महिलाहरूमा गरिने खतना: आफ्ना छोरीहरूलाई जोगाइरहेका आमाहरूको कथा

तस्बिर स्रोत, Jilla Dastmalchi
- Author, सरोज पाथिराना
- Role, बीबीसी विश्व सेवा
''उनीहरूले मलाई समाते अनि मेरो शरीरको यो अङ्ग काटिदिए। त्यसो किन गरियो मलाई थाहा छैन। यो मेरो जीवनको पहिलो मानसिक आघात थियो। मैले के गल्ती गरेँ जसकारण मैले माया गर्ने पाका मानिसहरूले नै मेरो खुट्टा फट्टाए अनि दुःख दिए? मनोवैज्ञानिक हिसाबले म टुक्रिएको थिएँ।''
लैला (नाम परिवर्तन गरिएको) ११-१२ वर्षकी थिइन् जब उनको अङ्ग्रेजीमा 'फिमेल जेनिटल म्युटिलेशन' भनिने खतना गरियो।
इजिप्टका कट्टरवादी मुस्लिम समुदाय, खासगरी ग्रामीण भेगमा, खतना नगरेसम्म महिलाहरूलाई ''अशुद्ध'' अनि ''विवाहका लागि तयार नभएको'' मानिन्छ।
यो प्रथालाई इजिप्टले सन् २००८ मा गैरकानुनी घोषणा गरिसकेको छ र यस्तो गरेको थाहा पाए त्यसमा संलग्न चिकित्सकहरूलाई सात वर्षसम्म जेल सजाय हुन सक्छ।
यस्तो गर्न वा गराउन खोज्नेहरूलाई तीन वर्षसम्म जेल सजाय हुन सक्छ। र, पनि इजिप्टमा उक्त प्रथा पालना गर्ने मानिसहरूको सङ्ख्या निकै धेरै छ।
''प्लास्टिक सर्जरी''का नाममा समेत खतना गर्ने गरिएको मानव अधिकारको वकालत गर्ने रेडा एल्डनबोउकी बताउँछिन्।
उनको संस्थाले महिलाहरूका कानुनी मुद्दाहरू निःशुल्क लड्छ।
उक्त संस्थाले हालसम्म महिलाहरूका तर्फबाट ३,००० मुद्दा हालेको छ जसमा करिब १,८०० मा जित हात पारेको छ।
कानुन आफूहरूको पक्षमा भए जस्तो देखिए पनि न्याय पाउने विषय भने अर्कै रहे जस्तो देखिने उनी बताँउछन्।
त्यस्तो अभियोगमा पक्राउ परे पनि अदालत र प्रहरी दोषी समक्ष नरम रूपमा प्रस्तुत हुने गरेको एल्डनबोउकीको दावी छ।
लैलाको कथा: 'उनीहरूले मलाई समाते अनि शरीर चिरे …. यी पाका मानिसहरूको मैले के बिगार गरेकी थिएँ र'

तस्बिर स्रोत, Jilla Dastmalchi
करिब तीन दशक अघिको त्यो दिन लैलाको मस्तिष्कमा ताजै छ। उनले विद्यालयको परीक्षा उत्तीर्ण गरेकी थिइन्।
''परीक्षामा राम्रो अङ्क प्राप्त गरेकामा उपहार दिनुको साटो मेरो परिवारले मेरा लागि भनेर सुँडिनीहरूको प्रबन्ध गरे। सबैले कालो रङ्गको कपडा लगाएका थिए। उनीहरूले मलाई बन्द कोठामा राखे र घेरे,'' लैलाले भनिन्।
महिलामा हुने खतना बारे कुरा गर्ने विषयलाई इजिप्टमा वर्जित गरिएको छ जसकारण हाल ४४ वर्षकी उनले चार जनाको आमा बनिसक्दा समेत आफ्नो ठेगाना खुलाउन चाहिनन्।
''सबैको घरमा जस्तै हाम्रो घरमा पनि कुखुरा थिए। मेरो शरीरको त्यो अङ्ग काटेपछि उनीहरूले त्यसलाई कुखुराहरूलाई खानको लागि त्यतै फ्याँकिदिए,'' उनले सम्झिइन्।
त्यस दिनदेखि उनले कुखुराको मासु खान सकेकी छैनन्। उनको आँगनमा कुखुरा पालिएको छैन।
''म सानै थिएँ र त्यो छुट्टीको समय थियो। म खेल्न चाहन्थेँ। खुला रहन चाहन्थेँ। तर म खुट्टा फाटो नपारी हिँड्न सकिरहेकी थिइनँ।''
खतना गरिएका महिला शुद्ध अनि नगर्ने अशुद्ध हुने भन्ने मान्यता उनले बुझ्दिनन्। जब उनले जेठी छोरीलाई जन्म दिइन् उनले त्यो पीडा भोग्न नपरोस् भन्ने चाहन्थिन्।
तर खतना गर्ने प्रबन्ध मिलाउनबाट आफ्ना श्रीमानलाई रोक्न सकिनन्। उनका श्रीमान् परिवार रिझाउन चाहन्थे।
लैलाकी माइली छोरीको उमेर खतना गर्ने हुँदै गर्दा इजिप्टमा त्यसमा प्रतिबन्ध लगाइसकिएको थियो। यसबारे उनले अनलाइन कुराकानी, टिभिमा विज्ञापन हेरेकी थिइन्।
उनले एल्डनबोउकीका भनाइहरू सुन्न थालिन् जसले उनलाई आफ्नो दोस्रो छोरीलाई जोगाउने साहस दियो।
उनले खतना गर्ने योजना त्याग्न र त्यसो नभए सम्बन्ध विच्छेद गर्ने भनी आफ्ना श्रीमानलाई धम्की दिइन्। ''हाम्रा चार बालबच्चा भएकाले उनले घर छाड्न मानेनन्,'' लैलाले भनिन्।
''तर मेरी जेठी छोरीले जे भोगीन् त्यसले मेरो चित्त निकै दुखेको छ। उनको रगत धेरै बग्यो र मैले उनलाई बचाउन सकिनँ। त्यो बेला म उ सँगै बस्न समेत सकिन।''
शरिफाको कथा: ''धेरै रगत बग्यो अनि मलाई अस्पताल दौडाइयो''

