कोभिड नेपाल: कोरोना भाइरस महामारीमा चम्किएको नेपाल सुपर लीग फुटबल

नेपाल सुपर लिग

तस्बिर स्रोत, ANFA

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरले प्राय सबै क्षेत्रको गतिविधि नराम्ररी प्रभावित भइरहेको बेलामा काठमान्डूको दशरथ रङ्गशालामा सञ्चालन भइरहेको फ्रेञ्चाइज फुटबल नेपाल सुपर लीग भने रोकिएन।

कतिपयले महामारीमा खेलकुद गतिविधिको के अर्थ भन्दै लीग तत्काल बन्द गर्नुपर्ने आवाज उठाए।

यसै बेला छिमेकी मुलुक भारतमा बन्द रङ्गशालामा चलिरहेको इन्डियन प्रिमियर लीग आईपीएल क्रिकेट पनि जोखिम बढेको भन्दै बन्द गरिएपछि नेपाल सुपर लीगका आयोजकहरूमा थप दबाव परेको थियो।

तर विश्व फुटबल महासङ्घ फिफाको स्वास्थ्य सुरक्षासम्वन्धी नियम कडाइका साथ पालना गरिएको भनिएको एनएसएलले खाली रङ्गशालामा सञ्चालन गर्न सरकारले स्वीकृति दियो।

निषेधाज्ञाका बीच काठमान्डूमा चलिरहेको प्रतियोगितामा अहिले तेस्रो चरणको खेल चलिरहँदा 'प्रतिस्पर्धाको स्तर' उत्कर्षमा पुगेको देखिएको छ।

फुटबल विश्लेषकहरू खेल व्यवस्थापन, खेलाडी बाँडफाँड, खेलाडीलाई राम्रो मूल्य, नयाँ विदेशी अनुहार, प्रतिस्पर्धामा बढेको स्तर र फुटबललाई व्यापारसँग जोड्ने विषयलाई नेपाली फुटबलमा देखिएको व्यावसायिकताको छनक भनिरहेका छन्।

नयाँपन

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलाडीहरू विभिन्न क्लबहरूमा छरिएर खेलेको देखेर रङ्गशालामा उपस्थित राष्ट्रिय टोलीका पूर्व खेलाडी श्रीराम रञ्जितकार भन्दै थिए, "नेपाली फुटबलमा यस्तो दृश्य अरू बेला विरलै देखिएला।"

पहिलो संस्करणको एनएसएलका थुप्रै प्रयोगहरू नेपाली फुटबलमा पहिलो पटक भएको देखिएको छ।

फ्लड लाइटमा फुटबल, सबै खेलको टेलिभिजनमा प्रत्यक्ष प्रसारण, खेलाडीहरूलाई दिने सुविधामा अन्तर्राष्ट्रिय अभ्यास अनि फुटबललाई व्यापारको बजारसँग प्रत्यक्ष जोड्ने पहलजस्ता अभ्यास विगतमा हुन सकेको थिएन।

नेपाल सुपर लिग

तस्बिर स्रोत, ANFA

एनएसएलको एउटा टोली पोखरा थन्डर्सका सहायक प्रशिक्षक राजेश शाही प्रतियोगिताको व्यवस्थापकीय पाटोलाई परिष्कृत मान्छन्।

उनी भन्छन्, "फुटबललाई व्यापारको बजारसँग सम्बन्ध गाँस्ने प्रयास मलाई मन पर्‍यो। रङ्गशालामा फुटबल भइरहेको छ भन्ने आभासको व्यावसायिक प्रयोग भएको छ। जुन विगतमा हुँदैनथ्यो।"

फुटबललाई तामझामका साथ सम्पन्न गर्ने आयोजकको योजनाको नमिठो पाटो भने दर्शकविना फुटबल सञ्चालन हुनु थियो।

बन्द रङ्गशाला

राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्काले नेपालमा पहिलो क्लब फुटबलको सबै खेल साँझको कृत्रिम प्रकाशमा भएकोमा खुसी र दु:खको मिश्रित प्रतिक्रिया दिए।

उनले भने, " पहिलो पटक यस्तो अवसर जुर्‍यो , तर जसको लागि (दर्शक) फ्लड लाइटमा खेलको व्यवस्था गरियो, त्यही पक्ष नहुँदा खल्लो भएको छ।"

"दर्शक नहुँदा खेलाडीको प्रदर्शनमा असर पर्छ नै। दर्शकको हुटिङले नै त हो खेलाडीमा जोस थपिने। "

