‘किम्ची युद्ध’ र अन्य पाँचवटा ‘खाद्य लडाइँ’

तस्बिर स्रोत, Getty Images
दक्षिण कोरिया र चीनबीच पछिल्ला केही दशकमा विभिन्न कारणले कूटनीतिक तनाव निम्तिए। तर धैरै मानिसलाई आश्चर्य लाग्न सक्छ। पछिल्लो विवाद बन्दाकोबीको अचारको परिकारसँग सम्बन्धित थियो।
सोल र बेइजिङबीच डिसेम्बर महिनाको शुरूमा विवाद उत्पन्न हुनुको कारण चीनले सिचुआन प्रान्तको एउटा परिकार पाओ चाइ बन्न पुग्यो।
दक्षिण कोरियाको विश्वचर्चित परिकार किम्चीसँग मिल्दोजुल्दो पाओ चाइलाई अन्तर्राष्ट्रिय प्रमाणपत्र दिइएपछि पछिल्लो घटनाक्रमको विकास भएको थियो।
त्यसपछि चीनको सरकारी समाचारपत्र द इन्टरन्याश्नल टाइम्सले गुणस्तर मापदण्ड हेर्ने अन्तर्राष्ट्रिय निकाय इनटरन्याश्नल अर्गनाइजेशन फर स्टयान्डर्डआइजेशन (आइएसओ)ले चीनको नेतृत्वमा रहेको पाओ चाइलाई अन्तर्राष्ट्रिय किम्ची उद्योगको मापदण्डका रूपमा स्वीकार गरिएको प्रतिक्रिया दियो।
आइएसओले उक्त दाबीलाई अस्वीकार गर्दै त्यो किम्ची नभई पाओ चाइको हकमा मात्रै लागु हुने बताएको भए पनि दक्षिण कोरियाको कृषि मन्त्रालयले आधिकारीक रूपमा चीनसँग विरोध जनायो।
त्यसपछि उक्त परिकारका राष्ट्रवादी पारखीहरू समाजिक सञ्जालमा एकअर्काविरुद्ध आक्रोश व्यक्त गर्दै पक्षविपक्षमा उत्रिए।
तर परिकारको उत्पत्तिलाई लिएर भएको यो पहिलो विवाद होइन। यहाँ पाँचवटा त्यस्ता विवादरू प्रस्तुत गरिएको छः
दक्षिण अमेरिका: आलुको उत्पत्तिलाई लिएर विवाद
विश्वको मुख्य खाद्यान्नमा पर्ने आलु दक्षिण अमेरिकाबाट उत्पत्ति भएको हो।
सन् १५३० को दशकमा स्पेनी अतिक्रमणपछि आलु युरोपमा पुगेको थियो।
तर जब युरोपमा आलुको बीउका बारेमा जानकारी गराइयो, उत्तर अमेरिकामा राष्ट्रिय सीमाहरू नै थिएनन्।
त्यसकै कारण १९ औँ शताब्दीमा युद्धसहित तनावको इतिहास रहेका छिमेकी पेरु र चीलेले आलुमाथि दाबी पेश गरे।

तस्बिर स्रोत, Getty Images
कला र विज्ञान दुवैमार्फत् आफ्ना तर्क प्रस्तुत गरेका चीलेका नागरिकहरूले साहित्यतर्फको नोबेल पुरस्कार विजेता पाब्लो नेरुदाको “एन ओड टु द पोट्याटो” नामक कविताको पनि चर्चा गरेका थिए।
चीलेको कृषि मन्त्रालयले सन् २००८ मा विश्वका ’९९ प्रतिशत आलुको कुनै न कुनै रूपमा आनुवंशिक सम्बन्ध चिलेको आलुसँग भएको’ उल्लेख गरेको थियो।
त्यसबाट आक्रोशित भएका पेरुका अधिकारीहरूले आलुको मुख्य पुर्खा लेक टिटिकाको उत्तरी तटमा पर्ने क्षेत्रबाट आएको भन्ने आफ्ना विज्ञहरूले प्रतिवेदन दिएको बताए।
पेरूका अधिकारीहरूले आफ्नो देशको उक्त बालीले ‘युरोपलाई भोकबाट जोगाएको’ भन्दै धक्कु लगाउने गरेका छन्।
हुमुस: मध्यपूर्वको झगडा
मध्यपूर्वका धेरै देशले सानो खालको चनाको पिनेर बनाइने हुमुस कहाँ उत्पत्ति भयो भनेर विवाद गरिरहेका छन्।
तर इजरेल र लेबनानले विवादलाई नयाँ तहमा पुर्याउने क्रममा उक्त परिकार आफ्नो सभ्यताको हिस्सा रहेको बताए।
इजरेलका विज्ञहरूले उदाहरणका लागि दुई हजार वर्षभन्दा पनि पुराना यहूदी दस्ताबेजहरूमा त्यसबारे चर्चा भएको बताए।

