भारत-चीन सीमा विवाद: लद्दाख गतिरोधको एक वर्षपछि त्यहाँको अवस्था कस्तो छ

    • Author, अनबरसन इथिराजन
    • Role, बीबीसी न्यूज, पान्गोङ च्छो, लद्दाख

नवाङ दोर्जेले भारतीय सेनाका लागि सामान ओसारपसार गर्दै भारत र चीनबीच तनाव भएको लद्दाख सीमाको कालापहाडमा महिनौँ बिताए।

बयसट्ठी वर्षीय पूर्वसैनिक दोर्जे मेरक गाउँमा एउटा पसल चलाउँछन्। बारुद र अन्य आवश्यक सामग्री लिएर हिमाली भेगमा माथितिर जाँदा उनलाई आफ्नो ज्यान पो जाने हो कि भनेर डर लागेको थियो।

गत वर्ष दुवै देशका सेनाबीच नाटकीय रूपमा तनाव बढेपछि दोर्जेसहित छेउछाउका गाउँका सयौँ मानिसलाई सेनाले भर्ती गरेको थियो।

"हामी चिनियाँको नजिक पुगेका थियौँ र हामीलाई उनीहरूले निसानामा पार्ने हुन् कि भन्ने लाग्यो," उनी भन्छन्।

एक वर्षअघि भारत र चीन दुवैले लद्दाखमा एकअर्काको क्षेत्रमा घुसपैठ भएको आरोप लगाएका थिए।

सन् १९६२ मा भएको भारत-चीन युद्धदेखि दुई देशबीच करिब ३,४४० किलोमिटर सीमा निर्धारण हुन सकेको छैन। त्यहाँ दुवै देशका फरकफरक दाबी रहँदै आएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतले आफ्नो दाबी गरिरहेको क्षेत्रको कैयौँ किलोमिटरभित्र चिनियाँ सेनाले पालहरू टाँग्ने, खाडल खन्ने र ठूला हतियारहरू ल्याउन थालेपछि झडप सुरु भएको थियो।

चिनियाँ सेनले अचानक चालेको कदमबारे पत्तो नपाएको भारतीय सेनाले हजारौँ अतिरिक्त सैनिक र हतियार पठाएर त्यसको जबाफ दियो।

जुन महिनामा गलवान उपत्यकामा त्यसले हिंसात्मक रूप लियो र २० भारतीय सैनिकको ज्यान गयो। चीनले पछि त्यहाँ आफ्नो चार सैनिकको मृत्यु भएको बतायो।

त्यसपछि तालमा हुने भ्रमण दुर्लभ थिए। यात्रुहरूलाई गत ज्यानुअरीदेखि मात्र त्यहाँ जान दिइएको थियो।

मेरकजस्ता गाउँमा पुग्ने केही सञ्चारमाध्यममध्ये बीबीसी पनि थियो। उक्त गाउँमा करिब ३५० मानिसहरू बसोबास गर्छन्।

त्यहाँ अधिकांश घुमन्ते समुदायका मानिसकहरू छन्।

यद्यपि यहाँ जीवन पहिलेभन्दा खासै परिवर्तन भएको छैन।

महिलाहरू परम्परागत पोसाकमा याक र च्याङ्ग्रा पालिरहेका छन्। त्यहाँको गाउँ तुलनात्मक रूपमा कोभिड महामारीबाट टाढै रहेको जस्तो देखिन्छ।

तर त्यहाँको दृश्यले खतरा स्मरण गराउँछ।

सेनाका गाडीहरूले बन्दोबस्तीका सामानहरू ओसारपसार गरिरहन्छन् र प्राय: नयाँ बनेको एक लेनको सडकबाट सैनिकहरू अगाडि बढिरहेका हुन्छन्।

(तस्बिर तुलना गर्न माउसले <> भएको चिह्न दायाँ-बायाँ गर्नुहोस्)

भारत र चीनबीच दशकौँदेखिको तनावले यो क्षेत्रलाई प्रभाव पारिरहेको छ।

"जाडो मौसममा यहाँ र नजिकैको चुशुल क्षेत्रबाट मानिसहरू याक र भेडाहरू चराउन अर्कोपट्टिको पहाडमा जाने गर्थे," दोर्जे भन्छन्।

"तर वर्षहरू बितेसँगै चिनियाँहरूले भारतीय भूमि मिच्दै गए र चरण क्षेत्र खुम्चिँदै गयो।"

गत वर्ष उक्त क्षेत्रको सीमामा भएको झडपको असर पनि यो क्षेत्रमा निकै अनुभूत गरिएको छ।

"गत वर्षको सीमा विवादले भारत-चीन सम्बन्धलाई गहिरो रूपमा बदलिदिएको छ," भारतीय सेनामा कर्णेल रहिसकेका सैन्यविज्ञ अजय शुक्ला भन्छन्, "चिनियाँहरूले सन् १९५९ मा छाडिसकेको क्षेत्रलाई पनि दाबी गरेका थिए। यदि भारतले त्यसलाई स्वीकारेको भए उसले महत्त्वपूर्ण भूभाग गुमाउनुपर्थ्यो।"