तर प्रतियोगिताले तेस्रो चरणमा प्रवेश गरुन्जेल प्रतिस्पर्धाको स्तर भने माथि उक्लिँदै गरेको देखिएको छ।

नेपाल सुपर लिग

तस्बिर स्रोत, ANFA

अखिल नेपाल फुटबल सङ्घ एन्फा अधिकारीहरू प्रतियोगितामा देखिएको 'स्तरीय प्रतिस्पर्धा' लाई आयोजनाको उद्देश्यसँग दाँज्न रुचाउँछन्।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा भन्छन्, "दर्शकविना खेल सञ्चालन गर्ने निर्णय आफैमा चुनौतीपूर्ण थियो। सुरुकै वर्ष यो परिस्थिति आउनुले पनि दबाव थपिएको हो। तर खेलाडीहरूको उच्च प्रदर्शनले सबै कुरा सही साबित गरिदिएको छ।"

उनका अनुसार बन्द रङ्गशालामा सफलतापूर्वक खेल सञ्चालन हुनुको अर्थ हो अब फुटसल लीग र सहिद स्मारक लीग पनि महामारीकै कारणले रोकिने छैन।

चुनौती

प्रतियोगितामा सहभागी सात सहरका क्लबहरूले ए डिभिजनका १४ क्लबका खेलाडीहरूबाट अक्सनमार्फत खेलाडी छान्न पायो।

त्यसमा युरोप र एसियाका तीन विदेशीलाई समेत क्लबले भित्र्याएका छन्।

जसका कारण सात वटै क्लबहरूको स्तर समान हुँदा प्रतिस्पर्धा बढेको प्रशिक्षकहरू स्वीकार्छन्।

नेपाल सुपर लिग

तस्बिर स्रोत, ANFA

यद्यपि प्रशिक्षकहरू टिम तयारीको लागि एक हप्ताको मात्र समय पाउनुलाई प्रतियोगिताको नराम्रो पाटो भन्छन्।

चितवन सिटी एफसीका प्रशिक्षक मेघराज केसी भन्छन्, "खेलाडी सङ्ख्या त पुग्यो। तर पर्याप्त समय नपाउँदा कुनै पनि टोलीले छोटो समयमा सोचेजस्तो रणनीतिहरू लागू गर्न पाएनन्। यो खराब भयो।"

आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टका लागि त दर्शकविनाको प्रतियोगिता 'पहिलो गाँसमै ढुङ्गा' भनेजस्तै नै भयो।

तर उनीहरू आयोजनाबाट पछाडि नहट्नुले मात्रै प्रतियोगिताले निरन्तरता पाउन सकेको देखिन्छ।

नेपाल सुपर लीगकी अध्यक्ष आश्रेयता कार्की चौधरी भन्छन्, " कोभिडले गर्दा यो निर्णयसम्म आउनु हाम्रो लागि गार्‍हो थियो। तर सबैको साथले खेल भयो। र यसरी प्रतिस्पर्धा बढेकोमा हामी खुसी छौँ। "

नेपाल सुपर लिग

तस्बिर स्रोत, ANFA

सम्भावना

एनएसएलमा ठूला व्यापारिक घरानाहरू संलग्न छन्।

टोलीहरूले प्रतियोगितामा सातदेखि नौ करोड रुपैयाँसम्म लगानी भएको बताइएको छ।

झन्डै डेढ महिना चल्ने प्रतियोगितामा नेपाली खेलाडीहरूलाई औसतमा निकै राम्रो मूल्य पनि दिइएको छ।

उनीहरूले एनएसएलमा भविष्यसम्म लामो सहकार्य गर्ने उद्देश्य राखेकोले पहिलो वर्षको कठिनाइलाई सामान्य रूपमा लिएको बताएका छन्।

त्यसैले कोरोनाभाइरस सङ्क्रमणको जोखिम र निषेधाज्ञाका बीच सञ्चालन भइरहेको एनएसएल कतिपयका अनुसार भविष्यमा नेपाली फुटबल र खेलाडीहरूको आर्थिक परिवर्तनको बलियो माध्यम हुनसक्छ।

त्यसमा भारतीय आईलीग खेलिरहेका कप्तान किरण चेम्जोङको सुझाव छ, "आईलीगको स्तरमा पुर्‍याउने हो भने चाहिँ आयोजकले व्यवस्थापनमा अझ धेरै काम गर्नुपर्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘तलब बराबर भयो, अब अवसर पनि बराबर चाहिन्छ’