अफगानिस्तान: अमेरिकी सेना फिर्ता भएपछि काबुल विमानस्थल तालिबानको नियन्त्रणमा, अब कसरी होला नेपाली नागरिकको उद्धार?

अफगानिस्तानबाट उद्धार गरिएका नेपाली

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अहिलेसम्म काबुलबाट ८२८ जना नेपालीको उद्धार गरिएको नेपाल सरकारले जनाएको छ
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

अफगानिस्तानबाट दुई दशकपछि अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भए पनि त्यहाँ अझै बाँकी रहेका नेपालीहरूको उद्धार प्रयासलाई निरन्तरता दिइने नेपाली अधिकारीहरूले बताएका छन्।

अहिलेसम्म ८२८ जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयलेजनाएको छ।

अधिकारीहरूका अनुसार काबुलमा अझै पनि ३४ जना नेपालीहरू उद्धारको पर्खाइमा छन्।

तर अमेरिकासहित विभिन्न देशले अघि बढाएको उद्धार कार्य बन्द गरिएसँगै उनीहरूलाई तत्कालै नेपाल फर्काउने प्रयासमा असर पर्न सक्ने देखिन्छ।

अहिले काबुल विमानस्थल तालिबानको नियन्त्रणमा पुगिसकेको छ।

अब कसरी होला उद्धार?

अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारमा द्रुत प्रतिकार्य टोली गठन गरी दिल्लीबाट नेपाली दूतावासले सघाइरहेको बताएको छ।

नेपाली राजदूत नीलाम्बर आचार्यले अझै पनि अफगानिस्तानबाट एउटा समूहको उद्धार गर्न बाँकी रहेको बताए।

उनले भने, “हामीले करिबकरिब आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूको उद्धारको काम सम्पन्न गरेका छौँ। तर एउटा सानो समूह अझै काबुलमा नै छ। उहाँहरूको पनि आजभोलिमा नै उद्धार होला भन्ने हामीले आशा गरेका छौँ।”

उनले नेपाल सरकारको सम्पर्कमा नआएका व्यक्तिहरू अझै पनि अफगानिस्तानमा हुनसक्ने भन्दै तालिबानले काबुल विमानस्थलमा नियन्त्रण कायम गरिसकेको पछिल्लो अवस्थामा पनि उद्धारको प्रयास अघि बढ्ने उल्लेख गरे।

राजदूत आचार्य भन्छन्, “हाम्रो सम्पर्कमा जो आउनुहुन्छ उहाँहरूमार्फत् पनि अरू नेपाली छन् कि भनेर सम्पर्क गर्ने प्रयास गरिरहेका हुन्छौँ। अहिले हेर्दा हाम्रो उद्धार लगभग पूरा भएको जस्तो देखिन्छ। तर जेजति बाँकी हुनुहुन्छ उहाँहरू पनि सुरक्षित हुनुहुन्छ र उहाँहरूलाई पनि एउटा भरपर्दो कम्पनीले हेरविचार गरिरहेको छ र छिट्टै काबुलबाट बाहिर लैजान सकिने सम्भावना छ।”

हालसम्म विभिन्न देश, कम्पनी र संयुक्त राष्ट्रसङ्घीय निकायहरूको सहयोग लिएर उद्धार कार्य अघि बढाइएको अधिकारीहरूले बताउँदै आएका छन्।

राजदूत आचार्यले नेपालीहरूको उद्धारमा भारतसहित अन्य मित्रराष्ट्रबाट सहयोग प्राप्त भएको र अफगानिस्तानबाट झन्डै एक हजार नेपालीहरू यसबीचमा निस्किएको उल्लेख गरे।

अफगानिस्तानबाट उद्धार गरिएका नेपाली

तस्बिर स्रोत, EPA

के नेपाली पक्षले तालिबानसँग सम्पर्क गर्ला?

