मेलम्ची बाढी: नगरपलिकाका प्रमुख भन्छन्, ‘३० अर्ब रुपैयाँभन्दा धेरैको क्षति भयो’

तस्बिर स्रोत, RSS
असार १ तथा साउन १६ गते आएका बाढीका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा मात्र ३० अर्ब रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान त्यहाँका मेयरले गरेका छन्।
"विस्तृत क्षति विवरण अझै आइरहेका छन्। कैयौँ घरजग्गा बगेका छन् भने बाटाघाटादेखि धेरै क्षति भएको छ। एक अर्ब रुपैयाँ बराबरको त नगरपालिकाको आफ्नै संरचनाहरू मात्र नोक्सान भएका छन्," नगरप्रमुख डम्बरबहादुर अर्यालले बीबीसीलाई बताए।
नगरपालिका क्षेत्रमा मात्रै १,५०० रोपनी जग्गा क्षति भएको अनि २१५ परिवार विस्थापित हुनुपरेको उनले जानकारी दिएका छन्।
विस्थापित भएकाहरूलाई सामुदायिक भवन तथा विगतमा भूकम्पपश्चात् बनाइएका छाप्राहरूमा राखिएको बताइएको छ।
क्षति धेरै भए पनि हालसम्म सङ्घीय तथा प्रदेश सरकारबाट खासै सहयोग नपाएको अर्यालले गुनासो गरे।
"राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चाहिँ पीडितहरूलाई घर बनाउन पाँच लाख रुपैयाँसम्म दिने कुरा भएको छ। त्यसमा पालिकाले १५ प्रतिशत अनि प्रदेशले २५ प्रतिशत स्रोत हाल्नुपर्ने भनिएको छ," उनले भने।

तस्बिर स्रोत, RSS
जोखिम क्षेत्रमा नबस्न आग्रह
पटकपटक भीषण बाढी आएपछि नगरपालिकाले सर्वसाधारणलाई जोखिममा रहेका क्षेत्रका घरमा नबस्न अनि व्यवसाय सञ्चालन नगर्न मङ्गलवार अपील जारी गरेको छ।
"मेलम्चीको बजारमा केही मानिसहरूले घर सफा गरेर पसल नै खोल्न थाले। चनौटे बजारमा असार १ गतेपछि केही दिन बाढी आएन भनेर मानिसहरूले पसल राखे। तर अस्ति शनिवार (साउन १६ गते) ती सबै फेरि बगायो। त्यसैले कम्तीमा यो बर्खासम्म सुरक्षित रहौँ भनेको हो," मेयर अर्यालले भने।
करिब ११० घरपरिवार त्यसरी जोखिममा रहेको उनले बताए।

तस्बिर स्रोत, RSS
ती घरपरिवारको वैकल्पिक बसाइको व्यवस्था भएपनि व्यवसायका निम्ति जोखिमयुक्त ठाउँमै फेरि सक्रिय हुन थालेको उनको भनाइ थियो।
मङ्गलवार बिहानदेखि बाढी कम हुँदै गएको तर अझ पनि मेलम्ची बजारभन्दा माथिका ठाउँहरूमा दायाँबायाँ धेरै कटान भइरहेको उनले जानकारी दिएका छन्।
अहिलेसम्म बाढीका कारण हेलम्बुमा २४ र पाँचपोखरीमा एक जना गरी कुल २५ जनाको मृत्यु भएको पुष्टि भएको अर्यालले बताए।








