नेपाल-भारत सम्बन्ध: भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणेको भ्रमण परम्परा धान्न मात्र कि त्योभन्दा अझ बढी?
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधवार तीनदिने भ्रमणका लागि नेपाल आए। यस भ्रमणलाई दुई देशका सेनाबीच रहेको परम्पराभन्दा भिन्न रूपमा लिइनुपर्ने रणनीतिक मामिलाका विज्ञहरूले बताएका छन्।
नेपाल-भारत सीमा विवादका कारण झन्डै एक वर्षसम्म लगभग संवादहीन रहेको दुई देशबीचको सम्बन्ध सैनिक तहमा भएको यो उच्चस्तरीय भ्रमणले केही सुधार ल्याउन सक्ने केही विश्लेषकहरूले धारणा छ।
नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई ‘मानार्थ महारथी'को सम्मान दिने अभ्यास छ।
नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो भूभाग भएको भन्दै देशको राजनीतिक नक्सामा स्पष्ट रूपमा राखेपछि त्यसबारे विवादास्पद अभिव्यक्ति दिएका नरवणेको भ्रमण कोरोनाभाइरस महामारी देखाउँदै यसअघि स्थगित भएको थियो।
अहिले उनले व्यक्त गर्ने सन्देशलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न केही दिनअघि काठमाण्डू आएका भारतीय गुप्तचर निकायका प्रमुखले ल्याएको सन्देशसँग दाँजेर हेर्नुपर्ने एक विश्लेषकको धारणा छ।
उच्च चासो र व्यवस्थापन
नेपाल र भारत दुवैले यो भ्रमण दुई देशबीचको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण हुने धारणा भारतीय सेनाध्यक्षको नरवणे काठमाण्डूमा ओर्लिनुअघि नै सार्वजनिक गरेका छन्।
भारतीय सेनाध्यक्षले आफ्ना समकक्षी पूर्णचन्द्र थापा र उच्च सैनिक अधिकारीहरूसँग छलफल गर्नेबाहेक रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।
बिहीबार अपराह्ण राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम छ।

तस्बिर स्रोत, Nepali Army
नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालका अनुसार एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने विशिष्ट अभ्यास नेपाल र भारतका सेनाबीच मात्रै छ।
उनका अनुसार सेनासँगको अभिलेखका अनुसार सन् १९५० मा भारतीय सेनाका प्रथम कमान्डर इन चीफ के एम करिप्पालाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइएको थियो।
त्यसपछि सन् १९६९ निरन्तर रूपमा कायम रहेको उक्त परम्परा एक पटक भङ्ग भएको थियो।
नेपालमा भएको पहिलो जनआन्दोलनअघि भारतले नेपाललाई नाकाबन्दी लगाएको समयमा दुवै देशका प्रधानसेनापतिलाई सम्मान दिने कार्यक्रम आयोजना गरिएन।
नेपाली सेनाका पदासीन प्रधानसेनापतिसहित १४ जनाले भारतीय सेनाको मनार्थ महारथीको दर्जा पाइसकेका छन्।
नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने नरवणे १८ औँ भारतीय सेनाध्यक्ष हुनेछन्।

तस्बिर स्रोत, Getty Images
आफ्नो भ्रमणको पूर्वसन्ध्यामा नरवणेले दुवै देशका सेनाले उच्च महत्त्व दिएको आपसी मित्रतालाई आफ्नो भ्रमणले थप बलियो बनाउने बताएका थिए।
दुवै देशका सञ्चारमाध्यम र रणनीतिक मामिलाकारहरूले नरवणेको भ्रमण अर्थपूर्ण रहेको बताइरहेका छन्।
भ्रमणको अर्थ के
रणनीतिक मामिलामा कलम चलाउने विश्लेषकहरू अहिलेको भ्रमणलाई परम्परा धान्ने सैनिक कूटनीतिका रूपमा मात्रै अर्थ लगाइनु नहुने बताउँछन्।
सुरक्षा मामिलामा विश्लेषक इन्द्र अधिकारी भन्छिन्, “नेपाल र भारतबीच संवादका लगभग सबै ढोकाहरू एक हदसम्म बन्दजस्तै भइरहेको समयमा दुवै देशले विभिन्न माध्यम खोजिरहेको देखिन्छ। त्यस्ता संयन्त्रमध्ये एकदमै प्रतिष्ठित विश्वासिलो र भरपर्दो संयन्त्र सेना पनि रहेको हुनाले अहिलेको भ्रमणलाई विशेष रूपमा हेरिएको हो।“

