ब्र्यान्डन बर्नार्ड: अमेरिकामा सत्ता हस्तान्तरणको मुखैमा मृत्युदण्ड दिन डोनल्ड ट्रम्प प्रशासनको 'हतारो'

तस्बिर स्रोत, Courtesy Bernard Defense Team
अमेरिकाको सर्वोच्च अदालतले अन्तिम समयमा एउटा मुद्दाको सुनुवाइ अस्वीकार गरेपछि इन्डियाना राज्यमा ब्र्यान्डन बर्नार्डलाई मृत्युदण्ड दिइयो।
राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल सकिनै लाग्दा कार्यान्वयन गरिएको मृत्युदण्डको उक्त फैसला सङ्घीय सरकारको त्यस्तै अन्य योजनालाई मूर्त रूप दिने योजनाको सङ्केत हुनसक्छ।
जो बाइडनले ज्यानुअरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि थप चारवटा मृत्युदण्ड कार्यान्वयन गर्ने ट्रम्प प्रशासनको तयारी छ। यसबाट राष्ट्रपति परिवर्तन हुने बेला त्यस्तो फैसला कार्यान्वयन रोकिने १३० वर्ष पुरानो नजिर तोडिदिएको छ।
ती सबै योजना कार्यान्वयन गरिए मृत्युदण्ड दिने सन्दर्भमा ट्रम्प एक शताब्दीमा अमेरिकामा सबैभन्दा सफल राष्ट्रपति बन्नेछन्। यो वर्षको जुलाई महिनायता मात्रै १३ जनाले मृत्युदण्ड पाउनेछन्।

तस्बिर स्रोत, SOPA Images
चालीस वर्षीय ब्र्यान्डनमाथि सन् १९९९ मा हत्याको अभियोग लगाइएको थियो। सत्तरी वर्षयता सङ्घीय सरकारले मृत्युदण्ड दिएको उनी सबैभन्दा कान्छा अपराधी हुन्।
घातक सुई लगाइनुअघि उनले आफूले हत्या गरेका दम्पतीका परिवारसँग क्षमायाचना गरेका थिए।
महान्यायाधिवक्ता विलियम बारले आफूहरूले विद्यमान कानुनको कार्यान्वयन गरेको बताएका छन्।
तर आलोचकहरूले भने मृत्युदण्ड दिने प्रचलनको अन्त्य गर्ने बताउँदै आएका बाइडनले पदभार ग्रहण गर्नुभन्दा केही हप्ता मात्रैअघि यस्तो कदम चालिनु चिन्ताजनक रहेको टिप्पणी गरेका छन्।
अन्तिम शब्द
स्थानीय समयानुसार राति ९:२७ बजे बर्नार्डको मृत्यु भएको घोषणा गरिएको थियो।
त्यसअघि उनले आफ्नो अन्तिम शब्द पीडितका परिवारलाई समर्पित गरेका थिए। उनले तीन मिनेटभन्दा बढी बोले।
"मलाई माफ गरिदिनूस्। यो नै त्यस्तो शब्द हो जसले मैले अहिले के सोचिरहेको छु र त्यस दिन मैले कस्तो महसुस गरिरहेको थिएँ भन्ने कुरा दर्साउँछ।" एउटा समाचार संस्थाका अनुसार उनले यसो भनेका थिए।
बर्नार्डका वकिलले सर्वोच्च अदालत गुहारेसँगै उनको सजाय कार्यान्वयन गर्ने दुई घण्टाभन्दा बढी विलम्ब गरिएको थियो।
दोष
सन् १९९९ को जुनमा टड र स्टेसी बाग्लीको हत्यामा संलग्न भएको आरोपमा उनलाई मृत्युदण्डको फैसला सुनाइएको थियो।
ती दुईलाई लुट्ने र पछि उनीहरूलाई गाडीको डिकीमा बस्न दबाव दिने पाँच युवामध्ये ब्र्यान्डनन पनि थिए।

