निषेधाज्ञापछि फेरि सामाजिक जीवनमा फर्कनुपर्ने कुराले चिन्तित हुनुहुन्छ?

महिनौँसम्म घरभित्रै धेरै समय बिताएका कारण पुनः सामाजिक बन्नुपर्ने कुराले के तपाईँ चिन्तित हुनुहुन्छ?

भरिभराउ रेस्टुराँमा जानुपर्ने विषयले के तपाईँलाई त्रसित पारेको छ वा अरूसँग कसरी आमनेसामने बसेर अन्तर्क्रिया गर्ने भन्ने विषयले चिन्तित बनाएको छ?

अथवा फेरि कार्यालय फर्केर गर्नुपर्ने महत्त्वपूर्ण प्रस्तुतिले तपाईँलाई तर्साएको हुनसक्छ?

यी परिदृश्यमध्ये कुनै परिचित लागे चिन्ता नगर्नूस् किनकि यस्तो महसुस हुने तपाईँ एक्लो हुनुहुन्न।

मनोवैज्ञानिक डा. जुली स्मिथका अनुसार "तपाईँलाई केही अनौठो भएको छैन।"

"हामी प्रत्येक दिन जे गर्छौँ, त्यो नै सहज महसुस हुन थाल्छ," उनले भनिन्।

''जब तपाईँ यस्तो अवस्थामा पुग्नुहुन्छ जहाँ केही समयदेखि पुग्नुभएको छैन, तपाईँको मस्तिष्कले तनाव उत्पन्न गराउँछ," स्मिथले भनिन्।

तपाईँको मस्तिष्कले तपाईँलाई "यो नयाँ हो। यो फरक हो। सतर्क रहनु पर्छ" भन्ने सन्देश दिएको हो।

स्मिथका अनुसार "पुरानो जीवनमा फेरि फर्किएपछि तनावपूर्ण प्रतिक्रिया साम्य हुँदै जान्छ।"

यस्ता सामाजिक तनावसँग कसरी जुझ्ने भन्ने विषय बारे उनले छ सुझाव दिएकी छन्:

१. यसलाई नटार्नूस्

बेवास्ता गर्नाले तनाव वा चिन्तालाई झन् बढाउँछ र दीर्घकालमा यसलाई झन् नराम्रो बनाउँछ।

त्यसकारण तनावलाई व्यवस्थापन गर्न सुरु गरिहाल्नूस्।

सानो सामाजिक कार्यबाट सुरुवात गर्नुहोस् जसलाई व्यवस्थापन गर्न सहज हुन्छ।

२. सकैसम्म धेरै पटक गर्नूस्

तपाईँले जति धेरै पटक केही गर्नुहुन्छ त्यति चाँडै त्यो तपाईँका लागि स्वाभाविक वा सहज लाग्न थाल्छ।

त्यसकारण यदि तपाईँ कुनै साथीसँग सातामा एकपटक चिया पिउन जानुहुन्थ्यो भने फेरि जानूस्।

३. सोचविचार गरेर केन्द्रित हुनूस्

चिन्तित बनाउने विषयमा हामी केन्द्रित हुँदा त्यसले झन् तनाव थप्छ।

जब हामी उत्साहित बनाउने कुरामा केन्द्रित हुन्छौँ वा साथीलाई भेट्न नपाउँदा गुमाएका कुराहरू महसुस गर्छौँ, त्यसले आशा जगाउने वा बढाउने काम गर्छ।

४. अरूले मलाई ध्यान दिइरहेछन् भन्ने नसम्झनूस्

'स्पट लाइट इफेक्ट' सोच हामी चिन्तित हुँदा महसुस गर्छौँ।

हामी सोच्छौँ कि अरूले हामीलाई जाँचिरहेका छन् र हामीबारे धारणा बनाइरहेका छन्।

तर सबैले तपाईँकै बारेमा सोचेका हुँदैनन्। मानिसहरू हामीले सोचेभन्दा बढी आफूमै केन्द्रित हुन्छन्।

५. भरोसायोग्य व्यक्तिसँग कुरा गर्नूस्

तनावबारे आफूले विश्वास गर्न सक्ने व्यक्तिसँग कुरा गर्नु महत्त्वपूर्ण छ।

धेरै मानिसहरू सङ्क्रमण र रोगबारे चिन्ता लिएर निश्चित सामाजिक अवस्थाबाट गुज्रिरहेको हुन सक्छन्।

आफू मात्र त्यस्तो अवस्थामा नरहेको महसुस हुनासाथ व्यवस्थापन गर्न सहज हुन्छ।

६. परिवार र साथीबाट सुरु गर्नूस्

आफ्नो परिवार र साथीबाट सामाजिक हेलमेल बढाउन सुरु गर्नुभयो भने तपाईँ सहज अवस्थामा हुनुहुनेछ र अपेक्षा पूरा गर्ने विषयमा कम चिन्तित हुनुहुनेछ।

आफूले आनन्द मान्ने कुराहरू सम्झनूस् र ती कार्य फेरि गर्न थाल्नूस्।

किन अहिले नै आफ्नो मनपर्ने साथीलाई चिया खान भेट्न प्रस्ताव नगर्ने त?