जलवायु परिवर्तन: युरोपमा गत महिना भएको अतिवृष्टि र बाढीको घटना मान्छेकै कारण भएको हुन सक्ने

तस्बिर स्रोत, Getty Images
- Author, म्याट म्याकग्रा
- Role, वातावरण संवाददाता
गत जुलाई महिनामा पश्चिम युरोपमा भएको अतिवृष्टिका निम्ति विश्वव्यापी जलवायु परिवर्तन जिम्मेवार हुनसक्ने सम्भावना धेरै भएको वैज्ञानिकहरूले बताएका छन्।
जर्मनी, बेल्जियम र अरू भागमा आएको बाढीले कम्तीमा २२० जना मानिसको ज्यान गएको थियो।
अनुसन्धानकर्ताहरूले विश्वव्यापी तापक्रम वृद्धिका कारण पश्चिम युरोपमा यस्ता अतिवृष्टिका घटना नौ गुणासम्मले वृद्धि हुन सक्ने बताएका छन्।
मानवको गतिविधिका कारण भएको पृथ्वीको उष्णीकरण वा तापक्रम वृद्धिले यो क्षेत्रमा हुने वर्षाको मात्रा ३ देखि १९ प्रतिशतले बढेको बताइएको छ।
जर्मनी, बेल्जियम र अन्यत्र नाटकीय रूपमा आएको बाढीबाट मौसमविज्ञहरू र स्थानीय तहका अधिकारीहरू समेत चकित परेका थिए।
मानिसहरू र घरहरू बगेका थिए, सडक र रेलवे लाइनमा पनि पानीको तीव्र गतिका कारण क्षति पुगेको थियो।

तस्बिर स्रोत, Getty Images
एक देखि दुईदिनसम्म परेको पानीका कारण त्यहाँ बाढी आएको थियो। त्यहाँको भौतिक संरचना र जमिन विभिन्न कारणले छोपिन पुग्दा त्यस्तो बाढी आएको बताइएको छ।
'वर्ल्ड वेदर एट्रिब्युशन' सम्बद्ध अनुसन्धानकर्ताहरू यस्ता घटनामा जलवायु परिवर्तनको प्रभाव थाहा पाउन भारी वर्षापछि भएको बाढीमा केन्द्रित भएका थिए।
पानी अनुगमन गर्ने प्रणाली कतिपय ठाउँमा पानीकै कारण ध्वस्त भएकाले उनीहरूले त्यस्तो उपाय गरेका थिए।
जर्मनीको अहर र एर्फ्ट नदी वरपर वर्षाको तथ्याङ्क तथा बेल्जियमको तथ्याङ्क अनुसार मअज क्षेत्रमा एक दिनमै ९० मिमि पानी परेको थियो।
ससाना क्षेत्रमा वर्षा बढेको पाइए पनि जलवायु परिवर्तनकै प्रभाव हो भनेर ठम्याउन वैज्ञानिकहरूलाई चुनौतीपूर्ण भएको थियो किनकी ती क्षेत्रमा हरेक वर्ष फरक फरक मात्रामा पानी पर्ने गरेको छ।
बढ्दो तापक्रमको प्रभाव मापन गर्न अनुसन्धानकर्ताहरूले आफ्नो विश्लेषणको दायरा बढाएर पश्चिमी युरोपको ठूलो भूभाग समेटेका थिए।
त्यसमा पूर्वी फ्रान्स, पश्चिमी जर्मनी, पूर्वी बेल्जियम, द नेदरल्यान्ड्स, लक्जमबर्ग र उत्तरी स्विट्जरल्यान्ड परेका थिए।

तस्बिर स्रोत, Getty Images
यो समूहले यो समग्र क्षेत्रमा मानव गतिविधिका कारण भएको जलवायु परिवर्तनले त्यो क्षेत्रमा एक दिनमा पर्ने पानीको मात्रा ३ देखि १९ प्रतिशतले बढेको पायो।
त्यसैगरी बढेको तापक्रमका कारण पानी पर्ने मात्रा बढेको र त्यसका कारण बाढी पनि १.२ देखि ९ अङ्कले बढेको पाइयो।
"गत महिनाको बाढी आउनुमा जलवायु परिवर्तनको के प्रभाव छ भन्ने जान्न विभिन्न क्षेत्रमा भएका अध्ययनबाट हामीले ज्ञान लियौँ र यो घटना कसरी विश्लेषण गर्ने भन्ने ठम्यायौँ," जलवायु अनुसन्धानकर्ता द रोयल डच मिटिअरोलोजिकल इन्स्टिट्यूटका डा सोका फिलिपले भने।

तस्बिर स्रोत, Getty Images
उनले भने, "जलवायु परिवर्तनका कारण अति भारी वर्ष हुने कुरा सानो क्षेत्रको विश्लेषण गरेर पत्ता लगाउन गाह्रो छ तर पश्चिम युरोप क्षेत्रको अध्ययन गर्दा भने त्यो तथ्य स्थापित गर्न सजिलो भयो।"
अनुसन्धानकर्ताहरूका अनुसार सामान्य अवस्थामा जुलाईमा जस्तो अति भारी वर्षा र बाढी ४०० वर्षमा एक पटक आउने गर्छ।
न्यूक्यासल युनिभर्सिटीका प्राध्यापक हेली फाउलरले भनिन् , "हाम्रो पछिल्लो जलवायु सम्बन्धी मोडलले भविष्यको झन् तातो पृथ्वीमा बिस्तारै एक ठाउँबाट अर्को ठाउँमा सर्ने तर अति भारी वर्षा गराउने प्रवृत्ति बढाउने देखिन्छ।"
"अहिलेको बाढीले मानिसहरू बदलिएको मौसम थेग्न सक्दा रहेनछन् भन्ने देखायो। हामीले जति सक्दो छिटो हरित गृह ग्यास उत्सर्जन घटाउनुपर्छ। र हाम्रा संरचना पनि मौसम थेग्न सक्ने बनाउनुपर्छ ता कि मानिसहरूको ज्यान नजाओस् र खर्च पनि कम होस्।"
अध्ययन ३९ जना अनुसन्धानकर्ता मिलेर गरेका थिए र त्यसको समकक्षीहरूबाट समीक्षा पनि गरिएको थियो।








