भारत चीन सीमा विवाद: गलवानमा चार चिनियाँ सैनिक मारिएको चीनद्वारा किन ढिलो स्वीकार

तस्बिर स्रोत, Getty Images
चीनले आठ महिना बितेपछि यसै साता शुक्रवार गत जुनमा गलवान उपत्यकामा भारतीय सैनिकसँगको सङ्घर्षमा आफ्ना पनि सैनिक मारिएको स्वीकार गर्यो।
चीनको जनमुक्ति सेनाले उसका कुल चार सैनिक मारिएको पुष्टि गरेको छ।
सो सङ्घर्षमा २० जना भारतीय सैनिक मारिएको भारतले त्यतिखेरै जनाएको थियो। तर चीनले भने मुख खोलेको थिएन।
तर शुक्रवार अचानक चीनले जुन २१,२०२० मा भारत र चीनका सैनिकहरूबीच भएको हिंसक झडपको भिडिओ फुटेज पनि सार्वजनिक गर्यो।
किन ढिलो स्वीकार?
आठ महिनादेखि यो विषयमा चुप रहेको चीनले यो साता जब दुवै देशका सैनिक विवादित इलाकाहरूबाट पछाडि हट्न थालेका छन् तब आएर मुख किन खोलेको होला भन्ने प्रश्न धेरैको मनमा उब्जिएको छ।
शुक्रवारको नियमित प्रेस सम्मेलनमा चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता ह्वा चुनयीङ्ले यसबारे प्रस्ट पार्ने प्रयास गरिन्।
"गलवान उपत्यकामा गत जुनमा भएको सङ्घर्षमा दुवैतर्फ हताहती भयो। सम्पूर्ण जिम्मेदारी भारतीय पक्षको रहेको छ। दुई देश तथा दुई सेनाबीचको समग्र सम्बन्धलाई ध्यानमा राखेर चीनले उच्चस्तरको संयम अपनायो ताकि स्थिति सेलाओस् र सहज होस् - जसले मुख्य देश भएको आधारमा चीनले देखाएको उदारता र उच्च जिम्मेवारी बोध झल्काउँछ," चुनयीङ्ले भनिन्।
उनले भारतीय पक्षले बारम्बार यो विषयलाई सनसनीपूर्ढ बनाउने प्रयास गरेको अनि तथ्य बङ्ग्याएर अन्तर्राष्ट्रिय जनमतलाई गलत दिशा दिन खोजेको आरोप पनि लगाएकी छन्।

तस्बिर स्रोत, Reuters
४५ वर्ष यताको घातक सङ्घर्ष
गलवानको घटना दुई छिमेकीबीच ४५ वर्षपश्चात् भएको पहिलो घातक सङ्घर्ष थियो।
शुक्रवार चिनियाँ सेनाको समाचार निकाय पीएलए डेलीले गलवानमा मारिएका 'बहादुर' सैनिकहरू जसले आफ्नो 'यौवन, रगत, र जीवन' बलिदान दिए भन्दै नाम खुलाएको छ।
भारत र चीनबीच दशकौँदेखि सीमा विवाद छ। जसको मुख्य कारण वास्तविक नियन्त्रण रेखा भनिने अस्पष्ट रूपमा व्याख्या गरिएको झन्डै ३५ सय किलोमिटर लामो विवादित सिमाना रहेको छ।
दुई देशबीच झडप हुँदा बन्दुक वा विस्फोटक पदार्थ प्रयोग नगर्ने पुरानो सहमति छ।
यो वर्षको ज्यानुअरीमा पनि दुई देशका सेनाबीच भारतको उत्तर पूर्वस्थित सिक्कीम राज्यस्थित सिमानामा झडप भएको थियो जसमा दुवै देशका सैनिक घाइते भएका थिए।
तर त्यसयता दुवै सेनाले सिमानाका निश्चित् स्थानहरूबाट पछाडि हट्ने सहमति गरेका छन्।








