पाकिस्तानका प्रधानमन्त्री इमरान खानले किन लेखे फेसबुकका प्रमुख कार्यकारीलाई पत्र

इमरान खान

तस्बिर स्रोत, Getty Images

पाकिस्तानका प्रधानमन्त्रीले फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गलाई एउटा पत्र लेख्दै उक्त सामाजिक सञ्जाल कम्पनीलाई इस्लामप्रति पूर्वाग्रह राख्ने वा घृणा फैलाउने खालका सामग्रीमा प्रतिबन्ध लगाउन आग्रह गरेका छन्।

इमरान खानले स्वयंले ट्विटरमा सार्वजनिक गरेको सो पत्रमा इस्लामोफोबिया भनिने त्यस्ता सामग्रीले सामाजिक सञ्जालमार्फत् विश्वभरि अतिवाद र हिंसा फैलाउन बढावा दिने भनिएको छ।

गत महिना फेसबुकले होलोकस्ट भनिने लाखौँ यहुदीहरूको नरसंहार गरिएको घटनालाई अस्वीकार गर्ने वा त्यस इतिहासलाई बङ्ग्याउने सामाग्री हटाउने नीति ल्याएको थियो।

खानले फेसबुकलाई इस्लामविरुद्ध घृणा निम्त्याउने अभिव्यक्तिप्रति पनि त्यस्तै नीति ल्याउनुपर्ने बताएका छन्।

खानले किन त्यसो भने?

यसअघि आइतवार खानले फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँलाई 'इस्लाममाथि हमला गरेको' आरोप लगाएका थिए।

पैगम्बर मोहम्मदका कार्टुन प्रदर्शन गर्न प्रोत्साहन गरेकोमा उनले ट्वीटमार्फत् त्यसो भनेका थिए।

पाकिस्तानले इस्लामाबादमा रहेका फ्रेन्च राजदूतलाई बोलाएर उक्त घटनाबारे असन्तुष्टि जनाएको छ।

कक्षाकोठामा त्यस्ता कार्टुन देखाएकै कारण फ्रान्समा एक शिक्षकको हत्या भएको पृष्ठभूमिमा माक्रोँको अभिव्यक्ति आएको हो।

फेसबुकको जवाफ

फेसबुकसँग अहिले नै घृणा फैलाउन सक्ने अभिव्यक्ति हटाउने नीति छ।

रोयटर्स समाचार संस्थालाई दिएको एउटा विज्ञप्तिमा फेसबुकले त्यस्ता सामग्रीहरू आफूले थाहा पाउनेबित्तिकै हटाउने गरेको जनाएको छ।

तैपनि पनि त्यो पर्याप्त नभएको उसले स्वीकारेको छ।

पैगम्बर मोहमदको चित्रण गर्ने कामलाई इस्लाममा वर्जित कामका रूपमा धेरैले लिने गरेका छन्।

र, मुस्लिमहरूले त्यसलाई आफूहरू प्रतिको अपमान समेत ठान्छन्।