शुक्लासहित अन्य विज्ञहरूका भनाइमा चीनलाई पूर्वी लद्दाखमा अघि बढ्न दिनुको अर्थ भनेको भारतले आफूले दाबी गर्दै आएको सयौँ वर्ग किलोमिटर क्षेत्र चीनलाई दिनु हो।

कैयौँ चरणका वार्ताहरूपछि गत फेब्रुअरीमा दुवै देशका सेनाले पान्गोङ च्छो ताल क्षेत्रका पहाडबाट आफ्ना सेनाहरू फिर्ता गर्न सहमत भएका थिए।

तर चीनले लद्दाखका कब्जा गरिएका अन्य क्षेत्रहरू हट स्प्रिङ्स, गोग्रा पोस्ट र देप्साङ मैदानबाट पछि हट्ने सङ्केत देखाएको छैन।

चीनले पहिलेदेखि नै लद्दाखभन्दा पूर्वको आक्साई चीन पठारमा कब्जा जमाइसकेको छ।

उक्त क्षेत्र भारतद्वारा दाबी गरिएको क्षेत्र हो।

त्यो बेइजिङका लागि रणनीतिक महत्त्वको छ किनकि यसले शिन्जियाङ प्रान्तलाई पश्चिमी तिब्बतसँग जोड्छ।

बेइजिङले दिल्लीको उत्तेजक कारबाही पछिल्लो लद्दाख तनावको कारण भएको बारम्बार दाबी गर्दै आएको छ।

"चिनियाँ विचारमा भारतीय सेनाहरूले लद्दाखको गलवान उपत्यकाको चीनतर्फ पर्ने भूमिमा सडक र अन्य पूर्वाधारहरू बनाइरहेका थिए," पीपल्स लिबरेशन आर्मीका अवकाशप्राप्त वरिष्ठ कर्णेल झोउ बोले बीबीसीलाई भने।

"चीनको तर्फबाट हामी परम्परागत चलनचल्तीको रेखालाई चीन-भारत सीमारेखाका रूपमा जोड दिन्छौँ। भारत चाहिँ सन् १९६२ को युद्ध अघिको 'एक्चूअल लाइन अफ कन्ट्रोल'मा जोड दिन्छ तर उक्त रेखा कहाँ पर्छ भन्नेमा आधारभूत रूपमै मतभेद छ।"

विशेषगरी दिल्लीले केही निश्चित क्षेत्रबाट आफ्ना सेनालाई पछि हटाउने निर्णय गरेपछि अहिलेको जारी तनावले पान्गोङ च्छो ताल क्षेत्रमा बस्ने गाउँलेहरूलाई समस्या परेको छ।

"भारतीय सेनाले घुमन्तेहरूलाई तिनका बस्तुभाउ चराउने परम्परागत शीतकालीन चरणक्षेत्रमा जान रोकिरहेको छ," सीमावर्ती गाउँ चौशुलका स्वतन्त्र पार्षद् कोन्जोक स्टान्जिनले भने।

उनका अनुसार जनावरहरूलाई चराउनका लागि जाडो महिनामा कालापहाड तथा गुरुङ हिलमा लानुपर्ने हुन्छ।

"जब फिरन्ताहरू चुचुरोमा गएर आफ्ना बस्तुभाउका लागि पाल टाँग्छन्, त्यसले त्यो स्थानको चिह्नको काम गर्छ। सीमाबारेको छलफलका बेला ती चिह्नहरू महत्त्वपूर्ण हुन्छन्। यदि उनीहरूलाई परम्परागत चरणक्षेत्रमा जान रोकियो भने त्यसले दीर्घकालीन रूपमा हामीलाई बेफाइदा हुन्छ।"

उनलाई जबाफ दिँदै भारतीय सेनाले गत एप्रिलमा लाइन अफ एक्चूअल कन्ट्रोल भनिने नियन्त्रणरेखालाई अङ्कित गरिएको थिएन भनेको छ।

उसले अहिले पूर्वी लद्दाखमा जारी कारबाहीका कारण फिरन्ताहरूलाई वस्तुभाउ लान रोकिएको बताएको थियो।

दिल्लीले चीन एउटा शक्तिशाली सैन्य शक्ति भएको तथा ठूलो व्यापारिक साझेदार भएको बुझेको छ।

चिनियाँ आयात र लगानीबिना धेरै भारतीय व्यापारले सङ्घर्ष गर्नुपर्छ।

देशमा महामारी फैलिएपछि भारतले अहिले चिनियाँ व्यवसायीबाट आतुरताका साथ चिकित्सकीय उपकरण र मेडिकल अक्सिजन उपकरणहरू आयात गरिरहेको छ।

त्यसैले धेरैले दुवै देशलाई अहिलेको तनाव हटाउन र सीमामा शान्ति कायम गर्न आह्वान गरिरहेका छन्।