मानसिक स्वास्थ्य: 'मैले विषाक्त अहम्लाई कसरी जितेँ र दुःख दिने कुरालाई व्यक्तिगत नबनाउन सिकेँ'

तस्बिर स्रोत, Imboorling
- Author, पाब्लो उचोआ
- Role, बीबीसी विश्व सेवा
यदि तपाईँलाई अरू मानिसले के गरिरहेका छन् वा छैनन् भन्ने कुराले सजिलै झिजो लगाउँछ भने तपाईँलाई केहीबेर फ्रेडरिक इम्बोको कुरा सुन्न मन पर्छ।
जब इम्बोले हर्न बजाएको र जथाभाबी बत्ती बलेको जस्तो साना कुराले आफ्नो जीवनमा नमीठो प्रतिक्रिया जनाइरहेको महसुस गरे, उनले त्यसबारे केही गर्नुपर्ने निर्णय गरे।
त्यसपछि उनी फुटबलका रेफ्री बने।
यी दुई कुराबीच प्रत्यक्ष सम्बन्ध देखिँदैन। तर इम्बोले बीबीसीसँग कुरा गर्दै रेफ्री बनेपछि व्यक्तिगत अहम्को समस्याबाट मुक्त हुन आफूले खोजिरहेको उपायसँग तुलना गरे।
किनभने मानिसहरूले रेफ्रीबारे आक्कलझुक्कल मात्रै सकारात्मक वा प्रेरणादायी कुरा गर्छन्।
'तर त्यो व्यक्तिगत होइन'
"म बलीको बोकाजस्तै हो। हेर्दा म जहिल्यै पनि गलत नै हुन्छु। सधैँ मेरो गल्ती हुन्छ," इम्बोले टेडएक्स टकमा यसै वर्षको सुरुमा भनेका थिए।
"र, मैलै यी सबै कुरालाई व्यक्तिगत रूपमा कसरी नलिने भन्ने सिक्न चाहेको थिएँ।"
मैदानमा सिटी बजाउने काम बेल्जियमका ४५ वर्षीय सञ्चार प्रशिक्षक इम्बोका लागि नयाँ जिम्मेवारी हो।
उनी मानिसहरूलाई प्रस्तुति र अन्य अवस्थामा प्रभावकारी बोल्न सिकाउने कम्पनी इम्बोरलिङका संस्थापक हुन्।
उनले बीबीसीलाई आफूले नाट्यशालाबारे अध्ययन गरेको एवम् चलचित्र र टेलिभिजन सिरियलहरूमा काम गरेको भए पनि अभिनेताका रूपमा स्थापित हुने कौशल नरहेको बताए।
एउटा भूमिका निर्वाह गर्ने क्रममा इम्बोलाई अहम्को अवधारणाबारे जानकारी भएको थियो जसलाई उनले 'सही बन्न चाहने हामी भित्रको नराम्रो भाग'का रूपमा चित्रण गरेका छन्।
त्यसपछि अरू व्यक्तिले गरेको वा नगरेको भए हुने भनेर आफूलाई लागेका चीजबारे सोच्दा उनले आफ्नो चेतनशील मस्तिष्कले नभई अहम्ले काम गरिरहेको महसुस गरे।

तस्बिर स्रोत, Imboorling
'त्यो मबारे थिएन'
इम्बोले यस्तो अवस्थासँग जुझ्न दुई रणनीति तय गरेका छन्।
पहिलो उनले अर्को व्यक्ति नराम्रो दिनबाट गुज्रिरहेको थियो त्यहीँ भएर उसले त्यस किसिमको खराब अनुभव गरायो। तर त्यो व्यक्तिगत थिएन भन्ने सोच राख्ने भन्ने थियो।
अर्को कहिलेकाहीँ मानिसहरू खुसी हुँदैनन् र कामका लागि आलोचना गर्छन् त्यसैले त्यसलाई स्वीकार गर्नुपर्छ भन्ने थियो।
उक्त सिद्धान्तलाई आफ्नो परीक्षण हुने हिसाबले प्रयोगमा ल्याउनु सबैभन्दा उपयुक्त हुने लागेको उनले बताए।
व्यावसायिक वा तल्लो तहको फुटबल खेलमा रेफ्री हुनु चुनौतीपूर्ण मानिन्छ।
यसमा अपमान र धम्की अनि दुर्व्यवहार समेत सहनुपर्ने हुनसक्छ। "खेलाडीहरू निक्कै अप्ठेरा हुन्छन्। एकदम धेरै अप्ठेरा," इम्बो भन्छन्।

