माघे सङ्क्रान्ति: १०५ वर्षे तुल्सीनारायण जो चाकु बेच्न टोखाबाट नुवाकोट पुग्थे

१०५ वर्षीय तुल्सीनारायण।

तस्बिर स्रोत, Shyam Shrestha

    • Author, कमल परियार
    • Role, बीबीसी न्यूज नेपाली

काठमाण्डूको टोखाका १०५ वर्षीय तुल्सीनारायण श्रेष्ठ अचेल चाकुको स्वाद, कच्चापदार्थ र बनाउने विधिबारेमा खासै सन्तुष्ट छैनन्।

तर जीवनको अधिकांश समय उखु खेती, चाकु उत्पादन र बेचबिखनमा सक्रिय रहेका उनी अहिले टोखाको चाकु प्रसिद्ध बनेकोप्रति भने खुसी छन्।

माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्तिमा विशेष रूपमा खाइने घ्यू चाकु, तिलको लड्डुसँगै स्थान अनुसार फरक-फरक परिकार खाने प्रचलन छ।

तर चाकुको लागि अहिले पनि टोखा चर्चित छ तर चाकु उत्पादन पहिलेभन्दा धेरै फरक बनेको श्रेष्ठ सम्झन्छन्।

तुख्य हुँदै टोखा

उखु धेरै रोपिने भएकाले उक्त स्थानको नाम टोखा बनेको बताउँदै टोखा नगरपालिकाकै ज्येष्ठ सदस्य भनिएका श्रेष्ठ भन्छन्।

उनले भने, "म जान्ने हुँदादेखि नै टोखा उखुबारीले भरिएको थियो। त्यहीँ बारीका बीचबीचमा उखु पेलिन्थ्यो र चाकु बनाइन्थ्यो।"

नेपाल भाषामा 'तु'को अर्थ उखु र 'ख्य'को अर्थ बारी हुने भएकाले तुख्य हुँदै पछि टोखा भनिन थालिएको स्थानीय बासिन्दाको भनाइ छ।

श्रेष्ठ अहिले कमैमात्र हिँडडुल गर्छन् तर उमेर छँदा उनी नुवाकोट र रसुवासम्म चाकु बेच्न पुग्थे।

तुल्सीनारायण श्रेष्ठ

तस्बिर स्रोत, Shyam Shrestha

उखुबारीमा घरैघर

झन्डै २० वर्षको उमेरबाट आफूले चाकु बेच्न थालेको स्मरण गर्दै उनले भने, "दुई दिन हिँडेर नुवाकोट पुगिन्थ्यो र चाकुसँग कोदो, मकै वा धान साटेर पुनः त्यसलाई बजारमा बिक्री गरेर पैसा कमाइन्थ्यो।"

"तर आजकाल त्यति बेलाको जस्तो दुःख पनि छैन र स्वाद पनि छैन।"

बढ्दो सहरीकरणका कारण उखु खेती हराएको र बढ्दो माग अनुसारको उत्पादनका लागि भारतीय सख्खरमै निर्भर हुनुपरेको स्थानीय व्यवसायीहरूको भनाइ छ।

टोखाको परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले आफैले उखु उत्पादन गरेर चाकु बनाउने कोसिस गरेको भए पनि जग्गा पाउन कठिन रहेको बताए।

कुनै बेला टोखा क्षेत्र उखु र धान बालीले भरिएको स्मरण गर्दै वयोवृद्ध श्रेष्ठ हाल टोखा क्षेत्र घरघरैले भरिएको प्रति चिन्ता व्यक्त गर्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दिदीबहिनी पूजा गरिने मगर समुदायको माघे सङ्क्रान्ति

कसरी बन्थ्यो उखु?

चाकु उत्पादन विधिमा समेत आएको परिवर्तनले मानिसलाई काम गर्न सजिलो बनेको १०५ वर्षीय श्रेष्ठको भनाइ छ।

उनका अनुसार उखु काटेपछि ओसिलो ठाउँमा १०-१२ दिन पुरेर राखिन्थ्यो र बारीमै गोलाकार काठका खम्बाका बीचमा उखु पेलेर रस निकाल्न मिल्ने घरेलु उपकरण बनाइन्थ्यो।

उनले भने, "बलिया र सिपालु मान्छेले मात्रै ती काठका खम्बा घुमाउन सक्थे र राम्रोसँग रस जम्मा पार्न सक्थे।"

त्यसरी बारीमै उखुको रसलाई तताएर चाकु बनाउँदा निकै रमाइलो हुने गरेको सुनाउँदै उनी थप्छन्, "कैयौँ रात त हामी बारीमै उखुको पहरा गरेर बिताउँथ्यौ नत्र चोरीको ठूलो खतरा हुन्थ्यो।"

किन खाने चाकु?

बेच्न र घरमा वर्षभरिलाई खानका लागि छुट्टाछुट्टै चाकु बनाउने गरिएको उनको भनाइ छ।

हाल आफ्ना नाति श्याम श्रेष्ठसँग बस्दै आएका उनले चाकु खाँदा शरीर पोसिलो हुनुका साथै रोग नलाग्ने हुनाले सबै उमेर समूहका मानिसलाई फाइदा पुग्ने बताउँछन्।

चाकुसँगै चिउरा खान आफूलाई निकै मन पर्ने बताउँदै उनले भने, "आजकल स्वादको लागि नरिवल, बदामका साथै विभिन्न मसला राख्ने चलन छ। तर हामीले केही राख्दैनथ्यौँ। तर पनि निकै मिठो हुन्थ्यो।"

माघे सङ्क्रान्ति मनाउँदा चाकु खानुको साथै छालासम्बन्धी रोग नाश गर्न जिउभरि तेल लगाउने चलन अहिले मरेर गएकोप्रति पनि उनी बेखुस छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, माघे सङ्क्रान्ति: टोखाको चाकुको प्रसिद्धि

नाम कायम राख्ने प्रयास

उनका नाति श्याम श्रेष्ठ भन्छन्, "शारीरिक अवस्थाका कारणले अहिले उहाँले खासै चाकु नखाए पनि केही वर्ष अघिसम्म नियमित जसो खानुहुन्थ्यो।"

टोखाको परम्परागत चाकुलाई जोगाउन र स्थानीय व्यवसायीलाई प्रोत्साहन गर्न अनुदान दिने र उखु उत्पादनका लागि जग्गा खोज्ने कार्य जारी रहेको टोखा नगरपालिकाको भनाइ छ।

टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोल भन्छिन्, "तुल्सीनारायण जस्ता पुराना चाकु उत्पादकको सीप र योगदानलाई कदर गर्न हामीले निकै प्रयास गरिरहेका छौँ।"

पछिल्ला वर्षहरूमा विदेशबाट समेत टोखाको चाकुको माग बढ्ने क्रममा रहेकोले टोखामा उत्पादन हुने चाकुको गुणस्तरमा एकरूपता ल्याउन समेत आफूहरू जुटेको समाजका अध्यक्ष श्रेष्ठले बताए।

झन्डै एक महिनाअघि मात्र आफ्नो १०२ वर्षका माहिलो भाइ गुमाएका यस वर्ष आफूले माघे सङ्क्रान्ति नमनाउने बताउँदै तुल्सीनारायणले भने, "तपाईँहरूले टोखाको चाकु खानुहोला, शुभकामना।"