सोमवार अमेरिकाको अन्तिम उद्धार उडान काबुलस्थित हामिद कारजाई विमानस्थलबाट बाहिरिएसँगै अफगानिस्तानमा २० वर्षदेखि बसेको अमेरिकी सेनाको उपस्थिति समाप्त भएको छ।

यूकेले यसै साताको आरम्भमा आफ्नो अन्तिम उद्धार उडान सञ्चालन गरेको थियो।

परिवर्तित परिस्थितिमा पनि अझै अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गरेर स्वदेश फर्काउन सकिने राजदूत आचार्यले जानकारी दिए।

उनी भन्छन्, “धेरैसँग हाम्रो समन्वय भइरहेको छ, त्यही भएर हाम्रो काम अघि बढ्छ। उद्धार उडानहरू बन्द भएपछि रोकिन्छ भन्ने होइन। यदि कोही बाँकी रहन्छन् वा फेला पर्छन् भने त्यसको उद्धार कार्य अघि बढ्छ।"

"किनभने देश रहिरहन्छ र हाम्रो सम्पर्क भइरहन्छ। आवतजावत र उद्धार कार्य पनि भइराख्छन्।”

तालिबान सत्तासँग सम्पर्क गरेर भए पनि नेपाली नागरिकहरूको उद्धारको प्रयास जारी राखिने सङ्केत उनले दिए।

"अफगानिस्तानमा तालिबानले नयाँ सरकार गठन गरिसकेपछि पनि हामीले नजिकको सम्बन्ध राख्नैपर्छ," उनले भने, "दृष्टि पुर्‍याउनैपर्‍यो, सम्पर्क राख्नैपर्‍यो। त्यो कुन स्तरको हुन्छ भन्ने मात्रै कुरा हो।"

काबुल विमानस्थलमा तालिबान नेता

तस्बिर स्रोत, Taliban/Handout via REUTERS

तस्बिरको क्याप्शन, अमेरिकी सेना स्वदेश फर्किएपछि काबुल विमानस्थललाई तालिबान समूहले आफ्नो नियन्त्रणमा लिएको छ

यसअघि तालिबानले विदेशी सेनालाई अगस्ट ३१ सम्म हवाई उद्धार र फौज फिर्ता गर्न गर्न समयसीमा तोकेको थियो।

परराष्ट्र मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा आइतवार पाँच र सोमवार ४५ जना अफगानिस्तानबाट उद्धार गरिएका नेपाली स्वदेश फर्किएको जनाएको थियो।

उसले काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकलाई स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको जनाएको थियो।

अफगानिस्तानमा विकसित नयाँ घटनाक्रमबारे नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन।

तर परराष्ट्र मन्त्रालयका एक अधिकारीले बीबीसीसँग कुरा गर्दै त्यहाँको विमानस्थलमार्फत् उडानहरू सहज भएपछि उद्धार प्रक्रियाले गति लिन सक्ने अपेक्षा गरे।

ती अधिकारी भन्छन्, “काबुलमा हाम्रो सम्पर्कमा रहनुभएका ३४ जनालाई मात्रै स्वदेश फर्काउन बाँकी छ। उहाँहरू जोखिमको वर्गमा पर्ने भएकाले हामीले उद्धार प्रयास जारी राखेका छौँ। केही दिनमा नै अफगानिस्तानमा नयाँ सरकार पनि बन्छ त्यसले जिम्मेवारीपूर्वक व्यवहार गर्छौँ भन्ने कुरा गरिरहेको बुझिन्छ। त्यसो भयो भने अवस्था सहज हुनसक्छ।”

अफगानिस्तानमा विशेषतः पश्चिमा देशका राजदूतावास तथा विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाको कार्यालयको सुरक्षामा नेपाली गार्डहरू खटिने गरेका थिए।

सन् २०१६ को जुनमा आत्मघाती आक्रमणकारीले बम विस्फोटन गर्दा क्यानडाको राजदूतावासमा सुरक्षा गार्डका रूपमा काम गर्ने १३ जना नेपाली मारिएका थिए।

काबुलस्थित अमेरिकी राजदूतावासमा खटिएका नेपाली गार्डहरू दुई साताअघि काठमाण्डू आइपुग्दा नेपालस्थित अमेरिकी राजदूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।

काबुल विमानस्थल

तस्बिर स्रोत, Reuters

राष्ट्रसङ‍्घमा काम गर्ने नेपालीबारे के हुन्छ?

