कोभिड महामारीः नेपाल आउजाउबारे नयाँ आदेश, अब के कस्ता शर्त पूरा गर्नुपर्छ

विमानस्थल

तस्बिर स्रोत, Reuters

सरकारले विदेशबाट नेपाल आउने र नेपालबाट बाहिरिने यात्रुहरूको यात्रा व्यवस्थापनबारे नयाँ आदेश जारी गरेको छ।

मन्त्रिपरिषद्‌ले पारित गरेको "विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८" लाई संस्कृति, पर्यटन तथा नागरिक मन्त्रायलले बिहीवार अपराह्न प्रकाशित गरेको हो।

"त्यो आदेश आजैको मितिबाट लागु भएको छ," मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले भने।

पर्यटन व्यवसायीहरूले अन-अराइभल भिसा खुला गर्नुपर्ने माग गर्दै आएको पृष्ठभूमिमा पर्यटन क्षेत्रका लागि पनि पछिल्लो निर्णय सुखद हुने अधिकारीहरूको विश्वास छ।

"निश्चय नै यो अन-अराइभल भिसाले पर्यटकहरूको आवागमनलाई सहजीकरण गर्छ र भिसा प्रक्रिया सरलीकृत हुँदा नेपाल आउन पर्यटकहरूमा पनि उत्प्रेरणा बढ्छ, " प्रवक्ता अधिकारीले थपे।

सरकारी आदेश अनुसार प्रचलित कानूनबमोजिम अन-अराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड खोपका मात्रा पूरा गरेका नागरिकलाई अन-अराइभल भिसा दिइनेछ।

त्यस्ता विदेशी नागरिकले नेपालको अध्यागमन प्रवेशबिन्दुमा भिसाका लागि आवेदन गर्दा भिसाका लागि आवश्यक अन्य कागजपत्रका अतिरिक्त निम्न कुरा पेश गर्नुपर्ने आदेशमा उल्लेख छः

  • कोभिड खोपको पूर्ण मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण,
  • हवाई उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट भएको प्रमाण,
  • पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सो सम्बन्धी अनुमतिको प्रतिलिपि,
  • नेपालमा होटल बुक गरेको प्रमाण।

प्रवेशबिन्दुमा एन्टिजन परीक्षण

विमानस्थल

तस्बिर स्रोत, RSS

नयाँ व्यवस्था अनुसार नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकको नेपालस्थित अध्यागमन प्रवेशबिन्दुमा एन्टिजन परीक्षण गर्नुपर्ने हुन्छ।

परीक्षणबाट पोजिटिभ देखिएमा अनिवार्य रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको आइसोलेशन वा अस्पतालमा पठाउनुपर्ने हुन्छ।

एन्टिजन परीक्षणबाट नेगेटिभ देखिएपछि मात्र होटलबाट बाहिर जान दिइने उल्लेख छ।

नेपाल प्रवेश गरेपछि विदेशी नागरिकले पालना गर्नुपर्ने शर्तः

  • अनिवार्य रूपमा आफ्नै खर्चमा होटल क्वारन्टिनमा बस्नुपर्ने हुन्छ
  • कोभिड परीक्षण गर्दा वा आइसोलेशनमा बस्दा तथा बीमा लगायत अन्य खर्च विदेशी नागरिकले नै बेहोर्नुपर्छ
  • नेपाल भ्रमणमा रहेका सबै विदेशी नागरिकले कोभिडका लक्षण देखिएमा तत्काल परीक्षण गराउनुपर्छ र पोजिटिभ रिपोर्ट आएमा आइसोलेशनमा बस्नुपर्ने हुन्छ।

सरकारले नेपाली वा गैरआवासीय नेपालीहरूको आउजाउका लागि पनि शर्तहरू निर्धारण गरेको छ।

कोभिड खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएका विदेशमा बसोबास गरिरहेका वा विदेश भ्रमणमा रहेका अथवा वैदेशिक रोजगारीमा गएका नेपाली हवाई उडानमा चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट भएको प्रमाण र नेपाल आउने व्यक्तिले भर्नुपर्ने फारम भरी त्यसको प्रिन्ट प्रति साथमा राख्नुपर्ने हुन्छ।

त्यस्ता व्यक्ति प्रवेश गर्दा कोभिडका लक्षण नभएमा गन्तव्यमा जान दिइनेछ।

कूटनीतिक नियोग वा अन्य निकाय सम्बद्ध व्यक्तिहरू पनि नेपाल आउँदा त्यस्तै शर्तहरू पालना गर्नुपर्ने अधिकारीहरूले बताएका छन्।