इजिप्टमा फेला परेको ५,००० वर्ष पुरानो बीअर कारखाना किन विशेष

अबाइडसस्थित बीअर कारखना

तस्बिर स्रोत, EPA

इजिप्टमा पुरातत्त्वविद्हरूले झन्डै ५,००० वर्ष पुरानो एउटा बीअर उत्पादन स्थल फेला पारेका छन्। उनीहरूका अनुसार त्यहाँ भएको कारखाना ठूलो मात्रामा बीअर उत्पादन गर्ने संसारकै सबैभन्दा पुरानो कारखाना हुनसक्छ।

अमेरिका र इजिप्टका पुरातत्त्वविद्हरूको संयुक्त टोलीले मरुभूमिस्थित अबाइडस क्षेत्रमा सो कारखाना भेटेका हुन्। सो स्थानमा प्राचीन समाधिस्थल पनि छ।

बीअर बनाउन अन्न र पानी मिसाउनका लागि प्रयोग भएका झन्डै ४० वटा भाँडासहित विभिन्न भागहरू पुरातत्त्वविद्हरूले भेटेका छन्।

उक्त कारखाना राजा नार्मरको शासनकालको हुनसक्ने अनुमान इजिप्टको पुरातात्त्विक निकायको छ।

अबाइडसमा फेला परेको स्थानमा "ठूलो मात्रामा बीअर उत्पादन हुने संसारकै सबैभन्दा पुरानो कारखाना" भएको उसले जनाएको छ।

राजा नार्मरले ५,००० वर्षभन्दा अघि शासन गरेका थिए।

उनको राजवंशले इजिप्टलाई एकीकरण गरेको विश्वास गरिन्छ।

के छ बीअर कारखानाको विशेषता?

उक्त कारखानामा आठवटा ठूला भाग छन्। प्रत्येक भागको लम्बाइ २० मिटर छ।

अबाइडसस्थित बीअर कारखना

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, यो स्थानमा हजारौँ लिटर बीअर उत्पादन हुने गरेको अनुमान छ

प्रत्येकमा ४० वटा माटोका भाँडाहरू दुई लहरमा मिलाएर राखिएको इजिप्टको पुरातात्त्विक परिषद्का महासचिव मोस्तफा वाजिरीले बताए।

अन्न र पानीलाई ती भाँडाहरूमा राखेर तताउँदा तिनको पीँधलाई माटोको उत्तोलकमा राखिने गरेको उनले बताए।

केका लागि धेरै परिणाममा बीअर?

त्यहाँ एक पटकमा २२,४०० लिटर बीअर उत्पादन गरिएको हुन सक्ने अनुमान गरिएको छ।

राजाहरूको अन्तिम संस्कारका लागि गरिने कर्मकाण्डका लागि आवश्यक मदिरा उपलब्ध बनाउन यो स्थानमा बीअर उत्पादन कारखाना बनाइएको हुन सक्ने जानकारी पुरातत्त्वविद् तथा खोज अभियानका सहप्रमुख म्याथ्यू एडम्सले दिएका छन्।

उनी न्यूयोर्क यूनिभर्सिटीसँग आबद्ध छन्। इजिप्टको पर्यटन मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा एडम्सको भनाइ उद्धृत गरिएको छ।

अबाइडसस्थित बीअर कारखना

तस्बिर स्रोत, Reuters

ती स्थानमा उत्खनन गर्दा परम्परागत विधिविधानमा बीअर प्रयोगको प्रमाण फेला परेको विज्ञप्तिमा उल्लेख छ।

दक्षिणी इजिप्टमा पर्ने अबाइडस एउटा प्राचीनतम नगर हो।

त्यहाँ धेरै मन्दिर र चिहानहरू छन्।

दुई साताअघि एलेक्जेन्ड्रियामा सुनको जिब्रो भएका २,००० वर्ष पुराना ममीहरू फेला परेका थिए।

2px presentational grey line

तपाईँलाई यो पनि मन पर्न सक्छ

अडिओ क्याप्शन सुरु हुँदैछ, १७,००० वर्षपछि बजेको शङ्खबाट यस्तो ध्वनि आयो