नेकपा विवाद: आ-आफ्नै 'भेला र भेटघाट', के दुवै पक्षले एकताको ‘माया मारेकै हुन्’

तस्बिर स्रोत, RSS
नेकपा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले एक महिनाअघि विज्ञप्ति जारी गर्दै 'पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता… जस्ता विद्यमान विकृति र विसङ्गतिलाई सघन वैचारिक सङ्घर्षद्धारा परास्त गर्न' नेतृत्वलाई आग्रह गरेका थिए।
उनी अहिले बनेको प्रचण्ड र माधव नेपाल पक्षका नेताको रूपमा चिनिन्छन्।
उक्त समूहले काठमाण्डू पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा शुक्रवार प्रदेश नं १ को आफू पक्षीय समूहको भेला आयोजना गरेको समाचार बाहिर आयो।
यसअघि प्रचण्ड पक्षले प्रधानमन्त्री केपी शर्मा ओली पक्षमाथि गुटगत भेला गरेको आरोप लगाउँदै त्यो रोक्न आग्रह गर्ने गरेको थियो।
'नगरिदिए हुन्थ्यो'
पछिल्ला दिनमा उक्त समूहले नै लगातार आफ्नो पक्षको 'भेला' गरिरहेको खबर आएका छन्।
त्यसो भए प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको भनिएका भेला के अनुशासन आयोगका प्रमुख बोहराले ठम्याएको 'अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता' भित्र पर्दैन?
बोहरा भन्छन्, "त्यो सबैलाई भनेका छौँ, बैठकमा हामीले पर्याप्त भनेका छौँ, जे छ समस्या खुलेरै छलफल गरौँ।"
तर सिधै त्यसलाई अनुशासन विपरीतको कदम भन्ने अवस्थामा नरहेको उनको भनाइ छ।
"नगरिदिए हुन्थ्यो," बोहराले भने, "तर एकथरीले गर्या गर्यै गर्ने त्यसो भएपछि अर्कोथरी पनि चुप लागेर बस्ने स्थिति भइदिएन। बालुवाटार पक्षले पनि यस्तैयस्तै गर्या छ।"
पेरिसडाँडामा 'भेटघाट'
तर उनले प्रचण्ड-नेपाल पक्षबाट भइरहेका भनिएका भेलाहरूबारे औपचारिक जानकारी नरहेको बताए।
कसैलाई पनि त्यस्ता भेला नगर्न बैठकमा आफूले नभनेको बोहराको भनाइ छ।
नेकपा प्रदेश नं १ का इन्चार्ज भीम आचार्य लगायतका नेताहरूसँग सम्पर्क हुन सकेन। केहीले बैठकमा रहेको भन्दै प्रतिक्रिया दिएनन्।

तस्बिर स्रोत, RSS
नेत्री पम्फा भुसालले भने पेरिसडाँडास्थित कार्यालयमा भेला नभई 'भेटघाट' आयोजना गरिएको बताइन्।
यसअघि इन्जिनियरिङ क्याम्पसमा पनि प्रचण्ड-नेपाल पक्षका विद्यार्थीहरूको भेला थियो।
भुसालले (विद्यार्थीहरूले पार्टीभित्रको विवाद) के हो भनेर आयोजना गरेको र आफू पनि गएको बताइन्।
आशा मरेकै हो?
"यो पार्टीभित्रको विचार सङ्घर्ष हो, अन्तरसङ्घर्ष हो र जसरी पनि तपाईँहरू पार्टी एकताका निम्ति लाग्नूस्, दबाव दिनूस् भनेर आयौँ," उनले भनिन्।
एकताको कुरा गरे पनि प्रचण्ड-नेपाल पक्षले पनि एकता जोगिएला भन्ने कुरामा माया मारिसकेको हो कि?
अनुशासन आयोग प्रमुख अमृत बोहराको ठम्याइ छ, "त्यस्तै त छैन होला, कमिटीमा छलफल गरौँ भनेर प्रस्ताव ल्याएकै छ नि, खाली त्यसलाई तन्काएर लैजाने कुरा गरेकाले यस्ता अनेक समस्या उत्पन्न भएका न हुन्।"
हाँस्दै नेत्री भुसालले पनि माया नमारेको बताइन्।
प्रधानमन्त्री ओली पक्षले पनि एकताका निम्ति प्रयास भइहेको बताउने गरेको छ।



















