भारत: 'म अभिभावकलाई सन्तानसँग यौनबारे कुरा गर्न सिकाउँछु'

भारतका धेरै विद्यालयले यौन शिक्षा दिँदैनन्। आफ्ना बालबालिकाहरूलाई यौन र सम्बन्धका कुरा गर्ने जिम्मा अभिभावककै हुन्छ।

तर धेरैजसो अभिभावकलाई सन्तानसँग के कुरा गर्ने भन्ने थाहा नहुने बताउँछिन् यौन परामर्शदाता पल्लभी बर्नवाल।

धेरै अभिभावकहरू सुझावका लागि पल्लभीसामु पुग्छन्।

भारतमा यौनका कुरा र आफ्नो अनुभवबारे पल्लभीले बीबीसीका लैङ्गिक तथा पहिचान संवाददाता मेघा मोहनसँग कुरा गरेकी छन्।

फर्केर हेर्दा पुरातन भारतीय शैलीमा भएको मेरो हुर्काइ नै खासमा यौन परामर्शदाता बन्नका लागि सबैभन्दा उपयुक्त धरातल थियो।

त्यसबेला मलाई थाहा नभए पनि यस कामका लागि ममा परेको सबैभन्दा सुरुवाती प्रभाव आफ्नै अभिभावकको सम्बन्ध थियो।

वर्षौँसम्म मेरा अभिभावकको विवाहबारे अनेकौँ अफवाह चले।

जब म आठ वर्ष थिएँ मैले समेत त्यसबारे प्रश्नहरू सामना गर्न थालेँ।

भोजहरूमा मलाई मेरा अभिभावकहरूबाट छुट्टाएर काकीहरूले एकोहोरो सोधपुछ गर्थे।

"के तिम्रा आमाबुवा अझै एउटै कोठामा बस्छन्?"

"के उनीहरूबीच झगडा सुनेकी छौ?"

"के त्यहाँ अन्य पुरुष आएको देखेकी छौ?"

वर्षौँपछि मेरो आफ्नै पारपाचुके भएपछि मेरी आमाले मलाई पूरा कथा बताउनुभयो।

मेरो अभिभावकको विवाहपछिको सुरुवाती दिनमा अर्थात् म र मेरो दाइ जन्मनुअघि नै मेरी आमा एक जना पुरुषसँग शारीरिक सम्बन्धमा परिणत हुने गरी गहिरो सम्बन्धमा पर्नुभयो।

केही सातामै वहाँलाई ग्लानि महसुस भयो र त्यो सम्बन्धलाई अन्त्य गर्नुभयो।

तर भारतीय समुदायमा जताततै त्यसबारे कुरा काट्न थालिएपछि त्यो मेरो बुवासम्म पुग्यो।

जसबारे सोध्न नै मेरो बुवालाई १० वर्ष र दुई सन्तान जन्मनु पर्‍यो।

बुवाले आमाको जुन कुनै जवाफले आफूहरूको सम्बन्धमा असर नपर्ने कसम खानुभयो।

उनले भनिन्, "आमाले सबै कुरा भन्नुभयो। त्यो खासमा यौनबारे कम र आत्मीय सम्बन्धबारे बढ्ता थियो।"

बुवाले आफ्ना वाचा फिर्ता लिनुभयो। बुवाले वर्षौँदेखि शङ्का गरेको कुरा आमाले पुष्टि गरेपछि बाबुआमाको सम्बन्ध बिग्रन थाल्यो।

त्यसले मलाई के कुरा राम्ररी स्पष्ट पार्‍यो भन्यो हाम्रो यौन र घनिष्ठताबारे राम्ररी कुरा हुन नसक्दा परिवारहरू भत्कन थालेका छन्।

मेरो परिवारको मूलघर पूर्वी विहार राज्यमा छ।

जहाँ हाम्रो बाल्यकाल पुरातन खालको थियो। धेरै परिवारका लागि यौन खुला रूपमा छलफल हुने विषय थिएन।

मेरा अभिभावकले एकअर्काको हात समात्ने वा अङ्कमाल गर्ने गरेनन्।

तर त्यसबेला हाम्रो समुदायमा कुनै जोडीहरू शारीरिक रूपमा घनिष्ठ भएको देखेको मलाई सम्झना छैन।

यौनकै विषयमा मेरो पहिलो अनुभूति १४ वर्षको उमेरमा थियो।

एक दिन दिक्क लागेपछि मैले बुवाको दराजमा रहेका किताबका थुप्रो केलाउने क्रममा वहाँका उपन्यास र इतिहासका किताबका बिचमा एउटा पातलो पम्पेट भेटाएँ।

