शेरबहादुर देउवा: मन्त्रिपरिषद् विस्तारमा ढिलाइ; माधव नेपालको निर्णय र जसपाको छिनोफानोको पर्खाइ

तस्बिर स्रोत, RSS
नेकपा एमालेको माधव नेपाल पक्षले गर्ने निर्णय र जनता समाजवादी पार्टी जसपामा देखिएको विवादबारे निर्वाचन आयोगको छिनोफानोपछि मात्र "मन्त्रिपरिषद्ले पूर्णता पाउने" नेताहरूले बताएका छन्।
सर्वोच्च अदालतको फैसलापछि गठन भएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा अहिले चारजना मात्र मन्त्री छन्।
त्यसमा दुईजना काँग्रेस र दुईजना माओवादी केन्द्रका मन्त्रीहरू रहेका छन्। देउवाले संविधानअनुसार ३० दिनभित्र लिनुपर्ने विश्वासको मत पनि गत आइतवार नै लिइसकेका छन्।
काँग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदको विश्वासको मत पाएका देउवाले ती दलसहित आफ्नै पार्टीभित्र समेत समीकरण मिलाएर मन्त्रीहरू बनाउनुपर्ने अवस्था रहेको छ।
जनमोर्चाले समर्थन गरे पनि सरकारमा सामेल नहुने घोषणा गरिसकेको छ।
त्यस्तै एमालेको माधव नेपाल समूह पनि सरकारमा सामेल हुने वा नहुने भन्नेबारे निश्चित नभएको बताइएको छ।
माधव नेपाल समूहको निर्णयको पर्खाइ
गठबन्धनमा रहेको एउटा दल माओवादीका नेताहरूका भनाइमा माधव नेपाल समूहको निर्णय नआइसकेकाले मन्त्रिपरिषद् गठनका लागि केही समय कुर्नुपर्ने अवस्था आएको हो।
मन्त्रालयहरू बाँडफाँटका लागि गठबन्धन दलले अनौपचारिक रूपमा बनाएको भनिएको कार्यदलमा सदस्यसमेत रहेका माओवादी नेता वर्षमान पुनका भनाइमा नेपाल समूहको निर्णय आउने बित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ।
उनले भने, "खासै समस्या छैन। माधव कमरेडहरूले केही दिनलाई आफ्नो तयारी आदि/इत्यादिका लागि समय माग्नु भएकाले ठ्याक्कै मन्त्रालय बाँडेका छैनौँ।"

तस्बिर स्रोत, Reuters
माधव नेपाल समूहलाई बाँकी राखेर मन्त्रिमण्डल विस्तारको सम्भावना छ कि छैन भन्नेबारे सोधिएको प्रश्नमा उनले भने, "अहिले त्यसरी सोचेका छैनौँ। 'तपाईँहरू अगाडि बढ्नुस्, हामी आएको दिन त्यही अनुसार सोचौँला' भन्ने अवस्था भयो भने त्यही अनुसार बढ्छौँ।"
"अहिले चाहिँ उहाँहरूसँगै विस्तार गर्ने गरी तयारी गरिरहेका छौँ।"
उनका भनाइमा गठबन्धन दलको कार्यदल अहिले कसलाई मन्त्री बनाउने भन्दा पनि "सरकारको न्यूनतम साझा कार्यक्रम" बनाउनमा केन्द्रित छ।
जसपा निर्वाचन आयोगको निर्णय कुर्दै
सरकारमा सामेल हुने ठानिएको जसपाका नेताहरूले चाहिँ "आफूहरूले दल विवादमा निर्वाचन आयोगको निर्णय कुरिहरेको" र त्यो आउने बित्तिकै सरकारमा पठाउने मन्त्रीबारे टुङ्गो लगाउने बताएका छन्।
जसपामा देखिएको आधिकारिकता विवादमा निर्वाचन आयोगले इजलास गठन गरेरै सुनुवाइ गरिरहेको छ।
उक्त इजलासले बिहीवार आयोगले आगामी सोमवार केन्द्रीय कार्यकारिणी समितिका ५१ जनासहित आयोगमा उपस्थित हुन आदेश दिएको छ।

तस्बिर स्रोत, RSS
त्यसपछि आधिकारिकता विवादको टुङ्गो लाग्ने जसपा नेताहरूको आशा रहेको छ।
देउवालाई प्रधानमन्त्री बनाउन उनको समर्थनमा लागेका जसपाका नेता उपेन्द्र यादव भन्छन्, "निर्वाचन आयोगमा आधिकारिकता अड्केको छ त्यो आधिकारिकता आउने र केही गृहकार्य गर्नुपर्नेछ।"
उनले यो महिनाभित्र सरकारले पूर्णता पाउने दाबी गरे।
जसपाको महन्त ठाकुर-राजेन्द्र महतो समूहबाट ओली नेतृत्वको सरकारमा सामेल समेत भइसकेका जसपाका अर्का नेता राजकिशोर यादव पनि निर्वाचन आयोगको निर्णयपछि नै पार्टीले निर्णय गर्ने बताउँछन्।
"सोमवार बेलुकादेखि मङ्गलवारसम्म आधिकारिकताको विषय टुङ्गिन्छ, त्यो छिनोफानो भएपछि पार्टीले निर्णय लिन्छ," उनले भने।
काँग्रेस नेता के भन्छन्?
सरकारको न्यूनतम साझा कार्यक्रमका साथै मन्त्रिमण्डललाई पूर्णता दिनेबारे सहयोगी दलसँग छलफल अघि बढेको काँग्रेस नेताहरू बताउँछन्।
तर अबको कति दिनभित्र सरकारले पूर्णता पाउँछ भन्नेबारे यकिन नभएको उनीहरूको भनाइ छ।
मन्त्रालयहरू बाँडफाँटका लागि गठबन्धन दलले अनौपचारिक रूपमा बनाएको भनिएको कार्यदलमा सदस्यसमेत रहेका काँग्रेस नेता पूर्णबहादुर खड्काले भने, "हामीले अहिले छलफल सुरु गरेका छौँ। कार्यदलको एउटा बैठक भयो। अर्को शुक्रवार बस्दैछ। छलफल चल्दैछ।"








