महिलामैत्री जिमले कसरी आकर्षित गरिरहेको छ महिलालाई

व्यायाम गर्दै महिला
Published

महिलामात्रैका लागि खोलिएको टर्कीको सबैभन्दा ठूलो जिम बेड्रिए ह्यूल्यले बनाएकी हुन्। त्यसमा महिलामात्रैको स्वामित्व छ र त्यहाँ महिला कर्मचारीमात्रै छन्। त्यसैले ती जिमहरूले महिलालाई तन्दुरुस्त राख्नुको साथसाथै उनीहरूलाई रोजगारी पनि दिन्छ।

तर यसरी लिङ्ग अनुसार फरक फरक जिम खोल्दा त्यसले महिलालाई सघाउ पुर्याउँछ की विभाजनलाई स्थायी बनाउँछ?

बीबीसी टर्कीका नेयरन एल्डेनको रिपोर्ट-

इस्तानबुलस्थित एउटा पुरातनवादी छिमेक उम्रानियमा रहेको बी-फीट जिमबाहिरको पोस्टरमा भनिएको छ, "जिम जानुस्, जीउलाई राम्रो आकारमा ल्याउनुस्... खुसीसँग बाँच्नुस्।"

सानो हाते अक्षरले ढोलामा लेखिएको छ: "पुरुषलाई अनुमति छैन।"

टर्कीमा भएका २ सय २० वटा बी-फीट जिम केन्द्र मध्ये यो एक हो।

उक्त जिम देशकै सबैभन्दा ठूलो जिमहरूको सञ्जाल हो जसमा झण्डै ६ लाख ५० हजार सदस्यहरू छन्।

जिम आउने धेरै महिलाहरू पहिला कहिल्यै जिम नगरेकाहरू छन् र पछिल्ला वर्षहरूमा सबै सदस्यहरूको कूल मिलाएर करिब ६ लाख किलो वजन घटेको छ।

कसरी सुझ्यो उपाय?

बेड्रिए ह्यूल्यले सन् २००६ मा कम्पनी स्थापना गरेकी हुन्। उनले अमेरिकामा महिला मात्रैका लागि जिम देखेपछि आफूले पनि त्यस्तै जिम टर्कीमा खोलेकी हुन्।

उनलाई अमेरिकाको उक्त जिम निकै मन पर्यो र सोचिन्, "हामीलाई पनि टर्कीमा यस्तै केहीको खाँचो छ सायद।"

सुरुमा, मानिसहरूले उनलाई त्यसले काम नगर्ने बताएका थिए।

"उनीहरूले भनेका थिए, 'यो सम्भव छैन किनभने टर्कीमा महिलाहरूले व्यायाम गर्दैनन्,' उनले भनिन्।

"तर मैले त्यो दृष्टिकोणबाट हेरिनँ, मैले केवल अवसरको दृष्टिले हेरेँ।"

बेर्दिए हुल्या Bedriye Hulya
तस्बिरको क्याप्शन, आफ्नो कार्यालयमा बेड्रिए ह्यूल्य

ह्यूल्यले टर्कीमा खेलमा खासगरी फुटबल क्लब, शारीरिक सुगठन गर्ने जिमहरू र बिलियार्ड खेल्ने क्लबहरू भएको पाइन्। तर सबै पुरुषका लागि।

उनले सयौं महिलाहरूसँग कुरा गरिन् र थाहा पाइन् खासगरी व्यायाम गर्नबाट उनीहरूलाई तीनवटा कुराले रोकेको रहेछ। समय, पैसा र जाने ठाउँहरू।

त्यसैले उनले एउटा नमुना तयार गरिन् जसले ती सबै अड्चनलाई पार लगाउँथ्यो।

उनले जिमलाई निकै सस्तो बनाइन्, आधा घण्टामात्रैको व्यायामको तालिका तय गरिन् र प्रत्येक छिमेकमा एउटा जिम खोल्ने निधो गरिन्।

महिलाका लागि कति सहज?

ती जिमहरू फ्र्यान्चाइजका रूपमा सञ्चालित छन्- जसमा सबै स्वामित्व महिलाकै छ र कर्मचारी पनि महिला नै छन्। केवल ३४ प्रतिशतमात्रै महिला काम गर्ने र त्यसमा पनि आफ्नै व्यवसाय गर्ने महिला कम भएको देशमा त्यो महत्त्वपूर्ण हो।

टर्कीमा जम्मा ९ प्रतिशत महिलामात्रै उद्यमी छन्।

"टर्कीमा धेरै महिलाहरू एक्लिएर बसेका छन् र उनीहरू बाहिर जाँदैनन्," महिला र खेलमा अनुसन्धान गरेकी बाचिसहिर विश्वविद्यालयकी समाजशास्त्रकी प्राध्यापक निलुफेर नर्लीले भनिन्।

