म्यान्मार कू: सेनाविरुद्ध प्रदर्शन हुँदा इन्टरनेट बन्द, प्रहरीलाई गुलाफको फूल

प्रदर्शनकारी

तस्बिर स्रोत, EPA

म्यान्मारको सैनिक सत्ताले सोमवार भएको कूविरुद्ध हजारौँ मानिसहरू ठूलो र्‍यालीमा सहभागी भएपछि इन्टरनेट बन्द गरिदिएको छ।

निगरानी समूह नेटबल्क्स इन्टरनेट अब्जरभेटरीका अनुसार इन्टरेनटमा करिब पूर्ण अवरोध छ र सामान्य अवस्थाको इन्टरनेट सम्पर्क सेवा १६ प्रतिशतमा झरेको छ।

देशको मुख्य सहर याङ्गुनमा भिडले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन्।

दङ्गा प्रहरीहरूले सहरको मुख्य भागमा मुख्य मार्गहरू बन्द गरेका छन्।

अवज्ञाको आग्रह

प्रदर्शनका निम्ति मानिसहरू परिचालन गर्न नदिन सेनाले इन्स्टाग्राम र ट्विटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको हो।

एक दिनअघि फेसबुकमा प्रतिबन्ध लगाइएको थियो।

कैयौँ मानिसले भर्चूअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध छलेका छन्।

तर अन्यथा सबैजसो सेवा गम्भीर रूपमा अवरुद्ध भएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, म्यान्मार कू: नेपालीभाषीलाई कस्तो असर पर्ला?

फूल दिँदै समर्थन माग्दै

समाचारसंस्था रोयटर्सका अनुसार नागरिक समाजका सङ्गठनहरूले अवरोध निर्देशनको अवज्ञा गर्न इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवालाई आग्रह गरेका छन्।

मानवाधिकारवादी समूह एम्नेस्टी इन्टरन्याश्नलले सेवा अवरोधलाई "घृणित र धृष्ट" कदम भनेको छ।

सेनाले अवरोधबारे कुनै टिप्पणी गरेको छैन।

सुरक्षाकर्मी

तस्बिर स्रोत, EPA

उसले फेब्रुअरी १ मा भएको कूसँगै इन्टरनेट सेवामा आंशिक रोक लगाएको थियो।

शनिवार उद्योगका श्रमिक र विद्यार्थीसहित प्रदर्शनकारीहरूले सेनाद्वारा बन्दी बनाइएका निर्वाचित नेत्री आङ सान सू ची र अन्यलाई रिहा गर्न माग गरेका छन्।

याङ्गुन सहरका सडहरूमा र्‍याली भइरहँदा नगरबसहरूले हर्न बजाएर त्यसमा समर्थन जनाएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, एरोबिक्स गर्दागर्दै म्यान्मारमा सैन्य कू

दर्शकहरूले तीनवटा औँला उठाउँदै अभिवादन गरेका थिए।

त्यसरी गरिने हङ्गर गेम्स सलूट उक्त क्षेत्रमा तानाशाहविरुद्धको साङ्केतिक अवज्ञा बन्न पुगेको छ।

प्रदर्शनकारीहरूले प्रहरीहरूलाई गुलाफको फूल र पिउने पानी दिएर नयाँ शासकलाई नभई जनतालाई समर्थन गर्न आग्रह गरेका थिए।

"हामी यहाँ अर्को पुस्ताको निम्ति लड्न आएका छौँ, सैन्य तानाशाहबाट उनीहरूलाई स्वतन्त्र पार्न," र्‍यालीमा सहभागी एक महिलाले समाचार संस्था एएफपीसँग भनिन्, "अब हामीले त्यसको अन्त्य गर्नुछ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, सू चीकी नेपाली गुरुआमा के भन्छिन्?