नेपाल कोरोनाभाइरस: क-कसलाई दिइँदैछ चीनबाट खरिद गरिएको भेरोसेल खोप 

चिनियाँ खोप

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, हालसम्म नेपालले चीनबाट १८ लाख मात्रा भेरोसेल खोप प्राप्त गरेको छ

पौने आठ लाख नेपालीले पहिलो मात्रा र झन्डै तीन लाख नेपालीले दुवै मात्रा लगाएको चिनियाँ भेरोसेल खोप थप आपूर्ति भएपछि उमेर समूह र विपद्‌बाट प्रभावित क्षेत्रहरूलाई प्राथमिकता दिएर वितरण गरिने अधिकारीहरूले बताएका छन्।

हालसम्म नेपालले चीनबाट अनुदानमा पाएको १८ लाख भेरोसेल खोपमध्ये १३ लाख ७३ हजार मात्रा खोप वितरण भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पहिलो मात्रा भेरोसेल खोप लगाएका व्यक्तिहरूलाई मङ्गलवारबाट दोस्रो मात्रा खोप वितरण गरिँदैछ।

त्यसका लागि देशैभर खोप पुर्‍याइएको र जिल्लास्थित निकायहरूले खोप केन्द्रहरू तोक्ने भनिएको छ।

दोस्रो मात्रा चिनियाँ खोप सरी वितरण गरिँदैछ

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जिल्ला समन्वय समितिमार्फत निर्णय गरेर दोस्रो मात्रा खोप वितरण गर्ने केन्द्रहरू तोक्ने र खोप अभियान सञ्चालन हुने बताए।

उनले भने, "हामीले प्रदेशहरूमा खोपहरू पठाइसकेका छौँ र उनीहरूले प्रत्येक जिल्लाहरूलाई खोप उपलब्ध गराउँछन्। खोप लगाउन कति दिन लाग्छ त्यो जिल्लाले निर्धारण गर्छन्। सकेसम्म चाँडो सक्ने भन्ने हाम्रो कुरा छ।"

अहिले उपलब्ध भण्डारणबाटै दोस्रो मात्रा दिन सकिने जनाएका अधिकारीहरू चीनबाट यसै साता भेरोसेल खोपको थप परिमाण प्राप्त हुने र त्यसपछि निरन्तर खोप अभियान सञ्चालित हुने बताउँछन्।

सरकारले चीनसँग ४० लाख खोप किन्ने सम्झौता गरेको भए पनि त्यसबारे विस्तृत विवरणहरू प्रकाशमा ल्याएको छैन।

अघिल्लो साताको अन्त्यमा विज्ञप्ति निकाल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सिनोफार्म कम्पनीसँग भएको सम्झौता अनुसार बिहीवारबाट खोप आपूर्ति सुरु भई त्यसपछि साप्ताहिक रूपमा विभिन्न चरणमा खोप आउने बताएका थिए।

खोप

तस्बिर स्रोत, Chinese Embassy Nepal

गएको चैतमा भेरोसेल खोपको पहिलो मात्रा वितरण गर्दा सरकारले प्राध्यापक/शिक्षक, चीनमा अध्ययन गरिरहेका विद्यार्थी, हिमालयपार व्यापारमा संलग्न व्यवसायी, सार्वजनिक यातायातका सवारी चालक र सहचालक सहितलाई उपलब्ध गराएको थियो।

त्यस बेला ४० देखि ५९ वर्षको उमेर समूहका व्यक्तिलाई पनि दिइएको उक्त खोप वितरणमा चीनसँग सीमा जोडिएका जिल्लाका नागरिकलाई प्राथमिकतामा राखिएको थियो।

अब प्राप्त हुने चिनियाँ खोप कसरी वितरण हुन्छ?