तस्बिर स्रोत, Getty Images
सन् २००८ मा लेबनानी उत्पादकहरूले गैरकानुनी रूपमा हुमुस आफ्नो भन्दै बजारीकरण गरेको भन्दै इजरेलविरुद्ध कानुनी कारबाही अघि बढाए।
लेबनानले हुमुसलाई लेबनानको परिकारका रूपमा मान्यता दिन युरोपेली सङ्घमा निवेदन नै दर्ज गरायो।
दुवै प्रयास विफल भयो र ईयूले उक्त परिकार इजरेल पनि समेटने सम्पूर्ण मध्यपूर्वको खानेकुरा भएको निष्कर्ष सुनायो।
त्यसपछि इजरेल र लेबनानले पालैपालो सबैभन्दा ठूलो हुमुसको कीर्तिमान राख्ने प्रतिस्पर्धा अघि बढाएपछि हुमुस युद्ध गिनिज बुक अफ वर्ल्ड रेकर्डससम्म पुग्यो।
अहिले मे २०१० मा लेबनानले बनाएको १० हजार ४ सय ५० केजीको हुमुसले उक्त कीर्तिमान राखेको छ।
जोलअफ पुलाउले निम्त्याएको हल्लीखल्ली
जोलअफ पुलाउ पश्चिम अफ्रिकी देशहरू सेनेगल, घाना, नाइजेरिया, गाम्बिया, सिएर लियोन, लाइबेरिया र क्यामरुनमा निकै लोकप्रिय छ।
सबै देशहरूले फरकफरक रूपमा बनाउने गरेको यो परिकारको आफूले बनाएको शैली उत्कृष्ट रहेको बताउने गरेका छन्।

तस्बिर स्रोत, Getty Images
यो संवेदनशील विषय हो र सन् २०१७ मा सेनेगलको जोलअफको गल्तीले प्रशंसा गर्दै गीत गाएपछि नाइजेरियाका सूचना तथा सञ्चारमन्त्रीको चर्को आलोचना भयो।
समाजिक सञ्जालमा चर्को आलोचना भएपछि देशका उपरराष्ट्रपतिले उनको बचाउ गरे।
तर उनले नाइजेरियाको जोलोफ पुलाउ उत्कृष्ट रहेको भन्न छुटाएनन्।
जब ओबामाले टर्की-ग्रीस ‘डेजअर्ट’ द्वन्द्व निम्त्याए
पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामाले एक पटक नजानिकन टर्की र ग्रीसबीच खानेकुराको विषयमा द्वन्द्व उत्पन्न गराए।
गम्भीर राजनीतिक मतभेदहरू रहेका यी देशबीच साझा राष्ट्रिय परिकारमा पर्ने कतिपय खानेकुराको उत्पत्तिलाई लिएर मतभेद छ।
त्यसमा भोजनको अन्त्यमा खाइने बदाम, मह र केकले बनेको बाकलवा ‘डेजअर्ट’ पनि पर्छ।

तस्बिर स्रोत, Getty Images
ग्रीक स्वतन्त्रता दिवसका अवसरमा ओबामाले सन् २०१२ मा रात्रिभोजको आयोजना गरेका थिए।
त्यसमा ग्रीक सेफ मरिया लोइले भोजन बनाइन्।
लोइले पछि ओबामाले ‘बाकलवा’लाई मन पराएको बताएपछि टर्कीका सञ्चारमाध्यमले ग्रीक परिकारको रूपमा त्यसलाई मान्यता दिइएको अर्थमा उक्त घटनालाई लिए।
त्यसले राष्ट्रपति ओबामालाई जता उभिए पनि कूटनीतिक रूपमा अप्ठेरो हुने परिस्थितिमा पुर्यायो।
त्यसअघि उक्त मिठाईलाई साइप्रसको राष्ट्रिय परिकारका रूपमा प्रस्तुत गर्ने युरोपेली सङ्घको अभियानको टर्कीका बाकलवा उत्पादकहरूले निन्दा गरेका थिए।
भारत र पाकिस्ताबीचको जारी विवाद
भारत र पाकिस्तानबीच विवादित मुद्दाहरूको कमी छैन तर पछिल्लो विवाद चामलसँग सम्बन्धित छ।
यसै वर्षको अक्टोबर महिनामा भारतले मगमग बास्ना आउने बासमती चामलको पूर्ण भौगोलिक सङ्केत सहितको हैसियत आफूलाई उपलब्ध गराउने युरोपेली सङ्घमा आवेदन दियो।
भारतले ईयूको मागको दुई तिहाइ बासमती चामल निर्यात गर्ने गर्छ।

तस्बिर स्रोत, Getty Images
यसको अर्थ भारतमा उत्पादित बासमती चामलले मात्रै युरोपेली सङ्घ आबद्ध देशमा मान्यता पाउँथे।
तर ईयूलाई बाँकी एक तिहाई बासमती चामल आपूर्ति गर्दै आएको पाकिस्तानले दिल्लीको कदमप्रति असन्तुष्टि जनाए।
उक्त विषयमा अझै पनि युरोपेली आयोगले निर्णय गर्न बाँकी छ।