"उनीहरू धेरै घण्टाहरू टिभी हेरेरै बिताउँछन् तर शारीरिक तन्दुरुस्तीका लागि उनीहरूले केही गरिरहनुपर्छ। स्वास्थ्यका लागि व्यायाम महत्त्वपूर्ण छ, र व्यक्तिको अभिव्यक्ति र अरू मानिससँगको घुलनमिलनका लागि पनि यो महत्त्वपूर्ण छ।"

"टर्कीमा आज धेरै महिलाहरूले धार्मिक परम्परागत बाधाहरू झेलिरहेका छन्," उनले भनिन्।

"उनीहरूका बुवा, दाजुभाइ, श्रीमान्, बिहे गर्ने व्यक्तिले उनीहरूलाई व्यायामका लागि नजानु नै राम्रो हुने भन्न सक्छन् र धेरै महिलासँग सामाजिक गतिविधि र मन बहलाउने खालका कामहरूका लागि पर्याप्त स्रोतहरू छैन।"

मोटोपना टर्कीमा पनि बढिरहेको समस्या हो र पुरुष भन्दा महिला दोबरले बढी भएको देखिन्छ।

सन् २०१८ मा स्वास्थ्य मन्त्रालयले गरेको अनुसन्धान अनुसार देशमा ४१ प्रतिशत पुरुषमा मोटोपना देखिएको छ भने ४१ प्रतिशत महिलामा देखिएको छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार युरोपका देशमध्ये टर्कीमा सबैभन्दा धेरै महिलामा मोटोपना छ।

जीममा हाइड्रलिक मेसिनहरू प्रयोग गरिन्छ।
तस्बिरको क्याप्शन, जीमहरूले हाइड्रलिक मेसिनहरू प्रयोग गर्छन्।

धेरै आम्दानी गर्ने र युवा महिलाहरूले व्यायाममा धेरै भाग लिने देखिन्छ। र यद्पि केही महिलाहरू महिला पुरुष दुवै जाने जीममा जान खुसी हुन्छन् भने अन्य चाहिँ पुरुषसँगै व्यायाम गर्न सजिलो मान्दैनन्।

ह्यूल्य सक्दो धेरै महिलासम्म पुग्न चाहन्छिन्। त्यसैले उनीसँग महिलामात्रैका लागि हुने जिम खोल्नुको विकल्प नरहेको उनले महसुस गरिन्।

"यदि जिम महिला पुरुष दुवैका लागि खोलिएको भए महिलालाई ल्याउन सहज हुँदैन थियो," ह्यूल्यले भनिन्।

"उनीहरूका बुवा, दाजुभाइ, श्रीमान् वा छोरा नै हुनसक्छन्- उनीहरूले जीम जान पठाउँदैन थिए। तर हामी भने महिला जिममा आउन् भन्ने चाहन्थ्यौं।"

सिईद कोचले सदस्यका रुपमा सुरु गरिन् र अहिले उनले तीनवटा जीम किनेकी छन्।

"म सधैँ खेल र स्वास्थ्यमा रुचि राख्थेँ तर मैले व्यायाम गर्न सकिनँ किनभने मैले सहज लाग्ने जिम कहिल्यै भेटिनँ। साथै, टर्कीसँग केही समस्या छ: श्रीमान्‌ले डाहा गर्न सक्छन् र जिम जस्ता ठाउँ जान आफ्ना श्रीमतिलाई रोक्न सक्छन्। मेरा श्रीमान् पनि त्यस्तै हुन्," उनले भनिन्।

"महिलेहरूले यहाँ जस्तो मन लाग्यो त्यस्तै लुगा लगाउन सक्छन्," उनले भनिन्।

"म जस्तो पुरातनवादी सोच भएको महिलालाई यो एकदम महत्त्वपूर्ण छ। अरू केही छन् जो महिलापुरुषकै लागि खोलिएको जिममा जान्छन्। तर उनीहरू पुरुषले घुरेर हेरेको मन पराउँदैनन्। केहीले व्यायाम गरिरहँदा आफ्नो जीउ पुरुषलाई देखाउन सहज महसुस नगर्ने भएकोले यहाँ आउँछन्।"

सईद कोच आफ्नो कार्यालयमा
तस्बिरको क्याप्शन, सईद कोचले तीनवटा जीमका फ्र्यान्चाइज सञ्चालन गर्छ

धेरैजसो जिमभित्र ट्रेडमिल, टेलिभिजन र रोइङ मेसिनहरू छन् र त्यसको बनोट फरक देखिन्छ। खासमा ती कुनै पनि विद्युतबाट चल्ने होइन। यसले लागत कम गर्न सघाउँछ।

बरु, फरक फरक मांसपेशीहरूका लागि काम गर्ने हाइड्रलिक मेसिनहरू वरिपरि गोलो हुने गरी राख्छन्।

त्यसको बीचमा बसेर प्रशिक्षकले पालो अनुसार जिम गर्ने महिलालाई प्रशिक्षण दिन्छन्।

केही सदस्यहरूले आफ्ना सन्तानलाई समेत त्यहाँ ल्याउँछन्- उनीहरूलाई समय बिताउनका लागि त्यहाँ किताबहरू र खेलौनाहरू समेत राखिएको छ।

