कोभिड नेपाल: सम्पूर्ण परिवारलाई कोभिड हुँदाको भोगाइ

    • Author, मतिना त्वनाबासु
    • Role, बीबीसी न्यूज नेपाली, भक्तपुर

म संयुक्त परिवारमा बस्छु। यस पटक कोरोनाभाइरसले हाम्रो तीन पुस्ता गरेर सबै नौ सदस्यलाई सङ्क्रमित गरेको छ।

मेरी ८४ वर्षीया सासूको शरीरमा अक्सिजनको मात्रा घटेकाले भक्तपुरस्थित अस्पताल लगियो। उहाँलाई निमोनिया भइसकेको रहेछ।

अस्पतालमा शय्या पाउन पनि निकै मेहनत गर्नुपर्‍यो, कृत्रिम अक्सिजन दिनुपर्‍यो। तर अक्सिजनको अभाव भएकाले त्यो अस्पतालले 'हामी सक्दैनौँ' भन्यो।

अहिले बल्लबल्ल चाँगुनारायणस्थित एउटा नयाँ अस्पतालमा ल्याएका छौँ। म र मेरी जेठानी आफू पनि औषधि खाँदै सासूको स्याहारमा खटेका छौँ। अहिले उहाँको स्थिति सुधारोन्मुख छ।

बिरामी आफैँ कुरुवा बनेका छौँ। अघिपछिको जस्तो अरूको सहयोग पनि नपाइने यो कस्तो पीडादायक अवस्था हो!

अस्पताल र बिरामीहरूको अवस्था देख्दा कहिलेकाहीँ त रुन मन लाग्छ। तर भावुक भए पनि हामीले संयम गुमाएका छैनौँ।

घरमा हुँदा

सासूलाई अस्पताल ल्याउनुअघि म कहिले आफ्नो निधार छाम्थेँ त कहिले अरूको। घरमा चारवटा थर्मोमिटर थिए। नौ जनाको ज्वरो नाप्न पालो कुर्नुपर्थ्यो।

त्यसैले निधार छामेर ज्वरोको अनुमान लगाउने बानी पर्‍यो। बिहान सबेरै सबैको लागि गुर्जो हालेर पकाएको पानी दिइन्थ्यो।

कसैलाई कालो चिया, कसैलाई दूध हालेको, कसैलाई दूध मात्रै। सिटामोल खाएर पनि ज्वरो आइरहेकाहरू तीन जनालाई तीनवटा कोठामा अलग्ग राखिएको थियो।

खाना र पानी पनि त्यहीँ लगेर दिइन्थ्यो। शरीरमा अक्सिजनको मात्रा र ज्वरोको मापन पनि बेलाबेलामा गरिन्थ्यो।

बाँकीको खान्की भने साबिककै जस्तो थियो। सबै जनाले मल्टिभिटामिन सेवन गरियो। आराम गर्न जोड दिइयो।

कसैलाई असहज भएको छ कि भनी संवेदनशील बनेका थियौँ। 'ज्वरो आइहाले सिटामोल खाने है' भनी संयुक्त सहमति गरेका थियौँ। सिटामोल र भिटामिनको बक्सा नै ल्याएर राखेका छौँ।

केही दिनपछि खानाको स्वाद बिस्तारै कम हुन थाल्यो। तरकारीमा मसला अलि बढाउन थाल्यौँ। जसरी हुन्छ यो कोभिड-१९ लाई पराजित गर्नु पर्छ भन्ने भावना हामीमा थियो।

कस्ता सावधानी

कोभिडको पहिलो लहरमा सङ्क्रमित हुँदाको पीडा बिर्सन नपाउँदै दोस्रो लहरको कोभिडले फेरि गाँज्यो हामीलाई।

बजार जाँदा होस् वा ब्याङ्कमा जाँदा होस् मास्कको प्रयोग छाडेका थिएनौँ। भोजभतेर र ठूला भेटघाट लगभग सबै बहिष्कार गर्‍यौँ।

खानपानमा विशेष सजगता अपनाएकै थियौँ। खोप पनि एक एक डोज लगभग सबैले लगाएका थियौँ।

हामीलाई हतपत कोभिडले छुन सक्दैन जस्तो लागेको थियो। तर सबै जना सङ्क्रमित भयौँ।

चिन्ताका विषय

घरभरिको मान्छे सङ्क्रमित भन्दा जोकोही आत्तिने रहेछन्। सुरुमा हामी पनि अत्तालियौँ।

