अफगानिस्तान: तालिबानद्वारा हेलमन्ड प्रान्तमा दाह्री काट्नमा प्रतिबन्ध

अफगानिस्तान

तस्बिर स्रोत, Getty Images

तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाएको छ।

उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ।

राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका छन्।

उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको छ।

तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो।

गत महिना सत्ता आफ्नो हातमा लिएयता तालिबानले विपक्षीविरुद्ध कडा कारबाही गर्दै आएको छ।

अफगानिस्तान

तस्बिर स्रोत, Getty Images

शनिवार तालिबानका लडाकुहरूले चारजना सन्दिग्ध अपहरणकारीहरूलाई गोली हानेर मारिदिएका थिए र उनीहरूले शरीर हेरात राज्यको सडकमा झुन्ड्याइएको थियो।

दक्षिणी हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले नाऊहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख गरिएको छ।

''कसैसँग पनि गुनासो गर्ने अधिकार छैन,'' बीबीसीले देखेको सूचनामा उल्लेख छ।

''लडाकुहरू आइरहन्छन् र हामीलाई दाह्री मिलाउन रोक्न निर्देशन दिइरहन्छन्,'' काबुलस्थित एक नाऊले भने।

''तीमध्ये एकजनाले हामीलाई पक्रन खुफिया निरीक्षक पठाउनसक्ने बताए।''

सहरकै ठूलो सैलुनका सञ्चालन समेत रहेका एक नाऊले आफूलाई सरकारी अधिकारी बताउने कसैले फोन गरेको बताए।

उनीहरूले ती नाऊलाई ''अमेरिकी शैली पच्छाउन बन्द गर्न'' भने र कसैको पनि कपाल मिलाउने वा काट्ने कार्य नगर्ने भने।

हेरातमा गस्ती गर्दै तालिबान लडाकु

तस्बिर स्रोत, Reuters

केही दिनअघि मात्रै तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएका थिए।

हाल कारागार प्रमुख रहेका मुल्लाह नुरूद्दीन तुराबीले अङ्ग काट्नेसम्बन्धी सजाय "सुरक्षाका लागि आवश्यक" भएको समाचारसंस्था एपीलाई बताएका हुन्।

तर त्यस्ता सजायहरूको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरूमा नगरिने उनले बताए। सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेका थिए।

Presentational grey line

तालिबानको तीव्र आरोह

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा
  • सेप्टेम्बर: तालिबानद्वारा नयाँ सरकार घोषणा
Presentational grey line
भिडिओ क्याप्शन सुरु हुँदैछ, तालिबानको लागि पन्जशिर उपत्यका हात पार्नु किन महत्त्वपूर्ण?