तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रधानमन्त्रीकै निवासमा बसेको 'नेकपा बैठकद्वारा पार्टी अध्यक्ष ओलीलाई कारबाहीको सिफारिस'
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को 'स्थायी कमिटीको आइतवार बसेको बैठक'ले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लग्ने निर्णय गरेको नेताहरूले जनाएका छन्।
प्रधानमन्त्रीकै सरकारी निवास वालुवाटारमा बसेको बैठकले त्यस्तो सिफारिस गरेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए।
सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको सिफारिस गरेपछि पूर्वनिर्धारित बैठक कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा भएको थियो।
बैठकले प्रधानमन्त्रीको सिफारिसलाई असंवैधानिक कदमको संज्ञा दिएको छ।
त्यसको विरोध गर्न बैठकले सबैलाई आग्रह गरेको नेता भीम रावलले जानकारी दिए।
नेकपामा लामो समयदेखि चल्दै आएको विवादकाबीच प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गर्ने कदम उठाएका हुन्।
त्यसप्रति प्रधानमन्त्रीलाई पद त्याग गर्न दबाव दिँदै आएका नेकपाभित्रकै समूह, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका विपक्षी दलहरूले आक्रोश प्रकट गरेका छन्।
उनीहरूले सिफारिस फिर्ता लिन आग्रह गरिरहेका बेला राष्ट्रपतिद्वारा विघटन र मध्यावधि चुनाव घोषणा गरेकी छन्।
कतिपय नेता तथा संविधानविद्हरूले सरकारको सिफारिस राष्ट्रपतिले रोक्नुपर्ने राय व्यक्त गरेका थिए।
नेकपा केन्द्रीय कमिटीको बैठक मङ्लवार बस्ने भएको छ।
बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीको सदस्य बनाउन केन्द्रीय कमिटीमा प्रस्ताव लग्ने निर्णय पनि गरेको नेता रावलले जानकारी दिएका छन्।