तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
औलो रोग उपचारः कोभिड खोप निर्माणका आधार बनेको अनुसन्धानप्रति वैज्ञानिकहरू किन उत्साहित
प्रारम्भिक परीक्षणमा औलोविरुद्ध निर्मित एउटाखोप ७७ प्रतिशत प्रभावकारी रहेको र रोगविरुद्ध यो खोप ठूलो उपलब्धि हुन सक्ने यूकेको अक्सफर्ड विश्वविद्यालयका खोप विकासकर्ताले बताएका छन्।
औलोका कारण प्रत्येक वर्ष चार लाखभन्दा बढी मानिसहरूको ज्यान जान्छ र त्यसमा पनि अफ्रिकी क्षेत्रका बालबालिका धेरै पर्छन्।
तर विगत वर्षहरूमा थुप्रै खोपहरूको परीक्षण भए पनि कुनै सफल हुन सकेका थिएनन्।
अनुसन्धानकर्ताहरू जनस्वास्थ्यका लागि खोपको प्रभाव ठूलो पर्नस क्ने बताउँछन्।
बुर्किना फासोमा ४५० बालबालिकामा गरिएको परीक्षणमा खोप सुरक्षित पाइएको छ र विगत १२ महिनामा त्यसको प्रभावकारिता उच्च स्तरको देखिएको छ।
अब यो खोपको प्रभावकारिता पुष्टि गर्न ठूलो स्तरमा परीक्षण गरिनेछ। अफ्रिकाका चारवटा देशमा झन्डै ५,००० बालबालिकामा यो परीक्षण गर्न लागिएको हो र ती बालबालिका पाँच महिनादेखि तीन वर्षसम्मका हुनेछन्।
औलो के हो र कति घातक छ?
परजीवीबाट सङ्क्रमित लाम्खुट्टेको टोकाइबाट औलो रोग मानिसमा सर्छ। यो रोगले मानिसको ज्यान लिन सक्छ।
यो रोगबाट जोगिन सकिने र निको हुन सकिने भए पनि विश्वस्वास्थ्य सङ्गठनले सन् २०१९ मा विश्वभरि २२ करोड ९० लाख मानिसमा औलो देखिएको तथा चार लाख नौ हजार जनाको मृत्यु भएको अनुमान गरेको छ।
ज्वरो आउने, टाउको दुख्ने लक्षण यो रोगमा देखिन्छ र उपचार नगरे ज्वरो बढ्दै गएर मृत्युसम्म जान्छ।
अक्सफर्ड विश्वविद्यालयको खोप विज्ञानका प्राध्यापक तथा यो शोधका सहलेखक एड्रियन हिल कम्तीमा ७५ प्रतिशत प्रभावकारिता हुनुपर्ने विश्व स्वास्थ्य सङ्गठनको लक्ष्यमा पुग्ने यो पहिलो खोप भएको बताउँछन्।
अहिलेसम्म अफ्रिकी बालबालिकामा गरिएको परीक्षणमा औलोको खोपको सबैभन्दा बढी प्रभावकारिता ५५ प्रतिशतसम्म देखिएको थियो।
के छन् विशेषता?
औलोको पछिल्लो खोपको परीक्षण कोरोनाभाइरस देखा पर्नुभन्दा निकै अघि सुरु भएको थियो।
प्राध्यापक हिल भन्छन्ः औलोमाथि भएको अनुसन्धानको बलमा अक्सफर्ड टोलीले कोभिड खोपको विकास गर्यो।
औलोको खोप बन्नका लागि यति धेरै समय लाग्नुमा यसमा हजारौँ जीन रहनु रहेको उनले बताए। जबकि उनका अनुसार कोरोनाभइरसमा करिब एक दर्जन जीन मात्रै हुन्छन्। रोगविरुद्ध लड्न प्रतिरोधात्मक क्षमता उच्च हुनुपर्ने उनी बताउँछन्।
"यो एकदमै प्राविधिक चुनौती हो," उनले भने। "थुप्रै प्रकारका खोपले काम नगर्नुको कारण यो एकदमै कठिन भएर हो।"
यद्यपि प्राध्यापक हिल परीक्षणको परिणामको अर्थ "जनस्वस्थ्यमा ठूलो असर पा्ने सम्भावना रहेको" बताउँछन्।
द लान्सिट जर्नलमा प्रकाशित हुन लागेको शोधमा अनुसन्धान टोलीले R21/Matrix-M को परीक्षण नतिजाबारे जानकारी गराएको छ।
अक्सफर्ड, बुर्किना फासोस्थित ननोरो र अमेरिकाका अनुसन्धान टोलीले औलो उच्च हुने मौसमभन्दा अगाडि मे महिनादेखि अगस्टसम्म खोपको उच्च र न्यून मात्राको परीक्षण गरिएको जनाएको छ।
उच्च मात्रा दिइएको समूहमा खोपको प्रभावकारिता ७७ प्रतिशत र कम मात्राको समूहमा ७१ प्रतिशत देखिएको छ।
बुर्किना फासोको ननोरो क्लिनिकल रिसर्च युनिटका प्रमुख परीक्षण अनुसन्धानकर्ता तथा परजीवीशास्त्रका प्राध्यापक हलिडोउ टिन्टोले परीक्षण "एकदम उत्साहजनक" रहेको र "पहिला कहिल्यै नदेखिएको स्तरमा प्रभावकारिता" देखिएको बताए।
"खोपको ठूलो स्तरको सुरक्षा र प्रभावकारिता देखाउन अब हामी खोपको तेस्रो चरणको परीक्षण हेर्न खोजिरहेका छौँ जुन यो क्षेत्रका लागि निकै आवश्यक छ।"
यो खोप भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गरेको हो र उसले नियामकहरूले स्वीकृति दिएलगत्तै आफूहरूले २० करोड मात्रा बनाएर पठाउन सक्ने बताएको छ।
बुर्किना फासोका स्वास्थ्यमन्त्री प्राध्यापक शार्लमेन ओइडाओगोले अफ्रिकामा बालमृत्युको एउटा प्रमुख कारक औलो रहेको बताए।
"यी नयाँ तथ्याङ्कले अति उपयोगी औलोको खोपले आउँदा वर्षमा अनुमति पाउने देखिएको छ। औलोको नियन्त्रण र थुप्रै जीवन जोगाउनका लागि त्यो एकदमै महत्त्वपूर्ण नयाँ साधन हुनेछ।"