न्यूरोएन्डोक्राइन ट्यूमरः पूर्वप्रधानमन्त्री भट्टराईले 'शङ्का' लागेर परीक्षण गराइरहेको रोग कस्तो हो

न्यूरोएन्डोक्राइन ट्यूमर भएको आशङ्कामा थप परीक्षण र उपचार गराउन भारत गएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मङ्गलवार दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको जानकारी उनका स्वकीय सचिव विश्वदीप पाण्डले दिएका छन्।

भट्टराईले सामाजिक सञ्जालमा औषधोपचारका लागि आफू भारत जान लागेको बताएपछि उक्त रोग के हो भन्ने जिज्ञासा धेरैमा उत्पन्न भएको देखिन्छ।

पाण्डेका अनुसार नेपालमा चिकित्सकहरूले दिएको सल्लाह र सिफारिसबमोजिम भट्टराई भारत गएका हुन्।

यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले भक्तपुर क्यान्सर अस्पतालकी रेडिएशन अन्कोलजिस्ट डा. श्वेता बरालसँग कुराकानी गरेर उक्त रोगबारे सोधेका छन्।

प्रस्तुत छ डा. बरालसँग गरिएको कुराकानी सम्पादित अंशः

न्यूरोएन्डोक्राइन ट्यूमर भनेको के हो?

मानव शरीरभित्र धेरैथरी कोषहरू हुन्छन्, गन्थ्रिहरू हुन्छन्। न्यूरोएन्डोक्राइन ट्यूमर अर्थात् एनईटी मानिसको शरीरमा हुने तिनै ग्रन्थिमा बन्ने ट्यूमर हो।

यसका तीनवटा ग्रेड हुन्छन्: ग्रेड वनलाई लो-ग्रेड ट्यूमर, ग्रेड टूलाई इन्टरमीडीअट-ग्रेड ट्यूमर र ग्रेड थ्रीलाई हाई-ग्रेड ट्यूमर भनिन्छ।

न्यूरोएन्डोक्राइन ट्यूमरको उपचार कसरी गरिन्छ?

लो-ग्रेड र इन्टरमीडीअट-ग्रेड ट्यूमर हुँदा धेरैजसो शल्यक्रिया गरेर झिक्ने गरिन्छ। हाई-ग्रेड ट्यूमर भयो भने कीमोथेरपी पनि दिनुपर्छ।

खाना निल्ने नलीमा, पेटमा, आन्द्रामा अथवा निकाल्न मिल्ने ठाउँमा छ त्यस्तो ट्यूमर भने शल्यक्रिया मात्र गरिन्छ।

शल्यक्रिया गरेर पूरै निकाल्न मिल्नेरहेछ भने निकालेर पछि बेलाबेला निगरानी गरिन्छ।

यस्ता ट्यूमर शरीरका कुनकुन अङ्गमा आउन सक्छन्?

न्यूरोइन्डोक्राइन ट्यूमर ग्रन्थिहरू भएका धेरै अङ्ग वा भागमा आउन सक्छन्। फोक्सो वा पेटमा मात्र भन्ने हुँदैन।

पेटको पनि धेरै ठाउँमा, कहिलेकाहीँ थाईमस भनिने ग्रन्थिमा, फोक्सोमा, आन्द्रामा, पाचन नलीमा, दिसा गर्ने ठाउँमा आउन सक्छ।

यो ट्यूमर सानो हुन्छ। कहिलेकाहीँ थाहा पनि हुँदैन र अरू परीक्षणहरू गराउँदा मात्र थाहा हुन्छ।

कहिलेकाहीँ बिरामीलाई दुखेर जस्तो कि गिर्खाहरूमा देखियो भनेर ढाड दुखेर, पेट दुखेर थाहा हुन्छ।

कहिलेकाहीँ आन्द्रामा ठूलो ट्यूमर भएछ भने आन्द्राबाट दिसा रोकिँदा पनि हुन सक्छ।

ग्रेड थ्री नभएसम्म ट्यूमर जहाँ छ त्यहीँ रहन्छ, फैलिँदैन। ग्रेड थ्री भयो भने फैलिने सम्भावना एकदमै धेरै हुन्छ।

यो कत्तिको घातक हुन्छ?

ग्रेड थ्री घातक हुन्छ। ग्रेड वन वा टूको हकमा शल्यक्रिया गरेर पूरै फाल्न मिल्ने रहेछ भने त्यस्तो अवस्थामा शल्यक्रियापछि बिरामीहरू १० वर्षसम्म बाँच्ने सम्भावना ८०-९० प्रतिशतसम्म हुन्छ।

शल्यक्रिया गरेर पूरै फाल्न मिल्ने रहेछ भने फालेपछि ट्यूमर फेरि हुने वा फैलिने सम्भावना पनि एकदमै कम हुन्छ।

नेपालमा न्यूरोएन्डोक्राइन ट्यूमर कति फेला पर्छ?

हामीकहाँ सबै क्यान्सरसम्बन्धी नै तथ्याङ्क पाउन गाह्रो छ। तर न्यूरोएन्डोक्राइन ट्यूमर विरलै हुन्छ।

कतिपय ट्यूमरको हकमा कीमोथेरपीको भूमिका हुन्छ, त्यसले ट्यूमर घट्ने अथवा निको हुने हुन्छ। जस्तो कि पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर निको हुन्छ।

तर न्यूरोएन्डोक्राइन ट्यूमरको हकमा कीमोथेरपीले राम्रो काम गर्छ भन्ने छैन।

नेपालमा यसको परीक्षण तथा उपचारको अवस्था के छ?

नेपालमा शल्यक्रिया पनि हुन्छ, रेडिओथेरपी पनि हुन्छ। ग्रेड थ्रीमा गरिने कीमोथेरपी पनि हुन्छ।

तर न्यूरोएन्डोक्राइन परीक्षण गर्न प्रयोग गरिने 'डोटा सीटी स्क्यान'को सुविधा नेपालमा उपलब्ध छैन।

ट्यूमर कहाँकहाँ फैलिएको छ र कस्तो छ भन्ने कुरा त्यसबाट पत्ता लगाइन्छ। डोटा सीटी स्क्यान जटिल र महँगो पनि हुन्छ।