तस्बिर स्रोत, EPA
बर्नार्डका एकजना साथी क्रिस्टोफर भिएल्भाले डिकीमै रहेका बेला उनीहरूलाई गोली हानेका थिए। त्यसपछि बर्नार्डले गाडी जलाइदिए।
उनका वकिलले ती दुईको गाडी जल्नुअघि नै मृत्यु भएको बताउँदै आएका थिए। एकजना निजी अनुसन्धानकर्ता पनि त्यही निष्कर्षमा पुगेका थिए।
तर मुद्दा चलाउने क्रममा सरकारी पक्षले गरेको परीक्षणमा भने स्टेसीको मृत्यु भने गोली लागेर नभई धुवाँका कारण भएको बताएको थियो।
'हतारो'
एउटा निष्पक्ष मृत्युदण्डसम्बन्धी सूचना केन्द्रका निर्देशक एन्गोजी एन्डुल्यूले मृत्युदण्ड कार्यान्वयन गर्न गरिएको हतारो 'सामान्य प्रचलनभन्दा बाहिर भएको टिप्पणी गरेकी छन्।
सन् १९८८ मा अमेरिकी सर्वोच्च अदालतले सङ्घीय सरकारले दिने मृत्युदण्डको अधिकार पुनः स्थापित गरेपछि राष्ट्रिय वा सङ्घीय सरकारले यस्ता कदम भने कम नै चालेका छन्।
ट्रम्पअघि सङ्घीय सरकारले तीन जनालाई मात्र मृत्युदण्डको सजाय कार्यान्वयन गरेको थियो।
ती सबै सजाय सन् २००३ अघि रिपब्लिकन राष्ट्रपति जर्ज एच डब्ल्यू बुशको पालामा कार्यान्वयन गरिएका थिए।
ट्रम्प प्रशासनले के गर्यो?
सन् २०१९ को जुलाईमा बारले पाँचजना कैदीको मृत्युदण्डबारे घोषणा गरे। ती पाँच जनालाई हत्या वा बालबालिकाको बलात्कार गरेको आरोप लागेको उनले बताए।
तर त्यो कदमको डेमोक्र्याटिक दलका प्रख्यात व्यक्तित्वका साथै अधिकारवादी समूहहरूले तीव्र आलोचना गरे।

तस्बिर स्रोत, Drew Angerer
रङ्गभेदविरुद्ध प्रदर्शन भइरहेका बेला गर्मी याममा गरिएका सबै मृत्युदण्डको कार्यान्वयनमा श्वेत मूलका मानिसहरू परेका थिए।
अहिले मृत्युदण्ड कार्यान्वयन हुँदै गरेका चारमध्ये तीन जना अफ्रिकी मूलका अमेरिकी हुन्।
एन्डुल्यूले त्यो कुनै 'संयोग' नरहेको आफ्नो बुझाइ रहेको बताइन्।
अहिले के भइरहेको छ?
अल्फर्ड बोर्ज्वालाई सुनाइएको सजाय कार्यान्वयन गरिए सन् २०२० मा एकै वर्ष १० जनालाई मृत्युदण्ड दिइनेछ जुन अमेरिकाको आधुनिक इतिहासमा सर्वाधिक हो।
"एकै वर्ष १० वा त्योभन्दा बढी मृत्युदण्ड कार्यान्वयन भएको खोज्न हामी सन् १८९६ मा फर्किनुपर्ने हुन्छ,' एन्डुल्यूले भनिन्।
ट्रम्प प्रशासन सत्ता हस्तान्तरणको पूर्वसन्ध्यामा मृत्युदण्ड कार्यान्वयन गर्नेगरी अघि बढेको छ। यो एक शताब्दीभन्दा लामो समयमा पहिलो पटक भएको हो।
बाहिरिँदै गरेका राष्ट्रपतिहरू सामान्यतया आफ्नो उत्तराधिकारीले निर्क्योल गरून् भनेर यस्तो विषयमा अघि बढ्न रुचाउँदैनन्।
मृत्युदण्डबारे बाइडनको नीति के छ?
ट्रम्पले लामो समयदेखि मृत्युदण्डको वकालत गर्दै आएका छन्। तर बाइडनको टोली भने यस विषयमा विभाजित छ।
उपराष्ट्रपति निर्वाचित कमला ह्यारीसले नियमित रूपमा यसको विरोध गर्दै आएकी छन्।
आफ्नो दलबाटै दबाव पर्दा समेत उनले एक २९ वर्षे प्रहरीको हत्यासम्बन्धी विषयमा मृत्युदण्डको माग गर्न अस्वीकार गरेकी थिइन्।

तस्बिर स्रोत, Getty Images
सन् १९९४ मा बाइडनसहितले तयार पारेको अपराधसम्बन्धी कानुनमा करिब ६० वटा सङ्घीय अपराध सूचीकृत छन् जसका आधारमा मृत्युदण्ड पनि दिन सकिन्छ।
अहिले मृत्युदण्डको पालो कुरिरहेका मानिसलाई तिनै कानुनी प्रावधानका आधारमा दोषी ठहर गरी सजाय सुनाइएको हो।
तर अहिले बाइडनले सङ्घीय सरकारले दिने मृत्युदण्ड पूर्ण रूपमा खारेज गर्नेगरी नयाँ कानुनको पक्षमा वकालत गर्ने बताएका छन्।