खोप शाखाका प्रमुख डाक्टर गौतमले पहिला नै निर्धारण गरिएको प्राथमिकता क्रममा आधारित रहेर अव प्राप्त हुने भेरोसेल खोप वितरण गर्ने योजना बनाइने बताए।

उनले भने, "६० वर्षभन्दा माथि हामी लगभग गइसकेका छौँ। अब ५५ वर्ष भन्दा माथि जसको प्राथमिकता छ हामी त्यसैलाई मूल आधार मान्छौँ।"

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर तारानाथ पोखरेलले चीनबाट भेरोसेल प्राप्त भएपछि खोप अभियान निरन्तर चल्ने बताए।

उनले भने, "अब हामी उमेर समूहमा पहिला भन्दा अलिकति तल जान्छौँ। अनि अहिले बाढीको समय भएकाले यसलाई ध्यान दिएर नयाँ निर्णय गर्ने भन्ने कुरा पनि छ। बाढी प्रभावित जिल्लाहरूमा जहाँ जहाँ बाढीको बढी प्रभाव परेको छ त्यो विस्थापित जनसङ्ख्यामध्ये सकेसम्म सबैलाई खोप लगाइदिने कि भन्ने हुनसक्छ।"

खोप अभियान

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, नेपालको जनसङ्ख्याको तीन प्रतिशतले मात्रै दुवै मात्रा खोप लगाएका छन्

उनले थपे, "बाढी पहिरोको अवस्थामा सार्वजनिक भवनमा धेरै जना बस्नुपर्छ। बस्ने ठाउँ एउटै हुँदा दुरी कायम गर्न सम्भव नै भएन। मास्क पनि पुग्ला नपुग्ला त्यही भएर १८ वर्षमाथिका सबैलाई खोप दिँदा सुरक्षित राख्न सकिन्छ भन्ने छलफल भएको छ।"

यसअघि जिम्मेवारी सम्हाले लगत्तै स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठले हालैको बाढीबाट बढी प्रभावित सिन्धुपाल्चोक र मनाङ जिल्लाका विस्थापितहरूलाई तत्कालै खोप लगाइदिन निर्देशन दिएका थिए।

त्यसअन्तर्गत सिन्धुपाल्चोकबाट तथ्याङ्क सङ्कलन गरी केन्द्रमा प्राप्त भएको र मनाङमा प्रभावित गाविसहरूमा लगभग ८० प्रतिशतले खोप लगाइसकेको भनिएको छ।

खोप शाखाका प्रमुख डाक्टर पोखरेलले खोप र खोप अभियान चलाउन आवश्यक सामग्री आफूहरूले दिने र जिल्लाको अवस्था हेरेर स्थानीय संयन्त्रहरूले नै त्यसबारे निर्णय लिने बताए।

यस्तो थियो प्राथमिकताक्रमको निर्धारण

पोहोर साल स्वास्थ्य मन्त्रालयले जोखिम र उमेर समूहका आधारमा खोप वितरणको प्राथमिकताक्रम निर्धारण गरेको थियो।

खोप

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, भारतले खोप आपूर्ति रोकेपछि नेपालको खोप अभियान प्रभावित भइरहेको छ

त्यसमा पहिलो प्राथमिकता स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारी, अग्रपङ्क्तिमा खटिने अन्य पेसाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र ६५ वर्षदेखि माथिको उमेर समूहलाई पहिलो प्राथमिकतामा राखिएको थियो।

दोस्रो प्राथमिकतामा ५५ देखि ६४ वर्षको उमेर समूहका व्यक्ति, विभिन्न गम्भीर किसिमका अन्य रोग भएका व्यक्ति र आप्रवासी कामदार, शरणार्थी र बन्दी लगायतलाई खोप दिइने भनिएको थियो।

तेस्रो प्राथमिकतामा चाहिँ ४० देखि ५४ वर्ष र त्यसपछि १८ देखि ३९ वर्षका व्यक्तिहरूलाई खोप दिने भनिएको थियो।

उक्त प्राथमिकता क्रम पटक पटक मिचेको र पहुँचका भरमा हजारौँलाई खोप बाँडेको आरोप सरकारमाथि लाग्दै आएको छ।

भारतमा उत्पादन भइरहेको कोभिशील्ड खोपको पहिलो मात्रा १८ लाख २८ हजार जनाले र दुवै मात्रा ४ लाख ५९ जनाले शनिवारसम्म लगाएका तथ्याङ्क छ।