कोभिड नेपाल: दैनिक सङ्क्रमण दर २० प्रतिशतको आसपास स्थिर रहनुको कारण के हो

कोभिड परीक्षण

तस्बिर स्रोत, EPA

नेपालमा निधेषाज्ञा लगायतका स्वास्थ्य सतर्कताका कारण कोभिड नियन्त्रण हुने अनुमान गरिएको भए पनि परीक्षण गरिएकाहरूमा दैनिक सङ्क्रमण दर भने लगभग २० प्रतिशतमा स्थिर रहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार नेपालमा असार १ गतेयता १,५८,९६५ जनामा परीक्षण गरिएकोमा ३३,६१६ मा सङ्क्रमण पुष्टि भएको छ।

यो सङ्ख्याले सङ्क्रमण दर औसतमा २१ प्रतिशतभन्दा माथि रहेको देखाउँछ। सङ्क्रमण दर एन्टिजन परीक्षणमा १७.५ प्रतिशत र पीसीआर परीक्षणमा २३.५ प्रतिशत रहेको छ।

कन्ट्याक्ट ट्रेसिङ लगायतका कार्यहरू नभएको र सामान्य लक्षण भएका व्यक्तिहरू परीक्षण नगरी घरमै बसेकाले यो तथ्याङ्कबाट मात्रै सङ्क्रमणको सही अवस्था थाहा पाउन गाह्रो रहेको विज्ञ बताउँछन्।

तर मन्त्रालयले कोरोनाभाइरसको लक्षण भएकै व्यक्तिहरू मात्रै परीक्षणका लागि अस्पताल पुग्ने हुँदा पनि सङ्क्रमण दर बढी देखिएको बताउँछ।

अस्पतालमा उपचाररत सङ्क्रमित र दैनिक पुष्टि हुने सङ्ख्या अपेक्षाकृत घटे पनि सङ्क्रमण दर किन घटेन त?

सङ्क्रमण दर घट्न नसक्नुको कारण

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल ''समुदाय स्तरमै सङ्क्रमण फैलिएको'' र नेपालमा डेल्टा भेरिअन्टबाट उत्परिवर्तन भएर विकास भएको भेरिअन्ट समेत पुष्टि भइसकेको अवस्थामा जोखिम कायम नै रहेको बताउँछन्।

सरकारले विभिन्न स्थानहरूमा निषेधाज्ञा लागु गरेको भए पनि त्यसले मानिसहरूको आवागमन ७० प्रतिशत मात्रै घटाउन सकेको र आवागमन बढेको अवस्थामा सङ्क्रमण अझ बढ्ने उनी बताउँछन्।

"करिब देशका ७४ जिल्लामा निषेधाज्ञा जारी भएको बेला पनि हाम्रो आवागमन ७० प्रतिशत मात्रै घटेको थियो," उनले भने।

व्यक्तिगत र सामुदायिकस्तरमा कोभिडको जोखिम बुझेर मापदण्ड पालना गर्ने विषय गम्भीर रूपमा नलिइएसम्म सङ्क्रमण दर घटाउनु कठिन हुने उनको भनाइ छ।

"देशभरको औसत मात्रै हो २० प्रतिशत। कुनै स्थानमा ४० प्रतिशतसम्म छ," जोखिम कायमै रहेको अवस्थामा स्थान विशेषको निर्णय गरिनुपर्ने र देशैभर एकै खाले नियम प्रभावकारी नहुने पौडेलले बताए।

"हाम्रो जोखिम हटिसकेको छैन भन्ने कुरा स्पष्ट भएको छ। हामी सचेत भएनौँ भने हाम्रोमा सङ्क्रमितहरूको सङ्ख्या फेरि बढ्न सक्छ।"

परीक्षण

तस्बिर स्रोत, Science Photo Library

कोभिड सङ्क्रमणबाट बच्ने अचुक औषधि खोप र जनस्वास्थ्य कै मापदण्ड रहेको उनी बताउँछन्।

हाल नेपालमा करिब ८.५ प्रतिशत जनसङ्ख्याले खोपको एक मात्रा प्राप्त गरेका छन् जुन आवश्यकता भन्दा निकै कम रहेको अधिकारीहरू स्विकार्छन्।