कोही रक्तचापका बिरामी, कसैलाई थाइराइडको समस्या। मधुमेह भएका र हुन लागेका सदस्य पनि छन्। तलमाथि होला भन्ने चिन्ता सबैलाई रह्यो।

चालीस वर्षमुनिकालाई पनि कोभिड-१९ ले नराम्रो गरेको खबर पढिरहेका छौँ।

हिजो वृद्धवृद्धालाई विशेष ध्यान दिनुपर्छ भन्ने थियो। आज सबैलाई ख्याल गर्नुपर्ने दिन आएको छ।

वृद्धा सासूलाई गम्भीर लक्षण देखियो। सत्र र छ वर्षका बाबुहरूबारे पनि चिन्ता लाग्छ।

आत्मबल

मलाई गत वर्ष पनि सङ्क्रमण भएको थियो। त्यति बेला ज्वरोले नछोडेसम्म मैले आफूलाई निकै लाचार पाएकी थिएँ। घरमै एकान्तवासमा रहँदा कष्टकर समय बिताएकी थिएँ। स्वाद हरायो, गन्ध हरायो, खोकीले सास फेर्ने मुस्किल बनायो।

शरीरमा अक्सिजनको मात्रा ९० मुनि पुर्‍यायो। आइसोलेशनमा बस्दा सँगै नहुनुको चिन्ता हुँदो रहेछ। आफूलाई केही भइहाल्ला कि भन्ने अर्को चिन्ता पनि हुने रहेछ। विभिन्न किसिमका चिन्ताले अरुचि‚ अनिद्रा गराउने रहेछ।

यी सबै परिस्थितिसँग लड्न मेरो परिवारले सधैँ हौसला दिएको थियो। कोठाबाहिरबाट‚ मेसिन्जरबाट‚ फोन नै गरेर पनि कोरोनाभाइरससँग लड्न हिम्मत जुटाएकी थिएँ। मन नभए पनि खान छाडिनँ, दिनको तीनचार पटक बाफ लिन टुटाइनँ, तातो पानी धेरै पिएँ।

चिकित्सकको सल्लाहअनुसार सिटामोल र भिटामिन नियमित सेवन गरेँ। इन्टरनेटमा राम्राराम्रा सामग्रीहरू हेरेँ। अक्सिजन लेभल बढाउन श्वासप्रश्वासको अभ्यास दिनमा तीनचार पटक गरिरहेँ। बिस्तारै लडेको शरीरमा तागत भरिएर आयो।

म फेरि परिवारको साथमा भएँ। हो त्यही अनुभव आज मेरो आत्मविश्वास बनेको छ। एक पटक जितिसकेको युद्ध फेरि पनि जित्छु र सबैलाई सुरक्षित राख्छु भन्ने बलियो आत्मबलले यतिबेला काम गरिरहेको छ।

कठिन परिस्थिति

हाम्रो परिवारमा कोभिडको दोस्रो लहर पसेको दुई हप्ताजति भयो। निरन्तर १०० माथिको ज्वरोले थलिएका कान्छो देवर दालको रस‚ पातलो सुप र जीवनजलको भरमा बसे।

चिकित्सकसँग सोध्दा 'सिटामोल प्रत्येक चार घण्टाको फरकमा दुई चक्की दिनू' भन्छन्।

उनलाई ज्वरोले यतिसम्म गाल्यो कि बिहान बेलुकाको फरक छुट्याउन सकेनन्। औषधि खाए नखाएको पत्तो पाएनन्।

बाफ लिए नलिएको चाल पाएनन्। एउटा सोध्यो जबाफ के दिने थाहै पाएनन्। यस्तो अवस्थामा लिनुपर्ने कदमबारे चिकित्सकले भने 'अक्सिजन लेभल ९० भन्दा कम नभए फेरि पनि सिटामोल खुवाउँदै गर्नू'।

चिन्ताले उनलाई अनिद्रा र अरुचि भएको बताइयो। तर अर्को दिन पखालाले बितायो। दिनसँगै समस्या पनि फेरिइरह्यो। अनिद्राको लागि औषधि खुवाउने लन्डनबाट आमाजूको सल्लाह भो।

