तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपालः 'दुईतिहाइ मानिसमा एन्टिबडी' - विज्ञहरू किन भन्छन्, ‘आश गरौँ भर नपरौँ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पछिल्लो सीरोप्रेभलन्स सर्वेक्षणले देशभरिबाट सङ्कलित नमुनामध्ये ६८.६ प्रतिशतमा कोभिड-१९ को एन्टिबडी फेला परेको देखाएको छ।
अर्थात् चाहे प्राकृतिक रूपमा सङ्क्रमित भइसकेर होस् वा खोप लगाएर होस् दुईतिहाइभन्दा बढी मानिसमा कोभिडविरुद्ध प्रतिरोध क्षमता देखा परेको छ।
विगतमा समुदायमा ७० प्रतिशतभन्दा धेरै मानिसहरूमा प्रतिरोधी क्षमता विकास भएमा सामुदायिक प्रतिरोध वा हर्ड इम्यूनिटी विकास हुने र त्यसले महामारीलाई शिथिल पार्दै लाने बताइएको थियो।
त्यसो हो भने पछिल्लो नतिजालाई विज्ञहरूले के भनिरहेका छन् त?
के हर्ड इम्यूनिटी केवल मृगतृष्णा हो?
यो नतिजालाई विज्ञहरूले स्वागतयोग्य र सकारात्मक त भनेका छन् तर उनीहरूले प्रशस्त चेतावनी पनि दिएका छन्।
"यो नतिजा पक्कै पनि सकारात्मक छ। तर हामीले के भुल्नु हुँदैन भने विगतमा भारतमा यस्तै नतिजा आएलगत्तै त्यहाँ नयाँ डेल्टा भेरिअन्टले आक्रान्त पार्यो," सङ्क्रामक रोगका अनुसन्धानकर्ता एवं अक्सफर्ड विश्वविद्यालयको क्लिनिकल रिसर्च युनिट नेपालका डा. बुद्ध बस्नेतले बीबीसीलाई बताए।
"यो भाइरस असाध्यै चलाख र जोखिमपूर्ण देखिएको छ। यसलाई लिएर हामी हर्ड इम्यूनिटीको पछाडि लाग्नु बेकार छ। त्यो त मृगतृष्णा जस्तो हुनसक्छ। भारत र अमेरिकामा त्यही देखियो। त्यसैले सकेसम्म खोपबाटै सबैलाई सुरक्षित पार्ने अनि मास्क, भौतिक दूरी तथा अरू स्वास्थ्य मापदण्डमा एक रति पनि खुकुलो नहुने गर्नुपर्छ," उनले भने।
तापनि यो सर्वेक्षणको नतिजालाई आशलाग्दो रूपमा ग्रहण भने गर्न सकिने उनले बताए।
सङ्क्रमणको गति कम होला?
सीरोप्रेभलन्स सर्वेक्षणको नतिजाले देखाए जस्तै स्तरमा एन्टिबडी विकास भएको भए अब बिस्तारै सङ्क्रमणको गति पनि कम हुँदै जानुपर्ने विज्ञहरू बताउँछन्।
"वास्तवमा भाइरसहरूले देखाउने चरित्र भनेकै कुनै समय बेस्सरी बढेर अनि बिस्तारै कम हुँदै समुदायमै विलीन भएर जाने हो। त्यस कारण समयक्रममा यसको रफ्तार पनि कम होला," भाइरस विज्ञ तथा स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. वासुदेव पाण्डेले बताए।
उनी पनि सर्वेक्षणको नतिजा सकारात्मक हुँदाहुँदै पनि त्यसमै मात्र भर पर्न नहुने धारणा राख्छन्।
"गत वर्ष गरिएको पहिलो सर्वेक्षणमा जनसङ्ख्याको १४ प्रतिशत जतिमा मात्र एन्टिबडी देखिएको थियो भने यो दोस्रो सर्वेक्षणमा त्यो ६८ प्रतिशतमा देखियो। तर यो आँकडाको थप विश्लेषण गरेर मात्र ती एन्टिबडी कस्ता र कति प्रभावकारी हुन् भनेर थाहा पाउन सकिन्छ," उनले भने।
पछिल्लो नतिजाअनुसार नेपालमा डेल्टा भेरिअन्टकै एन्टिबडी त्यति तहसम्म देखिएको रूपमा मान्न सकिने उनले बताए।
तर भाइरसले गरिरहने रूप परिवर्तनमार्फत् फेरि कुनै अझ सङ्क्रामक तथा खतरनाक भेरिअन्ट आउन सक्ने जोखिम पनि रहने भएकाले यस्ता नतिजाका आधारमा स्वास्थ्य मापदण्डहरूको पालनामा कमी भने गर्न नहुने उनले बताए।
के हो सीरोप्रेभलन्स?
सीरोप्रेभलन्स सर्वेक्षण भन्नाले जनसङ्ख्यामा कुनै रोगको फैलावट कति भइसक्यो भनेर जाँच्न निश्चित सङ्ख्याका मानिसहरूको रगत परीक्षण गरेर त्यस्ता रोगविरुद्ध शरीरले प्रतिरोध गर्ने एन्टिबडी बनाएको छ कि छैन भनेर जाँच्ने विधि हो।
कोरोनाभाइरसको हकमा नेपालमा गत वर्ष नै पहिलो सीरोप्रेभलन्स सर्वेक्षण गरिएको थियो।
यो वर्ष दोस्रो लहरका बेला सरकारले विश्व स्वास्थ्य सङ्गठन लगायतको सहयोगमा असार २१ गतेदेखि साउन ३० गतेसम्म उक्त सीरोप्रेभलन्स सर्वेक्षण गरेको थियो।
सो सर्वेक्षणमा छ महिनाभन्दा बढी उमेरका १३,१६१ व्यक्ति सहभागी थिए।
"सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, सहरका सबै लिङ्ग, उमेर, पेसा, तथा सबै समूहमा लगभग समान रूपमा नै एन्टिबडी देखिएको छ," मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
उक्त विज्ञप्तिमा एक मात्रा खोप लगाएका व्यक्तिहरू ८० प्रतिशतमा अनि पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको र त्यसले "हामीले लगाइराखेका खोपहरू अत्यन्त प्रभावकारी रहेको" देखिएको पनि उल्लेख छ।
त्यसप्रति डा. बुद्ध बस्नेतले पनि सहमति जनाए।
उनले भने, "यो एकदम राम्रो कुरा हो। हामीले जतिसक्दो चाँडो खोप लगाइसक्नुपर्छ। त्यसैले हर्ड इम्यूनिटीको फन्दामा नपरीकन मापदण्ड पालना गरौँ। यो नतिजाबाट आश गरौँ तर भर नपरौँ।"