखिएको छ।

सामान्य अवस्थामा दसैँका बेला बीस लाखभन्दा धेरै मानिसहरू काठमाण्डू छाड्ने प्रवृत्ति रहेकामा गत वर्ष कोभिडका कारण बसका अग्रिम टिकेट बुकिङ खुला गरिएको थिएन।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पछिल्ला दिनमा कोभिड सङ्क्रमण 'सुधारात्मक र स्थिर' देखिए पनि 'अवस्था जोखिममुक्त भई नसकेको' बताउँदै मानिसहरूलाई व्यक्तिगत रूपमा सचेत रहन अनुरोध गरेका छन्।

"कोभिड सुरु भएपछिको अवस्थालाई हेरेर व्यक्तिको भूमिका राम्रो हुनसक्छ भन्ने सोचका भरमा जनजीवन खुकुलो पारिएको हो," सह-प्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्।

"कोभिड पुष्टि हुने पछिल्लो क्रमलाई मात्र हेरेका भरमा सङ्क्रमण घटेको वा जोखिम घटेको निष्कर्षमा जानु भने हुँदैन।"

'जनजीवन सधैँ थुन्न सकिन्न'

आइतवार मात्र कोभिड सङ्क्रमित हुने दर नेपालमा झन्डै ६ प्रतिशत पाइए पनि नेपालमा अझै झन्डै २०,००० मा सक्रिय सङ्क्रमण देखिन्छ।

आन्तरिक र बाह्य आवागमनलाई नियन्त्रित गर्दै 'जनजीवनलाई सधैँ थुन्न सकिने अवस्था नहुने' भएका अब नयाँ रणनीतिमा जानु परेको स्वास्थ्य अधिकारीहरूको भनाइ पाइन्छ।

आइतवार पोखरामा नेपालस्थित विदेशी राजदूतहरूलाई भेला पारेर सुरक्षित रूपमा पर्यटन व्यवसाय सञ्चालनमा रहेको प्रत्याभूति दिन खोजिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत बताउँछन्।

आइतवार पोखरामा विदेशी कूटनीतिज्ञहरू भेला भएका थिए

तस्बिर स्रोत, RSS

"नेपालमा पर्यटकहरू धेरै आउने चार वटा उपत्यकाहरू खुम्बु, लाङटाङ, मनाङ र मुस्ताङ शतप्रतिशत खोप लगाएका छन्," बोर्डका सीईओ धनञ्जय रेग्मी भन्छन्।

"त्यहाँ जाने प्रवेशद्वारका रूपमा रहेका काठमाण्डू र पोखराजस्ता ठाउँमा काम गर्ने समेत अधिकांश पर्यटनकर्मीले कोभिड खोप लगाइसकेको अवस्था छ।"

के फरक पर्छ?

नेपालमा शरद ऋतुका तीन महिना पदयात्रा र पर्वतारोहणका लागि पर्यटकहरूले रुचाउने समयको मुखैमा सरकारले नेपाल खोप लगाएका सबै विदेशीका लागि खुला रहेको निर्णय गरेको हो।

कोभिड अघिको वार्षिक तथ्याङ्क हेर्दा उक्त अवधिमा झन्डै एकतिहाइ पर्यटक आउने गरेको देखिन्छ।

विमानस्थल

तस्बिर स्रोत, Reuters

तर यो वर्ष ढिलो उक्त निर्णय गरिँदा विदेशी पर्यटकहरू उल्लेख्य रूपमा आइहाल्ने अवस्था भने नदेखिने पर्यटन व्यवसायीहरू बताउँछन्।

कोभिड महामारीकाबीच सन् २०२० मा झन्डै दुई लाख ३० हजार विदेशी नेपाल आएकामा यो वर्ष अहिलेसम्म उक्त सङ्ख्या एक लाखभन्दा कम रहेको सरकारी विवरणले देखाउँछ।

नेपालले अनअराइभल भीसामा सहज पारे तापनि स्रोत मुलुकहरूका देशहरूसम्बन्धी आफ्नै सूचीहरू समेत रहने गर्छन्।

जसले गर्दा अहिले नै बाह्य पर्यटकबाट धेरै आशा नगरीकन आन्तरिक पर्यटकलक्षित प्याकेजहरू पर्यटन व्यवसायीहरूले जारी गरेको देखिन्छ।

दसैँको आउजाउमा 'चाप देखिन्न'

बस टिकेट

तस्बिर स्रोत, RSS

सोमवारबाट दसैँका लागि अग्रिम बुकिङ खुला गरिए पनि पहिलो दिनको अवस्था हेर्दा यो पटक उल्लेख्य चाप नपर्ने देखिएको व्यवसायीहरू बताउँछन्।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका महासचिव सरोज सिटौला भन्छन्, "अरू बेलाको तुलनामा आधा मात्र यात्रुहरू यस पटक काठमाण्डू छाड्ने यात्रु हुन सक्छन्। पहिलो दिन खासै चाप देखिँदैन।"

कोभिडलाई ध्यानमा राखेर भिड बढ्ने अवस्थाका लागि उपत्यकाभित्र झन्डै एक दर्जन ठाउँबाट टिकेट काट्न सकिने व्यवस्थाका लागि आफूहरू तयार रहेको महासङ्घका सिटौला बताउँछन्।

"सरकारसँग छलफल गरेरै हामीले यात्राभर मास्क अनिवार्य पार्ने, बीच बाटोबाट सीटबाहेक यात्रु नचढाउने, कनट्याक्ट ट्रेसिङ गर्नुपर्ने अवस्थाका लागि स्पष्ट ठेगाना र फोन नम्बर अनिवार्य टिपेर मात्र टिकेट बिक्रीजस्ता जस्ता उपाय चालेका छौँ।"

सामाजिक दूरी के हुन्छ?

आइतवार पोखरामा विदेशी कूटनीतिज्ञहरू भेला भएका थिए

तस्बिर स्रोत, RSS

गत वर्ष नै पर्यटन बोर्डले व्यवसायीहरूका लागि सङ्क्रमण फैलन नदिनका लागि भन्दै एउटा मापदण्ड सार्वजनिक गरेको थियो।

जसमा आरोहण वा पदयात्राका समूह १५ जनाभन्दा बढीको हुन नपाउनेदेखि रेस्टुराँहरूमा दूरी र नियमित निसङ्क्रमण गर्नेजस्ता कुराहरू समेटिएका थिए।

स्वास्थ्य-सरसफाइलाई प्राथमिकतामा राखिएको उक्त मापदण्ड सधैँका लागि उपयोगी हुने बताएका पर्यटन बोर्डका सीइओ रेग्मी भन्छन्, "तर पनि सामाजिक दूरीका हकमा पहिलेजस्तो दुई-तिन मिटर दूरी नराखेर आपसमा नटाँसिने र मास्क अनिवार्य प्रयोग गर्ने गरी मिलाइएको छ।"

मन्त्रालयका डा. अधिकारीले खोप लगाएका वा पहिल्यै सङ्क्रमित भएर प्रतिरोधी शक्ति विकास गरेकाको हकमा पुनः लक्षण देखिने वा सिकिस्त बिरामी पर्न अवस्था नरहे तापनि तिनमा भाइरस रहेर अन्यत्र सर्न सकिने अवस्थाबाट सजग हुनुपर्ने बताउँछन्।

"चाडबाडका बेला खासगरी तिनै खोप लगाएका वा नलगाएका बालबालिकाबाट कमजोर अवस्थाका मानिसमा भाइरस सर्न सक्छ। सक्दो परिचित र सानो समूहमा मात्र रमाउनु राम्रो हुन्छ।"