बिटकोइनः मुद्रासरह कानुनी मान्यता पाउन लागे पनि एल् साल्भाडोरमा संशय बाँकी

बिटकोइन

तस्बिर स्रोत, Getty Images

बिटकोइनलाई मुद्राको कानुनी मान्यता दिने पहिलो देश बन्न लागेको मध्यअमेरिकी राष्ट्र एल् साल्भाडोरमा क्रिप्टोकरेन्सीको प्रयोगबारे आशङ्काहरू उत्पन्न भएका छन्।

एल् साल्भाडोरले आगामी मङ्गलवारबाट बिटकोइनलाई मुद्रासरह कानुनी मान्यता दिन लागेको छ।

त्यहाँको सरकारले यो कदमले आर्थिक समृद्धि र रोजगारी वृद्धि हुनसक्ने दाबी गरेको छ।

तर सर्वेक्षणहरूले सर्वसाधारण नागरिकहरू अझै बिटकोइन प्रयोगका लागि तयार भइनसकेको देखाएका छन्।

बिटकोइनलाई मान्यता दिने निर्णयविरुद्ध विश्व ब्याङ्कले समेत चेतावनी जारी गरेको छ।

विश्लेषकहरूले सरकारको निर्णयलाई "अधिनायकवादी सत्ता" बाट भएको "ध्यान तान्न खोज्ने कदम"को सङ्ज्ञा दिएका छन्।

बिटकोइन

तस्बिर स्रोत, Getty Images

गत जुन महिनामा त्यहाँको संसद्ले क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिने पक्षमा मतदान गरेको थियो।

नयाँ बिटकोइन कानुनका अनुसार अब व्यवसायले सामान अनि सेवाका लागि भुक्तानीमा अमेरिकी डलरसरह बिटकोइन स्वीकार गर्नुपर्छ।

साल्भाडोरले अमेरिकी डलरलाई देशको आधिकारिक मुद्राको रूपमा प्रयोग गर्दै आएको छ।

बिटकोइनलाई अमेरिकी डलरमा रूपान्तरण गर्न देशभरि २०० वटा उपकरणहरू जडान गर्न लागिएको बताइएको छ।

अनलाइन एप्लिकेशनमार्फत् प्रयोग हुने राष्ट्रिय मोबाइल वालेट प्रयोगका लागि मानिसहरूलाई प्रोत्साहित गर्न त्यहाँको सरकारले वालेट प्रयोगकर्तालाई ३० अमेरिकी डलरबराबरको बिटकोइन सित्तैमा दिने बताएको छ।

तर बिटकोइनलाई कानुनी मान्यता दिने घोषणादेखि नै एल् साल्भाडोर विभाजित देखिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'कम्पनी फिर्ता गर्न ४५ बिटकोइन मागे': र्‍यान्समवेअरको यस्तो आतङ्क

हालै राजधानी सान् साल्भाडोरमा भएका प्रदर्शनहरूले मानिसहरूमा यसको प्रयोगबारे विश्वास नभएको र अझै पनि क्रिप्टोकरेन्सीसँग अपरिचित रहेको देखाएको छ।

सेन्ट्रल अमेरिकन यूनिभर्सिटीले गरेको एउटा सर्वेक्षणमा सहभागी भएका १,२८१ जनामध्ये ४.८ प्रतिशतले मात्रै बिटकोइन र क्रिप्टोकरेन्सीको प्रयोगबारे जानकारी भएको बताएका थिए।

सर्वेक्षणमा सहभागी ६८ प्रतिशतले बिटकोइनलाई कानुनी मुद्रा मान्न असहमत रहेको बताएका थिए।

एल् साल्भाडोरका २० लाखभन्दा बढी मानिस देशबाहिर काम गरेर देशमा रहेका परिवारलाई रेमिट्यान्सका रूपमा पैसा पठाउँछन्।

त्यसले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा झन्डै २० प्रतिशत योगदान गर्छ।

बिटकोइनले कसरी काम गर्छ भन्ने सबैले बुझेका हुँदैनन्

तस्बिर स्रोत, Reuters

बिटकोइनलाई कानुनी मान्यता दिने निर्णयको समर्थनमा रहेकाहरूले भने विदेशबाट पैसा पठाउन सस्तो हुने बताएका छन्।

तर यसमा कतिपयको फरक बुझाइ छ।

"हालैको एक प्राज्ञिक शोधपत्रले यसको सटही खर्च झन् धेरै हुनसक्ने देखाएको छ," क्रिप्टोकरेन्सी विश्लेषक ग्लेन गुडम्यानले भने।

"यो निर्णय ससाना व्यवसाय गर्नेहरूलाई उनीहरूको इच्छाविपरीत लागु गरिएको छ। चेम्बर अफ कमर्सको सर्वेक्षणले ८२.५ प्रतिशतले यसको मूल्यमा आउने उतारचढावका कारण बिटकोइनमा विप्रेषण लिन नचाहेको बताएका थिए," उनले भने।

गुडम्यानका अनुसार राष्ट्रपति नायीब बुकेले पनि यस विषयमा चित्तबुझ्दो जबाफ दिन सकेका छैनन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सारा संसारलाई झुक्याउने जाली 'सुपरडलर' को कथा

बजार विश्लेषक नेल विल्सनका अनुसार देशका सबैभन्दा गरिबहरू यो कदमबाट सबैभन्दा कम लाभान्वित हुनेछन्।

"अर्थतन्त्रको दृष्टिमा एल् साल्भाडोर धेरै सानो छ। यो निर्णय निरङ्कुश सरकारले बाहिरी ध्यान खिच्न चालेको कदमबाहेक अरू केही देखिँदैन," उनले भने।

"सानो आकारको कारोबारका लागि खर्चालु भएका कारण बिटकोइन आन्तरिक कारोबारका लागि नराम्रो हुन्छ।"

वास्तविक बजार अर्थतन्त्रमा कुनै सम्पर्क नभएको भर्चूअल मुद्रा बिटकोइनको मूल्यमा केही वर्षयता ठुलो उतारचढाव आएको छ।

बिटकोइनको माध्यमबाट भुक्तानी नलिने एलन मस्कको टेस्ला कम्पनीको निर्णय र चीनमा भएको कारबाहीपछि गत मे महिनामा यो मुद्रा निकै कमजोर भएको थियो।

यद्यपि त्यसयता राम्रो सुधार भएर गत अगस्टमा पहिलो पटक तीन महिनामै एउटा बिटकोइनको मूल्य ५० हजार अमेरिकी डलर पुगेको थियो।

के हो क्रिप्टोकरेन्सी?

क्रिप्टोकरेन्सी भनेको डिजिटल वा भर्चूअल अर्थात् कुनै भौतिक अस्तित्व नभएका मुद्रा हो।

क्रिप्टोकरेन्सीको केन्द्रीय ब्याङ्क हुँदैन र संसारभरिका थुप्रै कम्प्युटरहरूमा राखिएको रेकर्डको आधारमा यो सञ्चालन हुन्छ।

यसबाट सरसमान किन्न वा भुक्तानी गर्न सकिन्छ।

संसारभरि क्रिप्टोकरेन्सीको प्रचलन र भाउ बढ्दै गएका कारण मानिसहरूले सुन या भौतिक मुद्रा बेचेर यसमा लगानी गर्ने चलन बढेको छ।