तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल संसद् विघटनः प्रधानमन्त्री ओलीसँग विमति राख्दै सात मन्त्रीद्वारा सामूहिक राजीनामा
संसद्को प्रतिनिधिसभा विघटन भएपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै केपी ओली नेतृत्वको सरकारका सातजना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्।
राजीनामा दिने मन्त्रीहरूमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री बिना मगर छन्।
उनीहरूले सिंहदरबारमा सामूहिक पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन्।
राजीनामा घोषणा गर्नेक्रममा मन्त्रीहरूले केपी ओलीको कदम जनभावनाविपरीत भएको आरोप लगाए।
तर पूर्व माओवादीका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट उक्त घोषणा कार्यक्रममा सहभागी थिएनन्।
राजीनामा बुझाउने मन्त्रीहरूमध्ये पूर्व माओवादीतर्फका पुन, बस्नेत, मगर र पोखरेल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन्। मन्त्री मगर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल दाहालकी बुहारी हुन्।
त्यस्तै पूर्वएमालेतर्फका भट्टराई र भुसाल नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल निटकका हुन्।
तीन वर्षअघि मंसिरमा नेपालको नयाँ संविधानअन्तर्गत पहिलो निर्वाचन गरिएको थियो।
उक्त निर्वाचनमा तात्कालिक नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएका थिए।
निर्वाचनपश्चात् पार्टी एकीकरण भएको थियो र नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो।
जसअनुसार हाल संसद्को तल्लो सदनमा दलीय हिसाबमा नेकपाको खातामा एक स्वतन्त्र सांसद मिसिएपछि १७५ सदस्य रहेका थिए भने दोस्रोमा नेपाली कांग्रेससँग ६३ र जनता समाजवादी पार्टीसँग ३४ जना सदस्य रहेका थिए। त्यस्तै राष्ट्रिय जनमोर्चासँग १, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १ र नेपाल मजदुर किसान पार्टीसँग १ जना सदस्य रहेका थिए।
आइतवार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सङ्घीय संसदको प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा हुनेगरी निर्वाचनको घोषणा गरेकी छन्।