उनी थप्छिन्, “नेपाल र भारतका सेनाको सम्बन्ध अरू देशहरूको भन्दा फरक छ र सीमा जस्ता राज्यका गम्भीर विवादहरू सुल्झाउन अन्यत्र सेनाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हामीले देखेका छौँ। नरवणेले नेपाली सेनामार्फत् सधैँ आफ्नो देशको तर्फबाट केही कुरा राख्न सक्छन् जस्तो मलाई लाग्छ।”
तर भूरणनीतिक मामिलामा दक्खल राख्ने प्राध्यापक ध्रुवकुमार सीमा अतिक्रमणजस्ता संवेदनशील विषय "मिहिन कूटनीतिक र कुशल राजनीतिक प्रयास" बाट मात्रै सम्भव हुने बताउँछन्।
उनी भन्छन्, “मलाई आश्चर्य लाग्छ हामी हाम्रै देशको भूमि कब्जा गरी क्याम्प खडा गरी बसेको सैनिक बटालियनको नेतृत्व गर्ने भारतीय सेनाध्यक्षलाई कसरी मानार्थ सेनाध्यक्षको सम्मान दिन सक्छौँ? मलाई लाग्छ नेपाल भारत सम्बन्ध खुफिया राजनीति र सैनिक कूटनीतिको नयाँ चरणमा प्रवेश गरिरहेको छ जसले राजनीतिक र कूटनीतिक सम्बन्धलाई अप्रासङ्गिक बनाइरहेको छ।”
भारतीय सेनाध्यक्षको भ्रमणले दुई देशबीच बिग्रिएको सम्बन्ध सुधार नै गरिहाल्नेमा प्राध्यापक धुव्र कुमार आशावादी छैनन्।
तर भूराजनीतिक मामिलाका अर्का विज्ञ तथा दक्षिण एशियाली अध्ययन केन्द्रका पूर्व कार्यकारी निर्देशक प्राध्यापक श्रीधर खत्री भारतीय सेनाध्यक्षले ल्याउने सन्देशलाई नेपालले मिहिन ढङ्गले केलाउनुपर्नेमा जोड दिन्छन्।
उनले भने, “यदी उनले भरतीय गुप्तचर निकायका प्रमुखले ल्याएकै सन्देश लिएर आएका रहेछन् भने त्यो निक्कै गम्भीर कुरा हो। परम्परा निर्वाह गर्न भ्रमण भएको हो भने त्यसलाई त्यही हिसाबले हेर्नुपर्छ।”
उनले थपे, “यसअघि कस्तो सन्देश आयो र अहिलेको भ्रमणमा के सन्देश आउँछ यसबारे प्रधानमन्त्रीको कार्यालय, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय बसेर गम्भीर रुपमा समीक्षा गर्नुपर्छ अनि हाम्रो देशको रणनीति तय गर्नुपर्छ जस्तो मलाई लाग्छ।”
प्राध्यापक खत्री नेपाल र भारतका सेनाबीचको सम्बन्धलाई तालिम र रक्षा आदानप्रदान अनि एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथी दिने जस्ता परम्पराले त्यसलाई बलियो बनाइरहेको ठान्छन्।
नरवणेको अभिव्यक्तिले निम्त्याएको हलचल
भारतले काश्मीरको विशेष हैसियत समाप्त गर्ने क्रममा नेपालले आफ्नो दाबी गर्दै आएको कालापानी क्षेत्रलाई आफ्नो देशको नक्सामा राखेपछि काठमाण्डू र दिल्लीबीच आरोप-प्रत्यारोप चलेको थियो।
लगत्तै नेपाल, भारत र चीनको सीमाबिन्दुनजिक लिपुलेक क्षेत्रमा भारतले सडक उद्घाटन गरेपछि दुई देशको सम्बन्ध थप चिसिन पुग्यो।

त्यसबेला कूटनीतिक नोटमार्फत् नेपालले व्यक्त गरेको असन्तुष्टि र तत्काल वार्ताका लागि गरेको अनुरोधलाई भारतले आफ्नो भूमिमा सडक बनाएको र कोरोनाभाइरसको महामारीपछि मात्रै वार्ता हुनसक्ने उत्तर दिएको थियो।
त्यसबीचमा भारतीय सेनाध्यक्षले उक्त भूभाग भारतको भएको भन्दै नेपालले अरू कुनै देशको इसारामा प्रश्न उठाएको धारणा राखेका थिए।
त्यसले निम्त्याएको हलचलमाझ नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गर्यो।
नेपाल र भारतबीच झन्डै एक वर्ष लामो संवादहीनतापछि भारतीय सेनाका शीर्ष अधिकारी काठमाण्डू आइपुग्दा आपसी सम्बन्ध सुधारमा यो भ्रमण महत्त्वपूर्ण हुनसक्ने टिप्पणी भइरहेको छ।
भारतीय वायुसेनाको विशेष विमानमा काठमाण्डूमा अवतरण गर्दा नरवणेलाई स्वागत गर्न गएका नेपाली सेनाका वरिष्ठ अधिकारीहरूले भारतीय र नेपाली झण्डा प्रष्ट देखिने खालका मास्क लगाएका थिए।
भारतीय समाचार संस्था एअनआईसँग कुरा गर्दै नरवणेले आफ्ना नेपाली समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापाको निम्तोमा नेपाल भ्रमण गर्न पाउँदा आफू प्रसन्न रहेको उल्लेख गरेका थिए।
त्यसबाहेक रक्षामन्त्री पनि रहेका प्रधानमन्त्री ओलीसँगको भेटवार्ताको अवसरप्रति आफू आभारी रहेको उनले बताएका थिए।