सहरहरूमा निषेधाज्ञा लागु भए पनि ग्रामीण भेगमा मापदण्ड पालना नहुँदा सङ्क्रमितहरूको सङ्ख्या स्थिर रूपमा घटबढ भइरहने क्रम कायम नै रहेको जनस्वास्थ्यविद् बिराज कर्मचार्य बताउँछन्।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन परीक्षण गर्न आएकाहरू मात्रै को आधारमा सङ्क्रमितको दर देखिएकाले समुदायमा कति मानिस सङ्क्रमित छन् थाहा पाउन गाह्रो रहेको बताउँछन्।

यसअघि पनि लामो समयसम्म झन्डै ४० देखि ४५ प्रतिशतबीच सङ्क्रमण दर अडिएको र त्यसको झन्डै दुई हप्ता पछि ३० देखि ३५ प्रतिशतमा झरेको पाइएको आफूलाई स्मरण रहेको उनी बताउँछन्।

नेपालमा बैशाख २१ गतेदेखि जेठ ९ गतेसम्म २० दिनमध्ये १८ दिन दैनिक सङ्क्रमण दर ४० प्रतिशतभन्द बढी थियो।

जेठ १० गतेदेखि २७ गतेसम्म त्यो दर ३० प्रतिशतभन्दा बढी रहेको थियो भने त्यसयता लगातार २० प्रतिशतभन्दा माथि रहेको छ।

तेस्रो लहरको जोखिम

छिमेकी भारतसहित नेपालमा पनि तेस्रो लहरको खतरा रहेको विज्ञहरूले बताइरहेका छन्।

भारतमा सङ्क्रमण दर असारमा तीन प्रतिशतको हराहारीमा रहेको छ। दोस्रो लहरमा सङ्क्रमण उच्च हुँदा पनि त्यहाँ सङ्क्रमण दर २३ प्रतिशत नाघेको थिएन।

यस्तो अवस्थामा कोभिड नियन्त्रणका लागि लागु गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरू खुला हुँदा जोखिम उच्च रहने बताइएको छ।

"कुन लहर भन्ने त अहिले हामी भन्न सक्दैनौ तर खुले पछि, सम्पर्क बढेपछि सङ्क्रमित बढ्ने दर पनि बढ्छ," कर्माचार्यले भने।

सार्वजनिक यातायात खुला भए पनि जनस्वास्थ्यका मापदण्ड पालना गरे जोखिम कम हुन जाने उनी बताउँछन्।

गत वर्ष सामान्य अवस्थामा सङ्क्रमित हुनेहरूको सङ्ख्या उच्च विन्दुमा पुगेर घटेको भए पनि यसपटक भने निषेधाज्ञाकै बीचमा सङ्क्रमण उच्च विन्दुमा पुगेकाले अवस्था खुकुलो हुँदा फेरि एकपटक सङ्क्रमण बढ्न सक्ने कर्मचार्यको बुझाइ छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational grey line

हर्ड इम्युनिटी अर्थात् सामुदायिक प्रतिरोध क्षमता वा निषेधाज्ञाका कारण सङ्क्रमणको साङ्लो भङ्ग भएका कारण सङ्क्रमण दर झर्दै गएर २० प्रतिशतको आसपासमा बसेको हो भन्ने कुरा स्पष्ट हुन नसकेको डा. पुन बताउँछन्।

खोप लगाएर वा धेरै जनसङ्ख्यामा सङ्क्रमण भएमा हर्ड इम्युनिटी हासिल हुन सक्ने ठानिन्छ।

सरकारले त्यस विषयमा जानकारी लिन यसै हप्ताबाट देशैभर 'सीरोप्रिभलन्स सर्भे' सुरु गर्ने जनाएको छ।

"निषेधाज्ञा कारणले सङ्क्रमणको साङ्लो भत्किएको रहेछ भने सुरक्षित रहेका मानिसहरू अब समुदायमा निस्किदा सङ्क्रमित हुन सक्छन्," पुनले भने।

तर हर्ड इम्युनिटीमा गएको अवस्था हो भने यही समयमा, यही ठाउँमा, एकै व्यक्तिलाई 'सङ्क्रमण हुने सम्भावना निकै कम हुने' डा. पुनको भनाइ छ।

''…फेरि त्यस्तै शक्तिशाली कुनै भेरिअन्ट आएर तदपश्चात खुला रूपमा हिँडडुल भयो भने त्यसले निम्ताउने अर्को लहरलाई हो," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना खोप