तस्बिर स्रोत, Getty Images
"उनीहरू जे मन लाग्छ, त्यहीँ गाली गर्छन्। उनीहरू एकदमै नजिक आउँछन् र भन्छन्, 'तिमीलाई यो खेलबारे केही थाहा छैन' वा 'तिमी आफ्नो दिमाग प्रयोग गरिरहेका छैनौ'।"
रेफ्रीलाई दुर्व्यवहार गरिनु अहम्मा चोट परेको विषय मात्रै होइन, यसलाई लिएर खेल क्षेत्रमा वास्तविक चिन्ताहरू पनि छन्।
सन् २०१८ मा यूकेमा ७,००० दर्ता भएका रेफ्रीहरू थिए जसमध्ये २०० ले खेलाडी, व्यवस्थापक र समर्थकबाट दुर्व्यवहार, धम्की र हिंसाको जोखिम देखेपछि खेल क्षेत्र त्याग्ने निर्णय लिएका थिए।
तर साधारण अवस्थामा पनि रेफ्रीहरूलाई आफ्ना तनाव, आलोचना र असुरक्षासँग जुझ्न दह्रो मानसिक बलको आवश्यकता पर्दछ।
रेफ्री जस्तै मानसिक रूपमा बलियो बन्दा त्यसले जीवनको सबै क्षेत्रमा मद्दत पुर्याउँछ।

तस्बिर स्रोत, Getty Images
विषाक्त अहम्
"इगो इज द एनीमी" नामक पुस्तकका लेखक रायन होलीडे जस्ता विज्ञहरूले 'विषाक्त अहम्'का कारण हाम्रो खुसी बाह्य प्रमाणीकरणमा निर्भर हुने चेतावनी दिइसकेका छन्।
त्यसले हामीलाई प्रशंसा, स्वीकार र सामाजिक सञ्जालमा समर्थनको भोको बनाउन सक्छ।
त्यस्तो प्रमाणीकरण खोज्ने क्रममा मानिसहरूले आफ्नो जोसिलोपनलाई बेवास्ता गर्न सक्ने, कम सिर्जनशील हुने र कहिल्यै पनि वास्तविक सफलता नपाउने होलिडे बताउँछन्।
त्यसो भए हामीले कसरी आफ्नो अहम्लाई नियन्त्रण गर्न सक्छौँ?

तस्बिर स्रोत, Getty Images
जिराफ र स्यालसँग तुलना
इम्बोले मार्सल बी रोजनबर्गले विकास गरेको अहिंसात्मक सञ्चारको सिद्धान्तमा व्यक्त गरिएको परस्परविरोधी गुणहरू हामी सबैमा रहेको भन्दै दुईवटा जनावरको चर्चा गरे।
स्याल तानाशाही र आलोचनात्मक खालको हुन्छ। जिराफ सुधो तर बलियो हुन्छ।
"पहिलोमा सधैँ अहम् हुन्छ तर दोस्रो दयालु हुन्छ र जोडिन अनि बुझ्न खोज्छ," इम्बो भन्छन्।
दुईवटै गुणसँग बाँच्नु कहिलेकाहीँ असम्भवजस्तो महसुस हुने उनी स्वीकार गर्छन्।
उनले आफ्नो अस्तित्व जिराफभन्दा पनि स्यालसँग मिल्ने भए पनि आफ्नो मान्यताहरू जिराफसँग निकट रहेको बताए।
"म सम्मान र समानतालाई महत्त्व दिन्छु। तर म तुरुन्तै आफ्नो स्यालजस्तो स्वरूपमा गइहाल्छु।"
उनले दुईमध्ये एउटा छान्नुभन्दा दुवैका लागि स्थान दिनु महत्त्वपूर्ण भएको बताए।

तस्बिर स्रोत, Getty Images
उदाहरणका लागि खेलको बेलामा गलत निर्णय भए इम्बो रिसाएका व्यवस्थापकसमक्ष पुगेर आफ्नो गल्ती स्वीकार गर्छन्।
त्यसले अर्को पक्षको अहम् पनि कम गराउने उनको भनाइ छ।
उनको मूल सन्देश छ, "मानिसहरूले तपाईँलाई आलोचना गर्न सक्छन् वा बेवास्ता गर्न सक्छन्। उनीहरूले आफ्ना शब्दले आक्रमण गर्न सक्छन् वा पराजित गर्न सक्छन् वा नराम्रो व्यवहार गर्न सक्छन्।"
"तर सम्झनुहोस्, उनीहरूले जे गर्छन् वा भन्छन्, तपाईँले नै आफ्नो मूल्य र मान्यता कायम राख्ने हो।"









