कोभिड नेपाल: काठमाण्डू उपत्यकामा निषेधाज्ञा अझै खुकुलो, अब सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चल्ने

तस्बिर स्रोत, RSS
कोभिड-१९ महामारी नियन्त्रणका लागि काठमाण्डू उपत्यकामा लागु गरिएको निषेधाज्ञा "कतिपय व्यवस्थाहरू थप खुकुलो पार्दै" असार २१ गतेसम्म बढाइएको अधिकारीहरूले जानकारी दिएका छन्।
सोमवार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको अधिकारीहरूले बताए।
नयाँ निर्णयपछि अब जोरबिजोर प्रणालीमा मङ्गलवारदेखि सामाजिक दूरी कायम गरेर र स्वास्थ्य सावधानी पालना गरेर सार्वजनिक यातायात पनि चल्ने भएका छन्।
बैठकपछि प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको आदेशमा भनिएको छ, "काठमाण्डू उपत्यकाभित्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने।"
यस्ता सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चलाउन पाइने आदेशमा उल्लेख छ।
कोरोनाभाइरस सङ्क्रमणमा कमी आएको भन्दै गत सातादेखि नै उपत्यकाभित्र जोरबिजोर प्रणालीमा निजी सवारीसाधन चलाउन भने दिइएको थियो।
नयाँ निर्णयपछि पनि सञ्चालन गर्न नपाइने क्षेत्रहरू
- सबै प्रकारका सभा सम्मेलन र तालिम वा सेमिनारहरू
- सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लबहरू
- स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटिपार्लरहरू
- हेल्थ क्लब, फुटसल, जिमखाना, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, रङ्गशालामा दर्शकसहित हुने खेलकुद
- खुला स्थानमा मानिसहरू भेला हुने सभा सम्मेलन, जुलुस र भोजभतेरहरू
- होटेल र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्ध र सामूहिक सांस्कृतिक कार्यक्रमहरू
- पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधिहरू
- शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाइने
आन्तरिक उडान यसै साताबाट

तस्बिर स्रोत, RSS
सरकारले यसै साताबाट नेपालमा आन्तरिक हवाई उडान कुल उडान सङ्ख्याको ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरूलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर त्यस्तो जानकारी गराएको थियो।
गत साता बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो।
त्यसपछि नागरिक उड्डयन प्राधिकरणले निजी वायुसेवा कम्पनीले उडान कार्य तालिकाका लागि आवेदन दिन खुला गरेको थियो।
देशैभरि निषेधाज्ञा
काठमाण्डू उपत्यकाकै जस्तो निषेधाज्ञा देशका अन्य जिल्लाहरूमा पनि लागु गरिएको छ।
सङ्क्रमण कम भएका जिल्लाहरूमा निषेधाज्ञा खुकुलो पार्दै लगिएको अधिकारीहरूले जानकारी दिएका छन्।
गृह मन्त्रालयका अनुसार हाल देशका ७७ मध्ये ७५ जिल्लामा कुनै न कुनै खाले निषेधाज्ञा लागिरहेको छ।
काठमाण्डू उपत्यका बाहिरका प्रमुख सहरहरू रहेका जिल्लाहरूमा जिल्लाभरि नै निषेधाज्ञा लागु भएको छ।
केही पहाडी जिल्लामा भने सदरमुकाम र आसपासका क्षेत्रहरूमा मात्र निषेधाज्ञा लगाउने निर्णय गरिएको मन्त्रालयले राखेको विवरणमा उल्लेख छ।
केही जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि भन्दै निषेधाज्ञा लगाएका छन् भने अधिकांश एक साताका लागि लकडाउन गर्ने र कोभिडको अवस्था हेरेर पुनः बढाउने गर्दै आएका छन्।

तस्बिर स्रोत, RSS
निषेधाज्ञाको क्रम
कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि सुरुमा गत वैशाख १६ गते एक साताका लागि काठमाण्डू उपत्यकामा निषेधाज्ञा लगाइएको थियो।
त्यसपछि पटक पटक थप गर्दै निषेधाज्ञा जारी राखिएको छ।
तर निषेधाज्ञा पूर्ण प्रभावकारी हुन नसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको गुनासो गरेका थिए।
त्यसपछि सरकारले कोभिड-१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश ल्याएर निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सजाय र जरिबाना तोकेको थियो।
अध्यादेश अनुसार देशका विभिन्न स्थानमा कैयौँलाई कारबाही पनि भएको अधिकारीहरूले बताएका छन्।
पछिल्ला दिनहरूमा सङ्क्रमित हुनेहरूको सङ्ख्यामा 'केही कमी देखिएकाले' निषेधाज्ञाका प्रावधानहरूलाई खुकुलो पारिएको अधिकारीहरूको भनाइ छ।
सङ्क्रमणको अवस्था अझै बढेमा अध्यादेशका आधारमा कुनै पनि बेला आवश्यकता अनुसार कदम चाल्न सकिने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।
नयाँ अध्यादेशमा के छ व्यवस्था?


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर

अनुमतिबिना चलाइएका सवारीसाधन सुरक्षाकर्मीले निश्चित समयका लागि नियन्त्रणमा पनि लिन सक्ने अध्यादेशमा उल्लेख छ।
जरिवानाबारे अध्यादेशमा यस्तो व्यवस्था छ:
- मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे १०० रुपैयाँ
- आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उल्लङ्घन गर्नेलाई पटकैपिच्छे २०० रुपैयाँ
- अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई अथवा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारीसाधन चलाएमा पटकैपिच्छे दुईपाङ्ग्रे सवारी भए २,००० र अन्य सवारी भए ५,००० रुपैयाँ।
त्यसैगरी अध्यादेशविपरीत काम गर्ने संस्था वा व्यवसायलाई प्रमुख जिल्ला अधिकारीले छ महिनासम्मका लागि बन्द गर्न आदेश दिन सक्नेछन्।