चिकित्सकले सिटामोलबाहेक कुनै औषधिको नामै लिएनन्। आमाजूको कुरा सुन्ने कि नसुन्ने भन्ने भो। छ दिनसम्म सुत्न नसकेको बिरामीलाई निद्राको औषधि खुवायौँ। त्यसको भोलिपल्ट दिनभरि सुते। त्यसपछि हामी फेरि अत्तालियौँ। घुरघुर निदाइरहेको अवस्थामा पनि औँलामा अक्सिमिटर राखेर लेभल परीक्षण गरिरह्यौँ।

विज्ञहरूको लेखमा ९४ भन्दा कम भयो भने समस्या हुन सक्छ भन्ने पढेका थियौँ। 'मलाई सुत्न देओ' उठाउन खोज्दा उनी यसै भन्थे। उनी मात्र सङ्क्रमित भइदिएको भए हामी कोही उनको नजिक पर्दैनथ्यौँ।

भौतिक दूरी कायम गर्ने क्रममा उनको अवस्था कति नाजुक बन्न सक्थ्यो भन्ने सोचेर चिसिन्छ मुटु। नौ दिनमा आएपछि बल्ल ज्वरो अलि थामियो। दुई गाँस भात मुखमा हाले। हामीले लामो सास फेर्‍यौँ।

यता सासू 'पितृको सराप लागेर खान पनि मन नभएको' भनिरहनुहुन्थ्यो। उहाँ पनि जीउ दुखेर निकै गल्नुभयो, ज्वरोले थलिनुभयो।

नजिक गएर उहाँलाई औषधि दिने खाने खुवाउने काम सीमित सदस्यले गरेका थियौँ। सबैको रिपोर्ट पोजिटिभ भए पनि सकभर एकअर्कासँग दूरी कायम गर्ने सहमति गरेका थियौँ।

आफैँ 'नर्स'

घरका सबै कोठामा बिरामी थिए। हरेक तलामा स्यानिटाइजरको बोतल राखेका थियौँ।

सबै जनाले मास्क प्रयोग गरेका छौँ। घरको सरसफाइ र निर्मलीकरणमा सकभर ध्यान दिइरहेका छौँ।

अक्सिमिटरले अक्सिजनको मात्रा निगरानी गरिह्यौँ। बेलाबेलामा श्वासप्रश्वासको अभ्यास पनि गर्‍यौँ। घरमा कपडा फेर्ने, कोठा सफा गर्ने काम सधैँ भइरहेको छ।

जेठानी भन्नुहुन्थ्योः "कमजोर बन्नु हुन्न। कोही पनि अस्पताल जानुपर्ने अवस्था आउन दिनु हुन्न।" हामी नर्सले जसरी सबैको स्याहार गरिरह्यौँ।

तर सासूलाई अस्पताल नलगी नहुने भयो। अनि हामी जेठानी-देउरानी अहिले पनि सासूको स्याहारमा खटेका छौँ।

सहयोग

सबैको रिपोर्ट पोजिटिभ आएदेखि हामीहरू कोही बाहिर निस्किएनौँ।

दैनिक रूपमा आवश्यक पर्ने दूध तथा अन्य अत्यावश्यक सामग्री ल्याउन आफन्तको सहयोग लियौँ। घरभित्रको काम मात्र पनि असीमित लाग्ने रहेछ!

हामी जेठानी-देउरानीलाई थकाउन प्रसस्त छ। हामीले परिवारका अन्य सदस्यलाई पनि घरको काममा सहभागी गरायौँ। संयुक्त परिवारको संयुक्त जिम्मेवारी र महत्त्वबोध गर्ने अवसर पायौँ।

कोभिड नबेहोरेकालाई यो अहिले पनि केही होइन भन्ने लागेको होला। तर भोग्नेलाई त्यसपछिको जीवन नयाँ झैँ हुन्छ।

पहिलो लहरमा आफै सङ्क्रमित हुँदा जे जस्तो भोगेथेँ अहिलेको भोगाइ अलग छन्।

थाहा छैन फेरि नयाँनयाँ के भोग्नुपर्ने हो। अहिले पनि जनस्वास्थ्यका मापदण्डको सबैले पालना गरेनन् र आफ्नो आचरणमा सुधार गरेनन् भने कोभिड-१९ ले योभन्दा भयानक परिणाम निम्त्याउनेछ।

मतिना त्वनाबासुले बीबीसी नेपाली सेवाको रेडियो कार्यक्रममा महिला केन्द्रित साप्ताहिक कार्यक्रम गर्दै आएकी छन्।