जसमा कयौँ विस्तृत छोटा कथाहरू थिए - महिला र पुरुषले एकर्काका शरीरबारे नयाँ नयाँ कुरा बुझ्ने एउटा गोप्य संसारका कथा।

एउटा कथामा एक जना जिज्ञासु युवती थिइन् जसले भित्तामा प्वाल पारेर आफूले चिनेको वैवाहिक दम्पतीलाई हेर्न चाहन्थिन्।

मैले कति कुराहरू बुझ्न त शब्दकोशकै सहारा लिनुपर्थ्यो।

ममा थुप्रै प्रश्नहरू उब्जिएका थिए तर कुरा गर्ने कोही थिएनन्।

मेरा साथीहरू र मैले यौनसँग नजिकको सम्बन्ध हुने अन्य कुराहरू पनि कहिल्यै गरेनौँ।

सन् १९९० को अन्त्यतिरको समयमा मैले केही गल्ती गरेकी छैन भन्ने मलाई थाहा हुँदैनथ्यो।

किनकि त्यही उमेर संसारमा अन्यत्र बालबालिकाहरू घनिष्ठताबारे ज्ञान पाउन सुरु गरिसकेका हुन्थे।

बेल्जियममा सात वर्षको उमेरदेखि नै बालबालिकालाई यौनका बारेमा पढाउन थालिन्छ। तर यौन पाठ्यक्रममा अनिवार्य राखिने ठाउँ होइन।

सन् २०१८ सम्ममा भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले स्कुलहरूका लागि यौन शिक्षा निर्देशिका ल्यायो।

त्योभन्दा अघिसम्म २९ मध्ये एक दर्जनभन्दा धेरै राज्यले त्यो कार्यान्वयन नगर्ने विकल्पमा गएका थिए।

टाइम्स अफ इन्डिया पत्रिकाका अनुसार भारतको ग्रामीण क्षेत्रका आधाभन्दा धेरै बालिकाहरूलाई रजस्वलाबारे वा के कारण रजस्वला हुन्छ भन्ने थाहा छैन।

उक्त पम्पेट भेटेपछि म खुलस्त हुने होइन कि अन्य कयौँ भारतीय महिलाहरूझैँ पुरातन सोचमै रहेँ।

२५ वर्षकी हुँदा मैले कुमारीत्व गुमाएँ र पनि त्यसको दुई वर्षपछि मेरो मागी विवाह हुँदा मसँग अझै अनुभव थिएनन्।

मेरो विवाह भएको दिन भद्रगोल थियो। हाम्रो बिस्तारामा फूलका पत्ताहरू बिछ्याइएका थिए र अवस्था ठट्यौलो थियो।

कोठाको पातलो भित्ताबाट मैले पाहुनाहरूको आवाज सुनिरहेकी थिए।

विवाहका लागि टाढा टाढाबाट आएका आफन्तहरू अन्यत्र कतै ठाउँ नपाएर हाम्रै ढोकाबाहिर सुतेका थिए।

मेरी आमाले त्यस बेलाका मेरा श्रीमानलाई आफू कुमारी रहेको थाहा दिन जोड दिइरहनुभएको थियो।

जसको लागि मैले आफूलाई लजालु र के कसो गर्ने थाहा नभएको रूपमा प्रस्तुत हुनुपर्थ्यो।

म कुमारी त थिइनँ तर म त्यसबेलाका लागि तयार थिइनँ।

आजका दिनसम्म पनि मलाई मानिसहरूले विवाहको रात के गर्ने भनेर सोध्छन्।

शारीरिक रूपमा मात्र होइन कि लज्जा र धेरै अनुभवी नभएको थाहा कसरी दिने भनेर पनि।

हाम्रो विवाह पाँच वर्षमा टुङ्गियो। सुरुमै मैले गलत मानिससँग विवाह गरेँ भन्ने थाहा पाएकी थिएँ।

त्यसैले उनीसँगको यौन सम्पर्क सधैँ भयानक र डरलाग्दो विषय बन्यो।

३२ वर्षको उमेरकी एकल आमाका लागि अब कुनै दबाब थिएनन्।

मैले सम्बन्ध विच्छेद गरिसकेकी थिएँ र समाजको आँखामा म तल परिसकेकी महिला थिएँ।

भारतको राजधानी दिल्लीमा बस्दा म कुनै भविष्य नभएको कयौँ यौन सम्बन्धहरूमा परेँ।

मैले धेरै उमेर पुगेकादेखि विवाहित पुरुषहरूसँग पनि सम्बन्ध राख्ने खालका प्रयोगहरू गरेँ।

