कोरोना भाइरस खोप: अमेरिकी विज्ञहरूद्वारा फाइजरको खोप स्वीकृति दिन सिफारिस

खोप

तस्बिर स्रोत, Reuters

अमेरिकी खाद्य तथा औषधि नियामक एफडिएलाई सुझाव दिने चिकित्साविज्ञहरूले फाइजर-बायोएनटेकको कोरोनाभाइरस खोपलाई आपत्कालिन रूपमा प्रयोग गर्न सकिनेगरी समर्थन जनाएका छन्।

सो खोपको गुणदोष केलाउन विज्ञहरूको २३ सदस्यिय उक्त दलले बैठक गरेपछि त्यस्तो निर्णय आएको हो।

फाइजरको खोप सर्वसाधारणका लागि लगाउन यूके, क्यानाडा, बहराइन र साउदी अरबले स्वीकृति दिइसकेका छन्।

तर उक्त खोपलाई एफडिएका खोप प्रमुखले औपचारिक स्वीकृति दिने काम बाँकी छ जुन आउँदा केही दिनमा हुने अपेक्षा गरिएको छ।

कहिले हुन्छ स्वीकृति?

खोपबारे विज्ञहरूको सिफारिस अमेरिकामा एकैदिन तीन हजार बढिले कोरोनाभाइरस जोडिएका घटनामा ज्यान गुमाएको भोलिपल्ट आएको हो।

एकैदिन मृत्युको त्यस्तो सङ्ख्या विश्वमै अहिलेसम्मको उच्च हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसको खोप कहिले तयार हुन्छ?

एफडिएको उक्त बैठकपछि अमेरिकी स्वास्थ्य मन्त्री एलेक्स एजारले भनेका छन्: "त्यसोभए अब हामीले केही दिनमै खोप पाउनेछौँ र अर्को साताबाट सबैभन्दा बढ्ता जोखिममा रहेकाहरूलाई दिन थाल्नेछौँ।"

सङ्घीय सरकारको खोप वितरण कार्यक्रम अपरेसन र्‍याप स्पीडले खोप स्वीकृत भएको २४ घण्टामै खोप वितरण सुरु हुने जनाएको छ।

वितरण

फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ।

तर उसको खोप पूर्ण हुन दुईवटा डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसङ्ख्या भएको अमेरिकाका झण्डै ३० लाख जनसङ्ख्याका लागि मात्र पुग्नेछ।

फाइजर

तस्बिर स्रोत, Reuters

अमेरिकाका सङ्घीय अधिकारीहरूका अनुसार एफडीएले स्वीकृति दिएसँगै त्यो सुरुमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई दिइने अपेक्षा गरिएको छ।

तर बाँकी समूहहरूमा कसरी खोप वितरण गर्ने भन्ने बिषयमा अधिकारीहरूमाझ फरक-फरक मत पाइएका छन्।

राज्यहरूको हातमा निर्णय

दोस्रो चरणमा देशका झण्डै आठ करोड ७० लाख अत्यावश्यक सेवामा काम गर्नेहरूलाई खोप दिने बताइएको छ।

तर कुन उद्योगहरूलाई प्राथमिकता दिने भन्ने निर्णय भने राज्यहरूले गर्नुपर्नेछ।

खोप

तस्बिर स्रोत, Reuters

अधिकारीहरूका अनुसार उच्च जोखिममा नरहेका समूहहरूका लागि कोरोनाभाइरसको खोप सन् २०२१ को बसन्त याममा लगाइने अपेक्षा गरिएको छ।

अमेरिकामा मोडर्ना र न्याश्नल इन्स्चिच्युट अफ हेल्थले तयार पारेको अर्को खोपले समेत स्वीकृति खोजिरहेको छ। फाइजरलेझैँ उक्त खोपका लागि समेत दोस्रो खेप आवश्यक पर्नेछ।