अहिले पनि काबुलमा राष्ट्रसङ्घका विभिन्न निकायमा नेपालीहरू कार्यरत छन्।

सरकारले तिनीहरूको उद्धारमा सघाउन संयुक्त राष्ट्रसङ्घसमक्ष अनुरोध गरेको बुझिन्छ।

नेपाली अधिकारीहरूले राष्ट्रसङ्घीय निकायमा कार्यरत नेपालीहरू तुलनात्मक रूपमा कम जोखिममा रहेको भन्दै त्यसरी फर्किन चाहनेको विवरण सङ्कलनको प्रयास भइरहेको उल्लेख गरेका छन्।

तालिबानले अबका केही दिनमा चाल्ने कदमहरूले राष्ट्रसङ्घीय निकायमा काम गर्ने नेपालीसहितका कर्मचारीहरूको सङ्ख्या निर्भर गर्ने कतिपय अधिकारीहरूको विश्लेषण पाइन्छ।

सरकारले अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको बताउँदै आएको छ।

तर श्रम मामिलाका जानकारहरूले कैयौँ नेपालीहरू गैरकानुनी रूपमा पनि जाने भएकाले सोभन्दा बढी सङ्ख्यामा नेपालीहरू त्यहाँ पुगेका हुनसक्ने धारणा राख्दै आएका थिए।

Presentational grey line

२० वर्षे द्वन्द्वका प्रमुख घटनाक्रम

  • सन् २००१ अक्टोबर ७: अमेरिकी नेतृत्वको गठबन्धनद्वारा तालिबान र अल-कायदाका अफगानिस्तानस्थित अखडाहरूमा बम आक्रमण। काबुल, कान्दहार र जललाबाद निसानामा एक दशक लामो सोभियत शासन र त्यसपछिको गृहयुद्धपश्चात् सत्तामा पुगेका तालिबानहरूले अल-कायदाका नेता ओसामा बिन लादेन अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेपछि हमला
  • सन् २००१ नोभेम्बर १३: गठबन्धनको साथ पाएका तालिबानविरोधी विद्रोहीहरूको समूह द नोर्दन अलायन्सद्वारा काबुल कब्जा
  • सन् २००९ फेब्रुअरी ७: अमेरिकी राष्ट्रपति बराक ओबामाद्वारा अफगानिस्तानमा खटाइएका फौजको सङ्ख्यामा उल्लेख्य वृद्धि। एक समय फौजको सङ्ख्या १ लाख ४० हजार पुगेको थियो
  • सन् २०१४ डिसेम्बर: नेटोद्वारा अफगानिस्तानको आफ्नो फौजी कारबाही अन्त्य भएको घोषणा। त्यसपछि अमेरिकाद्वारा पनि हजारौँ सैनिक स्वदेश फिर्ता। त्यहाँ बसेका अधिकांश सैनिकहरू अफगान सुरक्षाकर्मीको तालिम र सहयोगमा केन्द्रित
  • सन् २०२० फ्रेबुअरी २९: अमेरिका र तलिबानबीच अफगानिस्तानमा 'शान्ति ल्याउने सम्झौता' मा दोहामा हस्ताक्षर। लडाकुहरूले उक्त सम्झौता पालना गरे अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र सबै सैनिक फिर्ता गरिसक्ने वचनबद्धता
  • सन् २०२१ एप्रिल १३: अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ता भइसक्ने घोषणा
  • सन् २०२१ अगस्ट १६: एक महिनाभन्दा केही बढी अवधिमा तलिबानद्वारा काबुलसहित अफगानिस्तानका प्रमुख सहर र नगरहरू कब्जा। तालिबानका सामु अफगान सुरक्षा निकाय विफल
  • सन् २०२१ अगस्ट ३१: अमेरिकाद्वारा अफगानिस्तानबाट फौज फिर्ती पूरा भएको अमेरिकी घोषणा
भिडिओ क्याप्शन सुरु हुँदैछ, अस्तव्यस्त काबुल विमानस्थलभित्र यसरी पठाइयो अफगान बालिकालाई
Presentational grey line