तस्बिर स्रोत, Jilla Dastmalchi
आफ्ना बाबुले खतना गरिदिने निर्णय गर्दै गर्दा शरिफा (नाम परिवर्तन गरिएको) करिब १० वर्षकी थिइन्।
''मेरी आमा मेरो खतना गर्ने कुराको विपक्षमा थिइन् जस कारण घरमा आफ्नो भनाइ चल्ने देखाउन अनि उनकी आमा र दिदी बहिनीलाई रिझाउन बुबाले मेरी आमालाई थाहै नदिई मलाई चिकित्सककहाँ लगे,'' उनले भनिन्।
त्यस बेला सामान्यतया प्रयोग नगरिने एनेस्थेसियाको प्रयोग गरिएको हुन सक्ने शरिफा ठान्छिन्।
''म रोइरहेकी थिएँ र मेरा बुवा किन यसको पक्षमा थिए भन्ने मैले बुझिरहेकी थिइनँ। के भइरहेको छ मैले बुझिनँ तर चिकित्सकका अघि शरीरको यो अङ्ग खुला छाड्ने कुरामा मलाई डर लागिरहेको थियो। मलाई केही गलत भए जस्तो लागिरहेको थियो।''
"उसले सुइरो जस्तै देखिने औजार प्रयोग गर्यो र मलाई घोचे जस्तो महसुस भयो। त्यसपछि रगत बग्न सुरु भयो र मलाई अस्पताल दौडाइयो।''
''मेरा बुवा डराए अनि आमालाई यसबारे जानकारी दिए। मलाई केही भइहाल्ला भनेर उनी निकै डराए।''
''उच्च रक्तचाप अनि मुटुको समस्या भएकी मेरी आमा यो खबर सुन्नासाथ बेहोस भइन्,'' उनले भनिन्।
''उनलाई मलाई राखिएकै अस्पतालमा ल्याइयो। उनको मृत्यु त्यहीँ भयो। म अहिले मावलीकी हजुरआमासँग बस्छु।''
शरिफाका बुवाले दोस्रो विवाह गरे।
''उनले मलाई पैसा पठाउँछन्। मेरो अनि आमाको भोगाइका कारण मैले कानुन पढ्ने विषयमा जोड दिएँ,'' महिलाहरूमा गरिने खतनाबारे जागरूकताका लागि कक्षा अनि कार्यशाला सञ्चालन गर्दै आएका एल्डनबोउकीका कक्षामा पुगेकी शरिफाले भनिन्।
जमिलाको कथा: ''खतना गरेपछि म सुँडिनीदेखि डराउन थालेकी थिएँ। उनले ममा फेरि त्यसै गर्लिन् भन्ने मलाई लाग्थ्यो''

तस्बिर स्रोत, Jilla Dastmalchi
३९ वर्षकी जमिला (नाम परिवर्तन गरिएको)को ९ वर्षकी छँदा खतना गरिएको थियो।
''गर्मीको छुट्टीका बेला मेरी आमाले घरमा एक जना बुढी सुँडिनी अनि दुई जना छिमेकीलाई बोलाइन्। सबै कुरा तयार गरेर आमाले मलाई उनीहरूसँग छोडिदिइन,'' जमिलाले भनिन्।
''उनीहरूले मेरो हाफ पाइन्ट खोलिदिए र दुवैले एकएक वटा खुट्टा समाते। सुँडिनीले सानो ब्लेड बोकेकी थिइन् जसले मेरो शरीरको अङ्ग काटिदिइन्। त्यो हेर्न डराएका कारण मेरी आमा त्यहाँ थिइनन्।''
विद्यालयमा निर्धक्क भएर बोल्ने अनि विवेकी मानिने उनमा खतनापछि परिवर्तन आएको जमिला बताँउछिन्। उनी पाका महिलाहरूबाट टाढिँदै गइन्।
''विद्यालयबाट घर फर्कने बाटोमा ती सुँडिनीसँग मेरो भेट हुन्थ्यो। उनलाई छल्न म अर्कै बाटो हिँड्न थाले। उनले फेरि ममाथि त्यस्तै गर्लिन् जस्तो लाग्थ्यो,'' उनले भनिन्।
आफ्ना श्रीमान्सँग यौन सम्पर्क गर्दा अझै पीडा महसुस हुने जमिला बताउँछिन्।
''जीवन त्यसै तनावपूर्ण छ र यौन सम्पर्क झन् झमेला जस्तै लाग्न सक्छ। मैले यसको आनन्द लिन सकेको भए शायद यसले मलाई तनाव कम गर्न मद्दत गर्ने थियो होला। तर अहिले त यसले मलाई झन् झमेला थपेको छ।''
राष्ट्रसंघीय निकाय यूनिसेफका अनुसार इजिप्टमा १५ देखि ४९ वर्षका ८७ प्रतिशत महिलाहरूको खतना गरिएको छ।
इजिप्टका करिब ५० प्रतिशत मानिसहरू यो ''धार्मिक आवश्यकता'' हो भन्नेमा विश्वास गर्छन्।