आफ्ना सदस्यहरूलाई नजिकबाट नियाल्ने कोचले महिलालाई नियमित आउन समस्या हुनसक्ने बताइन्।

छुट्टै व्यवस्थाको विरोध

"हामीले कसैलाई लगातार तीन दिनसम्म आएको देखेनौं भने कहाँ हुनुहुन्छ? किन नआउनु भएको? भनी फोन गर्छौं।"

"मलाई पनि उनीहरूले फोन गर्ने गर्थे र मलाई मनपर्थ्यो मेरो बारेमा उनीहरूले सोचिरहेका छन् भनेर।"

तर सबैजना भने महिलामात्रैलाई लक्षित गरिएको जिमको पक्षमा छैनन्।

गुल्सुम कभ डाक्टर र महिला अधिकारकर्मी हुन्।

महिला पुरुषका लागि छुट्टै हुने जिमले उल्टै असर गर्नसक्ने उनी ठान्छिन्।

"यसले महिलालाई समाजबाट पृथक बनाउँछ," उनले भनिन्, "महिला भएकाले हामी यस्तै खालका महिला मात्रैको किनमेल केन्द्र, सार्वजनिक यातायात जस्ता छुट्टै व्यवस्थाको विरोध गर्छौं।"

"महिलाले पनि पुरुषहरूले नै जिम गर्ने ठाउँमा असहज वा दुर्व्यवहार महसुस नगरी व्यायाम गर्न सक्नुपर्छ। हामीले जब पुरुषलाई अलग गर्छौं तब हामीले पुरुषको व्यवहार सुधार्न सक्दैनौं। हामीले बरु उनीहरूलाई दुर्व्यवहार गर्न मद्दत गरिरहेका हुन सक्छौं। त्यसैले मलाई यो खतरनाक लाग्छ।"

Gulsum Kav
तस्बिरको क्याप्शन, गुल्सुम कभलाई महिला र पुरुषले स्वतन्त्र रुपमा सँगै व्यायाम गर्न पाउनुपर्छ भन्ने लाग्छ।

र, मैले एउटा आइतवार पार्कमा केही मानिसलाई सोध्दा उनीहरूले कभको धारणामा सहमति जनाएका छन्।

"यो किन महिला मात्रैका लागि हुनुपर्छ? पुरुषहरूले तिमीलाई खाँदैनन्!" एक महिलाले हाँस्दै भनिन्।

"हामी सबै मानव हौं। र जिम पनि मिश्रित हुनुपर्छ।"

तर बेड्रिया ह्यूल्य आफूले महिलाहरूलाई व्यायामका माध्यमबाट सशक्तिकरण गर्न मद्दत गरिरहेको विश्वास गर्छिन्।

"जब महिलाले कुनै काम विशुद्ध आफ्ना लागि, आफ्नो स्वास्थ्यका लागि, आफ्नो शरीरका लागि गर्न थाल्छिन् - तब उनले फरक दृष्टिकोणबाट हेर्न थाल्छिन्। उनी पहिलाकै जस्तो फेरि कहिल्यै हुने छैनन्।"

यो मनोभाव बेंगु टेन्यालले पनि अभिव्यक्त गरेकी छन् जो ३९ वर्षकी हुन् र तीन वर्षदेखि सदस्य रहँदै आएकी छन्।

"म धेरै खुसी छु र महिलाको खुसी भनेको परिवारको खुसी हो," उनले भनिन्।

"कुनै बेला म नाँच्दै घर जान्छु र मेरो छोरीले भन्छिन्: 'आमा, अरू आमाहरू घरमा आउँछन् तर हाँस्दैनन्। तर तपाईँ आउनुहुन्छ र मसँगै नाँच्नुहुन्छ!'"

जुम्बा डान्स
तस्बिरको क्याप्शन, जुम्बा डान्स गर्दै महिला

बितेका वर्षहरूमा ह्यूल्यले व्यायामले गर्दा मानसिक स्वास्थ्यमा सकारात्मक असर परेको देखेकी छन्।

"हामीले बी-फिटमा सदस्य बनेका धेरै सदस्यहरू उनीहरूले सुरु गर्दा वितृष्णामा रहेको देखेका थियौं र केही हप्तामै हामीले उनीहरूमा त्यस्तो नैराश्यता हटेको देख्यौं," ह्यूल्याले भनिन्।

उनले अहिले यो विषय विद्यावारिधि गर्दै छिन् र यी शिक्षाहरू आफूमा लागू गर्ने पक्का गरेकी छन्।

"म दैनिक ‍व्यायाम गर्छु," उनले भनिन्। "यदि तपाईँले राम्रो जीवन चाहनुहुन्छ भने चल्नै पर्छ। व्यायाम गर्नैपर्छ।"