जसरी म खुल्दै गएँ ममा भएका पुरातन सोचहरू भत्किँदै गए।

विवाहित मेरा साथीहरू मसामु आएर सुझाव माग्न थाले।

मेरो स्वतन्त्रताबाट प्रभावित भएर मेरी आमा दिल्ली आई अहिले मेरो छोरासँग बस्नुहुन्छ।

मेरो वरपर धेरै महिला अधिकारवादीहरू यौन र महिला अधिकारबारे कुरा गरिरहेका भेटिन्छन्।

धेरै भारतीय महिलाहरूलाई घनिष्ठतालाई आनन्दसँग जोडेर र त्यो आफूहरूको नियन्त्रणमा समेत हुनुपर्छ भनेर सोच्दैनन्।

यस विषयमा यति धेरै लज्जा र मौनता छ कि युवाहरूले कुनै कुनै बेला आफूहरूसँग जोडिने दुर्व्यवहारको पत्तो समेत पाउँदैनन्।

मैले करिअर फेर्नेबारे सोच्न थालेँ।

मैले यौन र न्यूरो लिङ्विस्टिक प्रोगामिङ कोचको रूपमा तालिम लिएँ र एउटा इन्स्टाग्राम पेजमार्फत मानिसहरूलाई यौनका बारेमा जेसुकै कुनै धक नमानीकन सोध्न भनेँ।

उनीहरूलाई प्रेरित गर्नका लागि मैले आफ्नै यौनका अनुभवहरू साटेँ। र त्यसले काम पनि गर्‍यो।

मानिसहरूले यौनकल्पना, हस्तमैथुनबारेका अफवाह, यौनविहीन विवाह र दुर्व्यवहारका कयौँ कुरा सोधे।

तर तीमध्ये धेरै अभिभावकहरूबाट थिए।

त्यसपछि दुई वर्षअघि टेड टकमा किन अभिभावकहरू आफ्ना सन्तानसँग यौनका कुरा गर्नुपर्छ भनेर कुरा गरेँ।

मैले स्टेजमा सारी लगाएर गएँ। त्यसो किनभने मैले पश्चिममा भारतीय महिलाले मात्र यौन सम्पर्क गर्दैनन् भन्ने देखाउन चाहन्थे।

त्यहाँ मैले पोर्नहब नामको यौनसम्बन्धी सामग्री देखाउने वेबसाइटले सार्वजनिक गरेको तथ्याङ्क देखाउँदै विभिन्न प्रतिबन्धका बाबजुद भारतीयले सबैभन्दा धेरै पोर्न सामग्री हेर्ने गरेको बताएँ।

अभिभावकलाई पल्लभीका सुझाव

  • तपाईँका छोराछोरीलाई यौनबारे किन जान्नु आवश्यक छ भन्ने बुझेर कुरा सुरु गर्नुहोस्
  • उनीहरूलाई आफ्नै कथा र अनुभवहरू सुनाउनुहोस्
  • यौनका मूल्यमान्यताबारे आफ्ना धारणाहरू साट्नुहोस्
  • उनीहरूलाई तथ्यबाट सिकाउनुहोस्

१० देखि १४ वर्ष उमेर समूहका सन्तानलाई के सिकाउने?

  • यौनका विषयमा अपेक्षा र मान्यताहरू
  • महिला र पुरूषका यौनाङ्गका नाम र भूमिका
  • यौन सम्पर्क के हो र गर्भधारण कसरी हुन्छ भन्ने कुरा
  • किशोरावस्थामा हुने शारीरिक र संवेगात्मक परिवर्तनका कुरा
  • रजस्वला चक्रको प्रकृति र उपादेयताका कुरा
  • समलैङ्गिक सम्बन्ध, लिङ्ग, हस्तमैथुन र गर्भधारणका कुरा
  • गर्भनिरोधका कुरा
  • यौन रोगहरूका कुरा
  • यौन दुर्व्यवहार के हो, ती कसरी रोक्ने र भइहाले के गर्ने भन्ने कुरा

यी सबै कुरा उमेर समूह हेर्दै कहिले के कुरा साट्ने भन्ने अभिभावकले नै निर्णय गर्नुपर्छ।