युरोप बाढी: कम्तीमा १२० जनाको मृत्यु, सयौँ बेपत्ता खोज्ने प्रयास जारी

बाढी

तस्बिर स्रोत, Reuters

जर्मनी र बेनेलक्स क्षेत्रमा १२० जनाभन्दा बढी व्यक्तिको ज्यान लिएको बाढीमा हराइरहेका मानिसहरूको खोज कार्यमा उद्धार टोलीहरूले लागिपरेका छन्।

ती बाढीका कारण सयौँ व्यक्तिहरू हराइरहेका छन् भने हजारौँ घरबारविहीन भएका छन्।

युरोपेली सङ्घका नेताहरूले जलवायु परिवर्तनका कारण उक्त खराब विपद् निम्तिएको बताएका छन्।

अग्रणी वैज्ञानिकहरूले खराब मौसमी गतिविधिको वास्तविक पूर्वानुमानका लागि आफूहरूलाई अब अझै शक्तिशाली कम्प्युटर आवश्यक पर्ने उल्लेख गरेका छन्।

पछिल्लो अवस्था के छ?

जर्मनी

तस्बिर स्रोत, Reuters

कीर्तिमानी वर्षाले भीषण बाढी निम्त्याएपछि जर्मनी र बेल्जियममा अझै पनि सयौँ व्यक्तिहरू बेपत्ता छन्।

स्वीट्जरल्याण्ड, लक्समवर्ग र नेदरल्याण्डमा पनि भीषण पानी परेको छ।

नेदरल्याण्डका प्रधानमन्त्रीमा देशको एउटा दक्षिणी प्रान्तमा राष्ट्रिय विपद् घोषणा गरेका छन्।

युरोपेली नेताहरूले उक्त विपद्लाई जलवायु परिवर्तनको असर भनेका छन्।

औद्योगिक युग सुरु भएयता पृथ्वीको तापक्रम करिब १.२ सेल्सियसले बढीसकेको छ।

एक सय जनाभन्दा बढीको ज्यान गएको जर्मनीमा बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुअघि राष्ट्रपति फ्राँक-भाल्टर स्टाइनमायरले क्षतिका कारण आफू 'स्तब्ध' भएको बताएका छन्।

जर्मनी

तस्बिर स्रोत, Getty Images

नर्थ राइन वेस्टफेलिया, राइनलन्ड पालाटिनेट र सारलेन्ड वर्षाका कारण सबैभन्दा नराम्रोसँग प्रभावित भएका थिए।

राइनलन्ड पालाटिनेटको आरभाइलर जिल्लाका अधिकारीले शुक्रवार १,३०० जना हराइरहेको बताएका थिए।

तर उनले प्रत्येक घण्टा उक्त सङ्ख्या घटिरहेको पनि उल्लेख गरेका छन्।

उद्धारमा बाधा

जर्मनी

तस्बिर स्रोत, Getty Images

आरभाइलरको एउटा गाउँका बासिन्दाले एएफपी समाचार संस्थालाई कारहरू बगेका र युद्धभूमि जस्तै गरी घरहरू क्षतविक्षत भएको उल्लेख गरेका छन्।

शुक्रवार जर्मनीको खराब अवस्थाका कारण उद्धार टोलीहरूको काममा बाधा पुगेको थियो।

टेलिफोन सञ्जालहरू बन्द भएका छन्। सडकहरू नराम्ररी भत्किएका छन् र लगभग एक लाख घरमा विद्युत आपूर्ति बन्द भएको छ।

बाढी

तस्बिर स्रोत, EPA

बेल्जियममा देशका १० मध्ये चार वटा प्रान्तमा खोज तथा उद्धारका लागि सेना परिचालन गरिएको छ।

त्यहाँका प्रधानमन्त्रीले जुलाई २० अर्थात् मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेका छन्।

बेल्जियममा बाढीका कारण २० जनाको ज्यान गएको छ र यसलाई हालसम्मकै खराब विपद् भनिएको छ।

बाढी

तस्बिर स्रोत, Getty Images

लिएस सहरमा अकस्मात् आएको बाढी नियन्त्रणका लागि फ्रान्स, इट्ली र अस्ट्रियाबाट उद्धारकर्ताहरू खटिएका थिए।

नेदरल्याण्डको लिम्बर्ग प्रान्तका विभिन्न सहरमा पानीको सतह बढ्दा डुबान निम्तिएपछि हजारौँ मानिसहरू घरबाट भागेका छन्।

त्यहाँ एउटा तटबन्ध पनि भत्किएको छ।

बाढी

तस्बिर स्रोत, EPA

मास्ट्रिख्ट र नजिकका कतिपय नगरमा पानीको सतह घट्दा मानिसहरू शुक्रवारबाट घर फर्कन थालेको बताइएको छ।

स्वीट्जरल्याण्डमा भीषण वर्षापछि ताल र नदीहरूमा पानीको सतह बढेको छ।

राजधानी बर्नमा बग्ने एउटा नदीको तट शुक्रवार भत्किएको थियो।

लेक लुसेर्नका कारण नगर डुबानमा परेको छ र बाजलमा बस्ने मानिसहरूलाई नदीबाट परै बस्न भनिएको छ।

बाढी

तस्बिर स्रोत, EPA