भारत-चीन सीमा विवाद: गलवान उपत्यकामा दुई छिमेकीबीच भएको भिडन्तबारे नेपाल बोल्यो

तस्बिर स्रोत, MOFA, Nepal
भारत र चीनका सैनिकहरूबीच गलवान उपत्यकामा गत सोमवार राति भएको हिंसक सङ्घर्षबारे औपचारिक प्रतिक्रिया जनाउँदै नेपालले देशहरूबीचको विवाद शान्तिपूर्ण उपायबाट सुल्झाउनुपर्ने भनेको छ।
छिमेकी दुई ठूला राष्ट्रबीच दशकौँपछि भएको त्यस्तो भिडन्तबारे पाँच दिनपछि नेपालले पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गरेको हो।
नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "दुवै छिमेकी देशहरूले असल छिमेकीको भाव बोक्दै आपसी मतभेदलाई शान्तिपूर्ण रूपबाट द्विपक्षीय, क्षेत्रीय र विश्व शान्ति र स्थायित्वको पक्षमा हुनेगरी सुल्झाउनेछन् भन्नेमा नेपाल विश्वस्त छ।"
घटना र प्रतिक्रिया
शनिवार नै चीनले पहिलो औपचारिक प्रतिक्रिया दिँदै दुई देशको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भएको भिडन्तलाई भारतीय सुरक्षाकर्मीको 'नियोजित उक्साहट' भनेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिएन झाओले भारतीय फौज चिनियाँ भूभागमा प्रवेश गरेर आक्रमण गरेपछि 'भीषण युद्ध' निम्तिएको बताए।
उनले चिनियाँ फौजको हताहतबारे भने विवरण दिएनन्।
शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि विदेशी सेना भारतीय क्षेत्रमा प्रवेश नगरेको र भारतीय भूमि नगुमेको बताएका थिए।
गलवान उपत्यकामा भएको भिडन्तमा बीस भारतीय सैनिक मारिएका थिए।
भारतले भिडन्तमा दुवै पक्षको क्षति भएको बताएको छ।

शुक्रवार नै अमेरिकाले प्रतिक्रिया दिँदै भारतप्रति आफ्नो संवेदना प्रकट गरेको थियो।
भारतले भिडन्तमा दुवै पक्षको क्षति भएको बताएको छ।








