कोभिड नेपाल: कोरोना भाइरस सङ्क्रमणको अवस्थाबारे सीरोप्रिभलन्स सर्भे आगामी साता

तस्बिर स्रोत, RSS
नेपालमा कोरोनाभाइरस सङ्क्रमणको पछिल्लो अवस्थाबारे अध्ययन गर्न सरकारले आगामी साता "सीरोप्रिभलन्स सर्भे'' सुरु गर्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट सर्वेक्षणका लागि आवश्यक पर्ने 'प्रोटोकल' स्वीकृत भइसकेको छ।
"हामीले सीरोप्रिभलन्स र एन्टिबडी हेर्नका लागि देशभरिबाट १३,००० नमुना सङ्कलन गर्छौँ," उनले भने।
''सर्वेक्षणले दोस्रो लहरमा कति प्रतिशत जनसङ्ख्यामा भाइरस पुग्यो भयो भन्ने जानकारी दिन्छ र भविष्यका कोभिड प्रतिकार्य योजना बनाउन ठूलो सहयोग पुर्याउँछ।"
सीरोप्रिभलन्स सर्भेमा रगत परीक्षण गरेर कतिमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको रहेछ भन्ने थाहा पाउन सकिने विज्ञहरू बताउँछन्।
उक्त सर्वेक्षणबाट विभिन्न उमेर समूहका मानिसमा कति प्रतिशतमा, कुन हिस्सामा, कुन उमेर समूहमा र कुन स्थानमा बढी सङ्क्रमण देखियो भन्ने थाहा हुने पौडेलले जानकारी दिए।
परिषद् र केन्द्रीय तथ्याङ्क विभागको सहभागिता रहने सर्वेक्षणको नेतृत्व मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्ने बताइएको छ।
यसका लागि प्राविधिक र आर्थिक सहयोग विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयको रहने बताइएको छ।
अध्ययन कहाँ?

तस्बिर स्रोत, Reuters
मन्त्रालयले सातै प्रदेशमा अध्ययन गर्न लागेको बताएको छ।
धेरै जनसङ्ख्या भएका केही समूह र कम भएका हिमाल, पहाड र तराइ क्षेत्र पर्ने गरी अध्ययन गरिने पौडेलले जानकारी दिए।
"सबै स्थानको प्रतिनिधिमूलक बनाउन खोजेका छौँ। खासगरी तथ्याङ्कीय हिसाबले नमुना सङ्कलन विधि प्रयोग गरेर देशका सबै भाग, सबै जातजाति, क्षेत्रलाई समेट्न खोजेको हो," उनले भने।
सरकारले यसअघि करिब ६,००० नमुना सङ्कलन गरेर सीरोप्रिभलन्स सर्भे गरेको थियो।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर


तर के यो सङ्ख्या देशभरको अवस्था चित्रण गर्ने हिसाबले पर्याप्त हो त?
पौडेले भन्छन्: "वैज्ञानिक प्रक्रियाबाट गरिने नमुना परीक्षणमा प्रत्येक व्यक्तिमा जानु पर्दैन। त्यसैले प्रतिनिधित्व गर्ने गरी नमुना लिने हुन्छ। यो देशलाई समेट्ने गर्ने हिसाबले वैज्ञानिक हिसाब गरेर लिइएको तथ्याङ्क हो।"
अघिल्लो अध्ययनमा सबै क्षेत्र नसमेटिएको गुनासो आएकाले नमुना बढाइएको र समूह पनि त्यसै अनुसार चुनिएको पौडेलले जानकारी दिए।
हर्ड इम्यूनिटीबारे थाहा होला?
केही सातायता काठमाण्डू उपत्यका र देशभरि फेला पर्ने सङ्क्रमितको सङ्ख्या ओरालो लागेको तथ्याङ्कले देखाउँछ।
कतिपय चिकित्सकहरूले काठमाण्डू तथा भिडभाड धेरै हुने स्थान वा सहरमा पछिल्लो समय सङ्क्रमण केही हदसम्म कम हुनुको कारण 'हर्ड इम्यूनिटी' रहेको बताइरहेका छन्।
खोप लगाएर वा धेरै जनसङ्ख्यामा सङ्क्रमण भएमा सामुदायिक प्रतिरोध 'हर्ड इम्यूनिटी' हासिल हुन सक्ने ठानिन्छ।
कोरोनाभाइरसका हकमा पनि यो लागु हुने विज्ञहरू बताउँछन्।
चिकित्सकहरू समुदायमा लगभग ८५ प्रतिशत मानिसमा सङ्क्रमण हुँदा 'हर्ड इम्यूनिटी'को एक तहमा पुगिने बताउँछन्।
सङ्क्रामक रोग विशेषज्ञ अनुप सुवेदी भन्छन्: "भाइरसको भेरिअन्टका लागि समुदायमा हाम्रो गतिविधिको मात्रा जति छ त्यसको लागि एउटा हर्ड इम्यूनिटीको सीमा हुन्छ। त्यो हामीले पार गरेर अहिले घटेको हो।
"अब गतिविधि बढाउँदा त्यो सीमा पनि अलि बढ्छ। अलि बढी मानिस सङ्क्रमित हुने सम्भावना हुन्छ।"
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन भाइरस विस्तारको "साङ्लो" भङ्ग भएर सङ्क्रमण घटेको हो वा धेरै मानिसहरू सङ्क्रमित भएको अवस्था हो भन्ने विषय अबका केही हप्तामा स्पष्ट हुने ठान्छन्।
सुवेदी र पुन दुवै सीरोप्रिभलन्स सर्भेमार्फत हर्ड इम्युनिटी भए नभएको थाहा पाउन सकिने बताउँछन्।

यो पनि हेर्नुहोस्










