नेपालको राजनीति: माधव नेपाल समूहले राजीनामा नदिने, बहुमत जुटाउन काङ्ग्रेसलाई सकस

तस्बिर स्रोत, RAJAN KAFLE
राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार बहुमतीय सरकार बनाउन निर्णायक देखिएको एमालेको असन्तुष्ट माधव नेपाल समूहले राजीनामा नदिने बताएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच भएको बैठकपछि बोल्दै नेता नेपालले राजीनामाको विषय तत्कालका लागि टरेको बताएका हुन्।
बैठकपछि बोल्दै नेता नेपालले पत्रकारहरूसँग भने, "अब राजीनामा दुई/चार दिनलाई टर्यो।"
छलफलमा के भयो?
बिहीवार नेपाल पक्षका नेताहरूले आफूहरुका माग पूरा गर्न प्रधानमन्त्री ओलीलाई साढे ४ बजेसम्मको समय दिएर त्यो नभए राजीनामा दिने निर्णय गरेको थिए।
त्यसपछि बसेको ओली-नेपालको बैठकमा फागुन २८ गतेको निर्णय फिर्ता गर्ने र जेठ २ को अवस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति नजिक पुगेको नेता नेपालले बताए।
"कुन तरिकाले फिर्ता गर्न सकिन्छ उपाय खोजेर गर्ने भन्ने निर्णय भएको छ। त्यसका लागि कार्यदल बन्छ। विभिन्न तहमा वार्ता हुन्छ," उनले बताए।

तस्बिर स्रोत, RSS
काङ्ग्रेसको कसरत
प्रधानमन्त्री केपी शर्मा ओली गत सोमवार प्रतिनिधिसभामा विश्वासको मत दिन विफल भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(२) अनुसार प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त दल भएको दाबी पेश गर्न बिहीवार राति ९ बजेसम्मका लागि समयावधि दिएकी थिइन्।
यसबीच प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी (जसपा) का सांसद्हरू जुटाएर आवश्यक १३६ मत जुटाउन कसरत गर्दै आएको छ।
अहिले संसद्मा २७१ सांसद् सङ्ख्या रहेकोमा बहुमतको सरकार गठनका लागि काङ्ग्रेसलाई १३६ सांसद् आफ्नो पक्षमा चाहिन्छ।
काङ्ग्रेसले संसद्मा सोमवार तटस्थ बसेको जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षको मत लिने प्रयास गरे पनि त्यो विफल भएको देखिन्छ।
नेता ठाकुरले विज्ञप्ति नै निकालेर काङ्ग्रेसलाई सरकार बनाउन साथ नदिने जनाएपछि बहुमतीय सरकारका लागि एमालेको माधव नेपाल समूहले राजीनामा दिने विषय निर्णायक हुने देखिएको थियो।
उक्त समूहले राजीनामा दिए बहुमतका लागि आवश्यक सङ्ख्या घट्दा काङ्ग्रेसलाई माओवादी केन्द्र र जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको साथमा पुर्याउन सहज हुने ठानिएको थियो।
तर अब नेपाल समूहले राजीनामा नदिने भएपछि र जसपाको साथ पनि अन्यौलमा रहेपछि काङ्ग्रेसलाई बहुमत जुटाउन सकस पर्ने देखिएको छ।
राष्ट्रपतिले दिएको समय सकिने दिन बिहीवार ओली-नेपालबाहेक काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटघाट भएको थियो।
त्यसपछि काङ्ग्रेसको पदाधिकारी बैठक बसिरहेको छ भने माओवादी केन्द्रको पनि स्थायी कमिटी बैठक बसेको बताइएको छ।
बिहीवार नौ बजेसम्म बहुमतको सरकारमा कसैले दाबी गर्न नसकेमा राष्ट्रपतिले संविधानको धारा ७६ (३) अुनसार संसद्मा सबैभन्दा ठूलो दलको नेतृत्वमा अल्पमतको सरकार बनाउने छिन्।
यो व्यवस्था अनुसार सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताका हिसाबले ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्। त्यसको एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्नेछ।








